लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

वियोगको आँशु, राजनीति र प्रचण्डको विरोधाभाष

बिहीबार, ७ मंसिर, २०७४ मा प्रकाशित,

-संजिव कार्की:.. पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दैवी विपत्तीको गहिरो र कहिल्यै नपुरिने घाउमा बाँचेका छन् । दैवी बज्रपातको पीडाले उनको समस्त परिवार नै मर्माहत र शोकाकुल छ । मानवीयपन, मानवीय मन भएका हरेक नेपाली प्रचण्ड र उनको परिवार प्रति विशेष संबेदनशील र शहानुभुतशिल छ । जुन हाम्रो आधारभूत र मौलिक रित हो प्रचलन हो । मृत्यु वियोगमा परेकाप्रति द्रवित हुनु, पीडाबोध गर्नु, हाम्रो सामाजिक र सांस्कृतिक अद्दीतिय पहिचान हो, परिचय हो । सांस्कृतिक दर्शन र मान्यता हो ।

परम शत्रु नै भए पनि उसलाई परेको प्रियजन वियोगको पीडा र उसको मृत्यु स्वयं प्रति हाम्रो मन पग्लन्छ । शत्रुकै मलामी जाने र दुःख प्रकट गर्ने हाम्रो मान्यता छ । मृत्युले कसको मन दुखाउदैन र ? झन् अप्रत्याशित, आकस्मिक र अल्पायुको निधन बहुत दुःखदायी हुन्छ । मृत्यु क्रुर हुन्छ । भयानक हुन्छ । मृत्यु कसैको पनि चाह हुँदैन, होइन तर त्यो आउँछ मृत्यु पहिलो र अन्तिम सत्य हो । यो जान्दा जान्दै पनि मान्छे मृत्यु सँग तर्सन्छ । भयभित हुन्छ । मृत्यु प्रति सबैको असहमति छ तर त्यो आउछ । मृत्यु अन्तिम सत्य भन्ने बुझ्दाबुझ्दै पनि मृत्युले सबैलाई रुवाउछ । दुखाउछ । प्रचण्ड पनि मानव हुन् उनमा पनि रुने हास्ने मन छ, मुटु छ । दुख्ने दिल छ । सामाजिक न्याय निसाफको हिसाब किताब गर्ने दिमाग छ । तसर्थ यिनी पनि आफ्नो छोराको मृत्यु वियोगमा रोए । लोकले देख्ने गरी आँशु झारे । दुःख मनाउ गरे, जुन स्वाभाविक पनि हो ।

मानवीय समबेदना सबैमा हुन्छ सबै प्रति हुन्छ । आज प्रचण्ड उनकी पत्नी सीता, दुई बुहारीहरू सिर्जना र बिना अनि दिबंगत प्रकाशका अबोध दुई छोराहरु, उनका आफन्त, नातागोता, साथीभाइ, माओबादी केन्द्रका नेता कार्यकर्ता मात्र हैन प्रचन्डले संचालन गरेको व्यक्तिहत्याको चपेटामा परी मारिएका निहत्था नागरिकका सन्तान र तिनको परिवारजन, आफन्तजन र प्रियजन सबै, सबैले मन दुखाएका छन् । पीडाबोध गरेका छन् । प्रचण्डको पीडा देखेर आँशु झारेका पनि छन् । प्रचण्ड र उनको परिवार अनि माओबादी प्रति बदला र प्रतिशोध होइन सहानुभूति प्रकट गरेका छन् । यो किन र कसरी सम्भव भयो ?

सन्तान बिछोडको पीडा, आफन्त वियोगको पीडा अनि प्रियजन बिछोडको पीडा, कसलाई कहिले र कसरी हुदैन र ? मानवता स्खलित हुनेहरुपनि आफन्त वियोगमा रुने गर्छन कराउने गर्छन र असिम पीडाबोध गर्ने गर्छन । मानवता स्खलित हुँदोरहेछ दुर्घटित हुने रहेछ तर मर्न चैं मर्दैन रहेछ । आज प्रचन्डले जुन पीडाबोध गरेका छन्, जुन दुःखको सामना गरेका छन् त्यस्तो दुःख र पीडा मान्छेलाई पर्छ नै । दुःखले दुखाउँछ , विचलित गराउँछ । प्रचण्ड दैवी विपत्तीमा छन् । जुन नितान्त प्राकृतिक नियमित आकस्मिकता हो, तर प्रचन्डले आफ्नो राजनीतिक अभियानमा कति यस्ता मानवीय बिपत्ति बिछोड र वियोग सिर्जना गरे ? त्यो किन गरे ? समाज कति क्षत विक्षत भयो ? पारिवारिक जीवन कसरि तहसनहस भयो ?

प्राकृतिक र दैवी वियोग र बिपत्ती मान्छेको बसमा हुँदैन र थिएन तर मानवीय संवेदना शुन्य भएर कति मान्छेको निर्ममतापूर्वक हत्या गरियो ? मान्छेले बाच्न पाउने हक किन खोसियो ? व्यथा बेदना आफ्नो मात्र हो कि अरुको पनि हो ? आज प्रचन्डले पक्कै पनि गहिरोसँग महशुस गरेको हुनुपर्छ । प्रचन्डले मानवीय बिपत्ती खडा गरेर दानवीय चरित्र प्रदर्शन गरेर मानव हत्याको अटुट शृंखला झन्डै १२ वर्ष सम्म चलाउनु भयो । मानवताको कुरा गर्ने महामानवले नन्द प्रसाद अधिकारीको लास शिक्षण अस्पतालको बाकसबाट झिकेर जलाउने र गंगामायालाई अनशन तोडाउने र घर फर्काउने बातावरण बनाउनु पर्छ ।

मानव हत्या, सामाजिक जीवनको हत्या, सामाजिक संरचनाको हत्या गरेर हत्या र हत्याराको उद्योग धन्दा चलाउनु भयो । कल कारखाना खोल्नु भयो । समाज मान्छे र मान्छेहरुको जीवनशैलीमा उत्ताउलो क्रमभंगता गरिदिनु भयो । समाज छिन्नभिन्न र हाम्रो संस्कृतिक वैभवशाली परम्परालाई मुल्यहीन र जीवनहिन बनाउनु भयो । समाजको नैतिक मूल्य, मान्यता ,बैभव र आदर्शमा खुराफाती कैंची चलाउन सिकाउनु भयो । आज हामी गर्व गरेर पनि भन्न सक्ने र बोक्ने हाम्रो सांस्कृतिक बैभव र निरन्तरता धान्न सकिरहेका छैनौ । यद्दपि हामी अझै मानवता वीहिन र शुष्क हृदयका छैनौ भन्ने प्रमाण तपाई र तपार्इको परिवार प्रति परेको बज्रपात सँगै सबै नेपाली एकै पटक सम्बेदित र संबेदनशील हुनु हो । तपाई र तपार्इंको परिवार प्रतिको सहानुभूति तपाई र तपाइको पार्टीको समर्थन होइन । तपाईले आफ्नो छोरा अल्पायुमा गुमाउनुपरेको पीडाको मानवीय मनको सहानुभूतिशील अभिव्यक्ति हो । करुणा हो । दुखप्रतिको समभाव हो । नेपाली मनको उदारता र सौहाद्रता हो । हाम्रो मौलिक सांस्कृतिक परम्पराको नमुना हो । नेपाली हुनुको भाव हो । पूर्वजले सिकाएको छोडेर गएको सभ्यता र संस्कृतिको निरन्तरता हो । हाम्रो सम्पन्नता हो हामी अरुभन्दा पृथक छौ , मानवताबदी छौं ।

दुःख परेको आपद विपदमा परेको बेला प्रतिशोध बदला र हेयको भावना होइन दुखको सम भाव सहित आफ्नो सांस्कृतिक एकता मजबूत पार्छौ भन्ने धार्मिक र सांस्कृतिक अनि उच्चकोटीको मानवीय दर्शन र जीवन दृष्टि हो । सुसभ्य र सु–संस्कृतिक नेपाली परम्परा हो । दुःखमा विभाजित र वैमनस्यता हैन शान्ति र प्रेम सद्भाव र मिलनसार सहयोगी नैतिकता हाम्रो गुण र विशेषता हो । यो पटक पक्कै पनि तपाईले गहिरो पीडाबोध गर्नु भएको होला । यो ६ वर्षको अबधिमा तपाईले आफ्नो जन्म दिने बुबा गुमाउनु भयो । आफ्नी छोरी गुमाउनु भयो अहिले आएर मुटुको टुक्रा समान एक मात्र जवान छोरा गुमाउनु भयो । जुन अत्यन्त दुःखदायी र मर्मान्त छ । तपाईको दुःखले सारा नेपालीलाई छोएको छ भित्रै सम्म दुखाएको छ ।

आखिर मान्छे हो तपाई पनि नदुख्ने, नपोल्ने र नबिझाउने किन हुन्थ्यो र ? तपाई रोएको दृश्य देखेर धेरै रोए, स्तब्ध भए । मलाई माफ गर्नुहोला प्रचण्ड म यो पीडाको समयमा तपाईलाई केहि प्रश्न गरेर नजिकैको बिगत सम्झाउदै छु । मेरो अभिस्ट हो पीडाले पीडा देखोस महशुस गरोस । पीडितहरुको घाउमा पनि सामान्य मलमपट्टी गरोस ताकि आइन्दा दिनहरुमा यस्ता भूल र अपराध मान्छेको तहबाट बर्जित बनोस् । निषेधित र प्रतिबन्धित होस् । मान्छेको चेतनाले यसलाई सधै र सबैको लागि अस्वीकार्य ठानोस् ।

आज तपाई जुन सन्तान वियोगको गहिरो पीडा र शोकमा हुनुहुन्छ त्यो निश्चयनै दुःखदायी र अपुरणीय क्षति हो । आफ्नो जवान छोराको शरीरमा आगो झोस्नु पर्दा ढुङ्गो बन्छ त्यो बाबु । सन्तानको ममता बाबुआमा माया कति हुन्छ, प्रियजन र आफन्तजनको पीडा कति हुन्छ, गुमाएकाहरुलाई थाहा हुन्छ । आज तपाईलाई पक्कै पनि धेरै कुराको याद भयो होला ? अरुलाई पनि मेरै जस्तो पीडा र मेरा कारण (राजनीतिको कारण) कति भयो होला ? आफ्नो एक मात्र शाहारा अनि बाबुआमाको एक मात्र सन्तान, दुखजिलो गरि बनिबूतोले दुइ छाक खुवाउने जवान छोरा तपाईका कार्यकर्ताले हात खुट्टा भाँचेर, ढुंगाले किचेर मारी सकेपछी पनि घिस्याएर गाउँ गाउँ डुलाउँदा तिनका बाउ आमाको मन कस्तो भयो होला ? आफन्त गाउँले र वरिपरिका मान्छेले त्यो विभत्स दृश्य कसरी हेरे होला ? तपाई कल्पना गर्नुस ? संस्कृत पढाएको निहुँमा एउटा शिक्षक आफ्ना छोरा छोरी, श्रीमती आफ्ना शिष्यको आघिल्तिर रुखमा बाँधेर सेरेर मार्दा तपाईहरुको मानवीय चरित्र कुन दुलोमा घाँस खादै थियो ? अबोध बालबालिका युवा, बृद्ध यात्रीलाई जिउँदै जलाएर मार्दा तपार्इंको मन किन दुखेन कामरेड ? हजारौं चेलीहरुलाई बिधवा, हजारौं आमाहरुलाई सन्तान वियोग र हजारौं लालाबालाको ममता खोस्ने तपार्इंको राजनीति र मानवताको भेट अब आफुलाई परेको दैवी विपत्तीमा हुन्छ त अध्यक्ष महोदय ?

गुडीरहेको बसमा बम पड्काएर मान्छे मार्दा तपार्इको आँशु किन झरेन ? याद गर्नोस कमरेड आँसु सबैको हुन्छ दुःखमा आँशु सबैको झर्छ तर आँशु व्यापार होइन ? आँशुको ब्यवसाय गरेर भोट पाउने ‘काइते इरादा’ बन्द गर्नुस । मलाई माफ गर्नुस ! मैले यस्तो बेला यसो भन्नु परेकोमा म दुःखी छु । एउटा मान्छेलाई टुक्रा टुक्रा पारेर मार्दा विभत्स हत्या गर्न लगाउँदा नझर्ने आँशु आज छोरो बितेको वियोगमा सार्वजनिक मन्चमा तपार्इंले झार्दा तपाईलाई चुनाव लागेको त होइन ? छोराको काजकिरिया त गर्नु भएन त्यो मानियो तर एउटी ममतामयी आमाको पीडा र मायालु पत्नीको पीडालाई किन सार्वजनिक चुनावीसभामा लगेर छताछुल्ल पार्नु भयो ? सहानुभूतिको राजनीति गरेर भोट बटुल्ने कुटिलता भद्दा मजाक र उपहासको विषय किन बन्यो ? चुनाव सहानुभूतिले होइन जनताको समर्थन र मतले जित्नुस ।

जन्म पछि हरेक समुदाय र संस्कृतिक समुहको मान्छेको मृत्यु कर्म र संस्कार हुन्छ जुन हाम्रो परम्परा र शैली हो । सामाजिक मूल्य मान्यतामा रहेपछि बसेपछी त्यसको अनुसरण गर्नुपर्छ । तर तपाई विरोधाभाषले ग्रसित हुनुहुन्छ । तपाईले बुबाको निधन हुँदा भद्दा मजाक गर्नु भयो । बुबाको अन्त्येष्टीमा सहभागी हुँदा जे पहिरन लगाउनुभयो, जसरी प्रस्तुत हुनु जसलाई मान्छेहरुले जन्तीमा ठाटिएको रुपमा बुझे र ब्याख्या गरे । त्यो ठुलो आलोचनाको विषय भयो । हो तपाई कम्युनिस्टहरु धर्ममा विश्वास गर्नु हुन्न तर सनातनी परम्परा छोड्न पनि सक्नु हुन्न । अरुले लाए, खटाएको बेला भैंसी पनि पुज्नुहुन्छ ? जे पनि गर्नुहुन्छ ? बाबुको निधनमा सुट लगाएर ठाँटिएर जुत्तामोजा लगाएर अन्त्येष्टीमा सहभागी हुनुहुन्छ । तर छोराको दागबत्ती दिदा पूरा हिन्दु परम्परा अनुसार शोकाकुल बनेर सफा आर्यघाटको पुरोहितको आदेश मुताबिक गर्नुहुन्छ । जुत्ता मोजा फुकालेर टोपी झिकेर हिन्दु धर्मको पक्का अनुयायी झैँ प्रस्तुत हुनुहुन्छ ।

शोकमा बिब्हल तपाई मलामीलाई भाषण गर्न पुगेको नेता झैं अभिबादन गर्नुहुन्छ । यो विरोधाभाष किन ? जन्म, मृत्यु संस्कार र परम्पराका आ-आफ्ना शैली र मान्यताहरु हुन्छन । मृत्यु कुनै उत्सव होइन । मृत्यु भय हो, वियोग हो, अनि दुःखको ठुलो प्रहार हो । यतिबेला मान्छे शोकाकुल र गहिरो गरी दुःखमा हुन्छ । पीडामा डुबेको मान्छेले अभिबादनको शिष्टता यहाँ र यतिबेला सामान्यता प्रकट गरिदैन । सो आवश्यक कसैले ठान्दैन पनि, यहाँ प्रकट हुने पीडा रुवार्इ र वेदना कसैलाई पनि अनर्थ र अनौठो लाग्दैन । तर तपार्इले अहिले जुन सार्वजनिक कार्यक्रममा गएर जे गर्नु भएको छ, त्यो किमार्थ शोभनीय छैन । होइन । पुत्र वियोगको यो दुःखको घडीमा तपार्इंले सार्वजनिक मन्चमा सकभर नजानु पर्थ्यो, यदि जानु थियो भने सन्तान वियोगको आलो पीडा बोकाएर सीता माता र बिना बुहारीलाई नलानु पर्थ्यो । लानु नै थियो भने मन सम्हाल्न सकिने स्थितिमा लानु पर्थ्यो । त्यसैले म यो तुच्छ आरोप लगाउनु परेकोमा आफैंलाई खेद जनाउछु तर भन्नैपर्छ यो चुनावको मुखमा तपार्इंले सार्वजनिक मन्चमा आँशुको व्यापार गरेर राजनीति गर्नुभयो ।

आफ्नो प्रिय छोरा, पति र बाबु गुमाउनुको पीडा तपाईहरुलाई छ भन्ने कुरा सबैले देखेका छन्बु, झेका छन् । यस्तो बेलामा तपाईहरुको उपस्थिति त्यो चुनावी सभामा नभए पनि मान्छेहरुले अन्यथा मान्ने थिएनन् । तर त्यहाँ गएर सीता माता र बिना मगरको रुवाबासी तपार्इको असावधानी हो । चुनावी माहोलमा सामान्यकरण, प्रियजन गुमाउँदाको पीडा र दुखानुभुती प्रायः मान्छेलाई थाह छ । तर मृत्यु अनि वियोगलाई किन निर्दयी राजनीतिमा लानु भयो ? पुत्र वियोग र पति वियोगको गहिरो शोकमा डुबेका सासु र बुहारीलाई किन चुनावी सभामा लगेर रुवाउनु पर्यो ? खै तपार्इको मानवीय समबेदना ? जनताको मत समर्थनको हुन्छ , दिलको हार्दिकता र बौद्धिकताको हुन्छ । जनताको समर्थन मत आँशु र सहानुभूतिलाई मात्र हुँदैन । मूल्य, मान्यता, व्यक्ति ,निष्ठा समर्पण र कार्यक्रमलाई हुन्छ । तसर्थ कार्यक्रममा लिएर जानुस आशु देखाएर होइन ।

शोकमा परेकोबेला मौन बस्नु, मनको सबै बिकार त्याग्नु, शरीर शुद्ध राख्नु अनि धैर्यता प्रदर्शन गर्नु, एकान्त र पारिवारिक वातावरणमा बस्नु, धार्मिक रुपले मात्र हैन भौतिक आवश्यकताले पनि उत्तम संस्कृति र रित हो । सुद्दिकरणको प्रक्रिया हो । शोकबाट बाहिर आउने अभ्यास हो । शोकमा परेको बेला उत्ताउलो, भड्किलो र रुन्चे राजनीति अनि सहानुभूतिको व्यापार अपसंस्कृति हो । अप चलन हो । यसको अर्थ यो होइन कि प्रचण्ड र उनको परिवारले दुःखमा रुन मिल्दैन ? मान्छे सबै उस्तै हुन् । दुःखमा सवैको आँशु झर्छ । रुन पर्छ, पाइन्छ तर पुत्र वियोगको आलो घाउ र पति वियोगको तातो पीडा बोकेर सार्वजनिक मन्चमा जान हतार नगरेको भए, नगएको भए ठुलो बिपत्ती आउने थिएन । राजनीति गर्ने मान्छे धर्म संस्कृति परम्परामा स्पस्ट हुनु जरुरि छ । कि खरो क्रान्तिकारी बन्नुस कि हाम्रो पूर्वीय संस्कृतिको सामान्य नियम र प्रचलनमा बस्नुस । लोकलाज पनि लाग्ने आफुलाई क्रान्तिकारी पनि ठान्ने तर अन्यमनस्क, अंन्योल दुविधाले ग्रस्त पनि हुने सामाजिक ब्यबहार पद्दति र शैली त्याग्नु र आफुलाई आफ्नो जीवन शैलीमा सुधार्नुपर्ने हुन्छ देखिन्छ ।

म यो दावाका साथ् भन्छु हामी जुन समाज र जुन समाजको धार्मिक संस्कृतिक मूल्य मान्यता र परम्परामा हुर्केका छौं, हाम्रो दिमागमा जुन संस्कृति रिति, मूल्य र मान्यता जरो गाढेर बसेको छ त्यसलाई कुनै सनक लहड र बेगमा एक साथ् परिवर्तन गर्न सक्तैनौ । तसर्थ हामीलाई मनोवैज्ञानिक रुपमा त्यस्ता भुत, भय, त्राश र आतंकले सधै पिछा गर्नेछ । प्रचण्ड तपाई जे भन्नुस, जे सोच्नुस, जसरी सितामातालाई सम्झाउनुस उहाँको मनको अन्तर कुन्तरमा छोरा प्रकाशको कृयाकर्म हाम्रो परम्परा अनुसार नगरेको हीनताबोध र अभाव सधै उहाँको जीवनभर खटकने छ । यो व्यक्तिको मनोवैज्ञानिक पक्ष हो अनि सामाजिक मनोवैज्ञानिक चेत पनि हो ।

हाम्रो दिल दिमागमा जरा गाडेर बसेको कुरा जतिसुकै अन्धविश्वास र कुरुतिको भए पनि एकाएक हटाउन सक्दैनौ । मेट्न सक्दैनौ । यो हाम्रो नशा नशामा प्रवाहित भएको हुन्छ । मेरो मतलव यो होइन कि यसलाई हटाउन हुन्न, सकिन्न ? हटाउन पर्छ सकिन्छ तर निरन्तर र लगातार परिस्कार र परिमार्जन गरेर घटाउँदै लान सकिन्छ । एकाएक हठाथ र बल पूर्वक गरिएको कुरा प्रत्युतपादक पनि हुनसक्छ समाजमा त्यस्ता थुप्रै उदाहरण छन् ।समाजको सामाजिक र मनोवैज्ञानिक पक्षलाई नजर अन्दाज गर्न सकिन्न । गर्नुहुन्न ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework