लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

महाभारतकी कुन्ती-२०

शनिबार, ९ मंसिर, २०७४ मा प्रकाशित,

-हरिविनोद अधिकारी: राजनीति । राज्य सञ्चालनको अभिभारा बोकेकाले सायद यसलाई राजनीति भनेका होलान् । राज्यको नीति जसले दुनियाँको भलो गर्छ, जसले दुनियाँलाई सहयोग गर्छ, जसले दुनियाँलाई रक्षा गर्छ र जसले दुनियाँलाई बाँच्नका लागि आधार दिन्छ । त्यस्तो राजनीति सहज तरिकाले अघि बढेमा त ठीकै हो तर जब त्यही राजनीति खुराफात, जालझेल, र सङ्कीर्ण स्वार्थमा डोरिन थाल्छ, अनि त्यही हुन्छ जुन हाम्रो परिवारमा भयो । कुरुवंशमा भयो ।

 आज कुरुवंशको धरोहर त युधिष्ठिरले धानेको छ तर जुन तरिकाले राज्य प्राप्ति भयो, त्यो तरिका ठीक थियो त ? आज, अनि यो घडीमा म जुन सोचिरहेकी छु, जस्तो जीवन बाँचिरहेकी छु र एकजमानाका अत्यन्त महत्वाकांक्षी चक्रवर्ती महाराज धृतराष्ट्र र गान्धार नरेश सुबलकी प्यारी छोरी गान्धारी दिदीको जुन अवस्था छ, त्यसले के देखाउँछ होला भविष्यमा पनि ? सायद त्यसको पाठ भनेको संसारमा समयभन्दा बलवान कोही छैन भन्ने देखाउने छ । यदि हाम्रो परिवारको कथा कसैले पछि सम्झेछ भने पनि समय, नियति र प्रारब्धलाई एकैसाथ कसरी कार्य गर्दारहेछन्, उदाहरणीय मानिने छ । हेर्नुस्, ऊ त्यहाँ अहिले त्यो आगोको लप्का उहाँहरु नजिक मडराइरहेको छ र पनि उहाँहरु बेखबर ध्यानमग्न हुनुहुन्छ । सायद जीवनमा हामीलाई डढेर मर्न लेखेको रहेछ । अहिले हामीलाई डढाउन पनि छोराहरु नजिकै पनि छैनन् ।

गान्धारी दिदीमा त आन्तरिक दृष्टि बलियो छ, पक्कै मृत्युको आभास पाइसक्नु भएको होला तर उहाँहरुलाई बाँच्न मन छैन पटक्कै । मलाई पनि छैन बाँच्न मन तर म त उहाँहरुका सेवामा मात्र आएकी हुँ । र पनि म भनेकी जीवनमा अनेक ठक्कर खाएर क्षतिपूर्ति पाए पनि जेठाजु र जेठानी दिदीको सेवाका लागि आएकी हुँ यो वानप्रस्थाश्रममा । सदैव छोराहरुको जीतको कामना गरेर पनि, जीत हासिल भएपछि भने चटक्कै छोडेर हिँड्न लाग्दा सबै छोराहरु डाँको छोडेर रोएका थिए । मैले पनि रुवाइ रोक्न त सकिन तर जिद्दीवाल जेठाजु र अन्तरमुखी दिदीको वानप्रस्थाश्रममा हुनसक्ने कमीको वारेमा चुपलागेर बस्न सकिन किनभने यदि उहाँहरुको राम्रो बन्दोबस्त हुन सकेन भने युधिष्ठिरको राज्यमा यत्ति पनि भएन भनेर शत्रुराज्यहरुले निहुँ खोज्ने अवसर पाउने थिए ।

साँच्चै, राजनीतिको त्यो चक्रव्यूह किन यत्ति निर्मम भएको होला ? वास्तवमा अर्जुनले ठीकै भनेको थियो रणभूमिमा आखिर मैले पाउने राज्य नै हो सबै आफन्तलाई मारेर पछि पनि । केका लागि लडौं जब सबै आफन्तहरु समाप्त हुने खेल रहेछ यो राजनीति ? भो मलाई चाहिएन बरु । तर त्यसो गर्नु पनि ठीक थिएन, अहिले सबै मारेर राज्यसत्ता सबै हातमा हुँदा पनि ठीक भएको होइन । यस्तै रहेछ राजनीतिको लोभ पनि, मद पनि, मात्सर्य पनि । काम, क्रोध,मोह र मात्सर्य एउटै सिक्काका विभिन्न अपरिहार्य रुप रहेछन् ।

मारामार, काटाकाट, जालझेल र कपटपूर्ण खेलले मात्र राजनीति अघि बढ्दो रहेछ । त्यसको एउटा ज्वलन्त उदाहरण त मेरा धर्मभीरु सत्यवादी छोराहरुलाई जुवाको खेलमा फसाएर दुर्योधनादि छोराहरुले किँकर्तव्यविमूढ बनाएको देखियो । यदि उनीहरुसँग कोही शस्त्रास्त्रले लड्थे भने सिधै जित्न संसारमा जो कोहीलाई पनि मुस्किल थियो तर त्यस्तो कपटपूर्ण जुवाको खालमा हराइयो कि हो भन्ने कि होइन भन्ने गरी दिग्भ्रमित बनाइएको थियो । जुवा त होसमा नै खेलिएको थियो, सम्पूर्ण बाजी हारेको पनि होसमा नै हो तर एकैछिनमा संसार तहस नहस भयो । जुवा वास्तवमा बेहोसमै खेलिन खेल हो, हुन त होसमा नै होइने हो । जुवा होस् कि लडाइँ, आखिर त्यसको पछिल्तिरका परिणाम त राज्यप्राप्ति नै थियो । जुवासँग कपटी खेल जो खेलियो, त्यहीँ नै द्रौपदीको चीरहरण जो भयो, त्यो सम्झँदा मलाई लाग्छ, यो सत्ता प्राप्तिको खेल अत्यन्तै निर्मम हुने रहेछ । अपराधी हुने रहेछ । निर्ममतासँगै अन्यायको खोलभित्र न्यायको लेपन लगाइँदो रहेछ । आखिर राजाको छोराले राजा हुन पनि त बाबुको मृत्यु नै पर्खनु पर्छ नि, अनि महत्वाकांक्षी राजकुमारका लागि राजाको निकट समयमा हुने मृत्यु नै एउटा अपेक्षित कर्म हुँदो रहेछ । युधिष्ठिरसहितका मेरा छोराहरुलाई राज्यबाट बेदखली गर्नु नै उनीहरुको कानुनी मृत्यु त गराइएको हो नि । फेरि कहिल्यै राज्यको हकदार नहोऊन् भन्ने कानुनी बाटो रोजिएको थियो राजीखुसी जुवा खेलाउने र हराउने व्यवस्था । दाजु शकुनि साँच्चै हाम्रो वंश समाप्त गर्नका लागि कसम खाएर नै आउनु भएको रहेछ गान्धारबाट र त सबै जसो कौरबतर्फ समाप्त भएपछिमात्र उहाँको वीरगति प्राप्त भएको रहेछ युद्ध मैदानमा । भन्दछन् प्रत्यक्षदर्शीहरु, उहाँ आफ्नो मृत्युको बेलामा अत्यन्त खुसी हुुनुहुन्थ्यो रे कि कम्तीमा पनि धृतराष्ट्रका वंश त सखाप भए । भन्नुहुन्थ्यो रे-कृष्ण जता लाग्नु हुन्छ, जीत त उसैको हुन्छ । मेरो पनि एउटा अभीष्टता छ, त्यो पूरा हुने बित्तिकै मेरो सास सजिलैसँग जानेछ । राती एक्लै दरबारको बार्दलीमा बसेर योजना बनाइरहनु हुन्थ्यो रे र जब कुनै षडयन्त्रको तानाबाना उहाँको दिमागमा साक्षात्कार हुन्थ्यो, तत्कालै दुर्योधनलाई त्यसमा काम गर्न बाध्यात्मक परिस्थिति बनाउन सिपालु हुनुहुन्थ्यो । त्यसैले होला, दुर्योधन छिनछिनमा नयाँ नयाँ षडयन्त्र तयार भएको खुलासा गथ्र्यो रे र त्यसलाई आँखा चिम्लेर सहयोग गर्नका लागि महाराज पटक्कै अप्ठेरो मान्नु हुन्थेन ।

जेठाजु महाराज धृतराष्ट्र दृष्टिविहीन नै हुनुहुन्थ्यो , आफ्नो महत्वाकांक्षाको उत्तराधिकारीको रुपमा दुर्योधनकै भरमा परेको हुुनुहुन्थ्यो र पनि दुर्योधन राजाको रुपमा गद्दीनसीन भएका थिएनन् । वास्तवमा युधिष्ठिरसँगको समस्या नै के थियो भने ऊ महाराज पाण्डुको जेठो छोरोको रुपमा स्वीकृत थियो, महाराजबाट पनि, ऋषिहरुबाट पनि । सल्लाहले र आदेशले गरिने नियोगको परिणाम त स्वयं धृतराष्ट्र र पाण्डु नै हुनुहुन्थ्यो । भन्न त दुर्योधनले बारम्बार भन्ने गथ्र्यो रे, यी पाँचैभाइ मेरा काकाका छोरा नै होइनन् । वास्तवमा होइनन् तर कृष्ण द्वैपायनका व्यासका छोरा भनेर त धृतराष्ट्र जेठाजु , पाण्डु महाराज र विदुरलाई कसैले भनेनन् । सबैले विचित्रवीर्य महाराजका छोराहरु नै माने । त्यसैले पनि मेरा छोराहरुलाई पाण्डुका होइनन् भन्ने आधार पनि थिएन र स्वीकार नगर्ने कारण पनि थिएन । तर त्यही हो, राज्यको भोगचलनका लागि कानुनी प्रक्रिया भनेको , धर्मको राज्यलाई मान्ने हो भने युधिष्ठिर नै भावी राजा थियो, जेठाजुले युवराज घोषणा नगरे पनि महाराज पाण्डुको युवराज घोषित थियो । समाजले मानेको राजा वा युवराज युधिष्ठिर नै थियो । त्यहाँ स्वीकारोक्तिको खासै आवश्यकता थिएन । मुख्य मान्छे भनेको पितामह हुुनुहुन्थ्यो जसले सहर्ष स्वीकार गरेकै हुुनुहुन्थ्यो । सबैभन्दा त कृष्ण द्वैपायन व्यासले स्वीकृति दिनु भएको थियो । महाराज पाण्डु नै व्यासको इच्छानुसार नै राज्य सञ्चालन गर्नुहुन्थ्यो । पितामहको इच्छा पनि व्यासको इच्छानुसार राज्य चलोस् भन्ने नै थियो किनभने हाम्रो आजको राज्य र विश्वमा व्यास बराबरको विद्वान, दूरदर्शी कोही पनि थिएन, छैन ।

चक्रवर्ती महाराज पाण्डुको युवराज भएकाले हस्तिनापुरले मान्नु आवश्यक त थिएन तर भोगेको राजपाठ छोड्न न त जेठाजुलाई मन थियो, न त जेठाजुका सय भाइ छोराहरुलाई मन थियो । त्यसैको परिणाम थियो वैमनस्यता, मारामार, काटाकाट, जालझेल र अधर्मको आड लिएर मेरा छोराहरुमाथिको कटाक्ष, आक्रमण र विवाद । राज्यको लागि नै त थियो । आखिर त्यो राज्य केही समयका लागि भने पनि विभाजन त भयो, पछि परिवार ध्वस्त भएपछि पाण्डवकै भयो सम्पूर्ण राज्य । र पनि शान्ति न त मलाई भयो, न त युधिष्ठिरलाई भयो , न त महाराज धृतराष्ट्रमा अनुभव गरियो । जेठाजुको इच्छा थियो, युयुत्सुलाई पनि कुनै राज्याधिकारी बनाउन पाए हुन्थ्यो तर विदुरको उदाहरणले गर्दा खुलेर भन्न पनि सक्नुहुन्थेन अनि भावनाचाहिँ देखाउनु हुन्थ्यो । तर स्वयं युयुत्सुचाहिँ राजा हुनुभन्दा युधिष्ठिरको सहयोगी भएर राज्यमा रहन चाहेको थियो विदुरको हैसियतमा । फरक के थियो भने विदुरको अभिभावक व्यास हुनुहुन्थ्यो भने युयुत्सुको धृतराष्ट्र । व्यासमा समयलाई कसरी सञ्चालन गर्ने कला थियो भने जेठाजुमा समयलाई आफ्नो कब्जामा कसरी लिई राख्ने भन्ने लोभ थियो । समय , आफैँमा गतिशील हवा जस्तै हो भने त्यसलाई पोको पारेर राख्छु भनेर कहाँ बस्ने हो र ?
मेरो समस्या भनेको अधिकार स्थापनाको थियो । मेरो जीवन नै अधिकार स्थापनामा नै लाग्यो भन्दा पनि हुन्छ । पिताजीका घरबाट काकाको घरमा गएँ, त्यहाँ म को हुँ भन्ने सधैँ विस्मयमा नै बाँचेँ र म जस्ती छोरीलाई किन परिवारमा नराखेर काकाका राज्यमा पठाएको बुझिन । अनि विवाह भए पनि म जस्ती नारीलाई वास्ता नगरेर किन माद्रीसँग विवाह गरियो, थाहै पाइन । किन धेरै रानीको आवश्यकता देखाउन परेको थियो, त्यो पनि मैले बुझिन । जब बच्चा नहुने रहेछन् त मलाई पहिले नै नियोग गराएको भए बेलैमा राज्याधिकारी हुन्थे मेरा छोराहरु । अनि कर्णका वारेमा पनि मैले आफूलाई कहिल्यै पनि परिचय भएकी नारीको रुपमा पाइन । सधैँ एउटा मानसिक तनाव, कुण्ठा, दबाब र स्मृति विस्मृतिको दोसाँधमा बाँच्ने बानी बसाल्न बाध्य भएँ ।

वनबाट हस्तिनापुरमा गएर मैले अधिकार स्थापना गर्न सकिन भने म चरित्रहीना , गणिका र पहिरामा गुड्किरहेको ढुङ्गो जस्तै बेसहारा हुने थिएँ र पाण्डवको पहिचानमा नै खलल पर्ने थियो । अब उनीहरु कुरा बुझ्ने भइसकेका थिए, मैले भन्दा पनि तपस्यारत ऋषिहरुले उनीहरुलाई अतीत , वर्तमान र भविष्यका वारेमा दीक्षित पारिसकेका थिए । ममात्र निमित्त नायिका भएर हस्तिनापुरमा अधिकार माग्न गएकी थिएँ जसमा मलाई पितामह, देवर विदुर र जेठानी दिदी गान्धारीको आड भरोस थियो । तर दिदी बाहिर केही भन्न नसक्ने, जेठाजु मौन बस्न रुचाउने अनि पितामह चिन्तामात्र गरिरहने र भन्ने-म त हस्तिनापुरको रक्षक हुँ । हस्तिनापुरको रक्षा कसरी हुन्छ भन्नेभन्दा आफूले सबै त्यागेर बसेकाले निरपेक्ष हुन चाहनु हुन्थ्यो । राजनीतिमा निरपेक्ष त स्वयं विदेह शिरध्वज जनक त हुन सक्नुभएको थिएन भने पितामहलाई गाह्रो भएको बुझ्न सकिन्थ्यो । तर पितामहको एउटा समस्या थियो, त्यो के भने विचित्रवीर्यको पहिलो सन्तान भनेर गणनामा जेठाजु नै हुनुहुन्थ्यो र कता कता धृतराष्ट्रलाई त्यही बेलामा नै अन्याय परेको थियो कि भन्ने ग्लानिचाहिँ उहाँमा देखिन्थ्यो किनभने जेठाजुले दिने ताना भनेको नै पितामहलाई यस्तै हुन्थ्यो । दिदी बाहिर बोल्नुहुन्थेन किनभने भारतवर्षको चक्रवर्ती राजा आफ्नै छोरो भएको हेर्न चाहनु कुनै अनौठो कुरो थिएन ।

म पनि त सानै राज्य भए पनि ब्रजकी राजकुमारी थिएँ र छोरा नभएका राज्यकी राजकुमारी थिएँ । कुन्तीभोज काका मेरा अभिभावक हुनुहुन्थ्यो र म जबसम्म त्यो दरबारमा बसेँ , मैले युवराजको पदवीअनुसारको राज्य भोग गरेँ । म अलि लजालु भए पनि निर्भीक र मेहनती थिएँ । त्यसैले आउने पाहुनाको रेखदेख गर्न युवराजको कर्तव्य मैले नै पूरा गर्दै आएकी थिएँ ।

सबैले सुनेको कुरा के थियो भने दुर्वासा ऋषिलाई मैले खुसी पारेरमात्रै नियोग गर्ने मन्त्र पाएकी हुँ । वास्तवमा जुनबेला मैले त्यो मन्त्र पाएकी थिएँ,मलाई केही पनि थाहा थिएन र कसरी त्यो मन्त्रको आराधना गर्नुपर्छ भन्ने पनि थाहा थिएन । नियतिको कुरा हो भन्ने लाग्छ मलाई । अहिले पनि मलाई सम्झना छ एउटा कुराको । दुर्वासा ऋषिलाई मैले आफ्नै हातले बनाएको खिर पस्केर दिएँ तातोतातो । अरुलाई पातमा दिन्थेँ, उहाँलाई सुनको थालीमा दिएकी थिएँ । तातोतातो खिर हातमा के दिएकी थिएँ, उहाँका आँखामा एउटा कोप देखेँ भयानक लाग्ने गरी । म पनि त हुस्सू, तातो थाली त कुनै खटियामा राखेर दिनु पर्ने नि, हातमा नै दिएँछु । आखिर अनुभवहीन राजकुमारी त थिएँ । सेवाको सुरमा त्यो कुरा बिर्सेँछु । उहाँ साधक पनि हो र शिष्ट ब्राह्मण पनि हो र रीसको भकारी पनि हो भन्ने सुनेकी थिएँ, रिसले चुर भएका आँखा देख्ने बित्तिकै र आफ्नू गल्ती थाहा हुने बित्तिकै अरु केही उपाय थिएन, म थचक्क बसेँ र उहाँको थाली अड्याउन ढाड तेस्र्याँएँ । हात र घुँडा टेकेर थाली राख्न ठाउँ बनाएँ अनि उहाँले आरामसँग खिर खानु भयो । तातो थालले जत्ति पोले पनि मैले खपेँ । श्रापभन्दा त्यो तातोपन कमै डाहपूर्ण थियो मलाई । म दुर्वासा मुनिको श्राप खप्न सक्ने अवस्थामा थिइन किनभने दरबारमा दुर्वासा ऋषि र उहाँका ६० हजार शिष्यहरुका वारेमा धेरै कथा सुनेकी थिएँ र त्यसै त्यसै डर लाग्थ्यो । अनि मुनिले खिर खाएर , हात धोएर र आराम गरेपछि मलाई बोलाउनु भयो र आफू धेरै खुसी भएको बताउनु भयो । सायद उहाँले मेरो भविष्यको गणना गरिसकेको हुनुपर्छ , भन्नुभयो—पृथा, तिम्रो भविष्य मैले यहीँबाट देखेको छु, तिमी चक्रवर्ती राजाका पटरानी हुने देखिन्छ । तिम्रो जीवनको बाटो पहिल्याउन पनि आजको दिनमा सूर्य उदाएका हुनुपर्छ । म एउटा मन्त्र दिन्छु, यो मन्त्र स्वतः सिद्धिदायक छ र तिमीले बोलाएको कुनै पनि यक्ष, गन्धर्व, देवता तत्काल तिमीनेर आएर तिम्रो कामना पूरा गर्नेछन् । कामनाको अर्थ मैले बुझेकै थिएन । म अत्यन्त खुसी भएँ आज मुनिले मलाई आशीर्वादस्वरुप सिद्धिदात्री मन्त्र दिनुभयो । सायद सुदूर भविष्यको मेरो जीवनको झंकार उहाँले सुनिसक्नु भएको रहेछ । आज त्यसबेलादेखिको परिचयको र अधिकार खोजिरहेकी छु । अब समय धेरै बाँकी पनि छैन र पनि मलाई त्यसबेलाको त्यो अवस्था अनि भगवान भाष्करसँगको साक्षात्कार अनि अनपेक्षित, अनिच्छित र कुतुहलपूर्ण कामना पूरा गर्दै पहिलो सन्तानको उत्पत्ति ताजा नै छ मस्तिष्कमा । अब अहिले न त छोरो कर्ण छ, न कहिल्यै भाष्करले कुनै कुरा सम्झाउनु भयो, न यो कुरा महाराज पाण्डुलाई भन्ने हिम्मत ममा आयो । त्यसपछि न त कहिल्यै मुनि दुर्वासा फेरि भेटिनु भयो ।

एकपटक पाण्डवहरु वनवासमा रहँदा दुर्वासा ऋषि पुग्नु भएको थियो रे दुर्योधनादिको अनुरोधमा । त्यहाँ पनि गज्जब भयो रे भन्थिन् द्रौपदी । आउनु भयो रे ऋषि आफ्ना गुरुकुलका सबै शिष्यहरु लिएर ६० हजार नै । अनि द्रौपदीलाई भन्नुभयो रे एकछिन पछि स्नान सकेर आउँछु, खाना बनाइराख्नु भनेर । फेरि त्यो पाकताउली कस्तो रहेछ भने द्रौपदीले खाएपछि माझ्ने अनि अर्को छाकमा मात्र जत्ति पनि पाक्ने । त्यही बेलामा द्रौपदीले सम्झने भनेको त कृष्णलाई नै हो । सम्झन नपाउँदै कृष्ण टुप्लुक्क आएछन् र भोक लाग्यो भन्दै कराउन थालेछन् । द्रौपदीले भनिछन्हे-र्नु न, पाकताउली त माझेँ र केही पनि बाँकी छैन, हजुरलाई के ख्वाउँ अनि महामुनि दुर्वासा र उहाँका शिष्यहरुलाई के दिउँ ?

कृष्णले जिद्दी गरेछ र खोइ हेरुँ भाडो भनेर हेरेछ ,। त्यहाँ द्रौपदीले खाएर पनि एउटा त्यान्द्रो साग बाँकी देखियो , अनि कृष्णले त्यही सागको त्यान्द्रो बडो मिठो मानी मानी चपाएछ । अनि ढ्याउ गरेछ र भनेछ-यति मिठो खाना त कहिल्यै खाएको पो थिइन त । अनि द्रौपदीले भनिछन्म-लाई हजुरको केही पीर थिएन, महामुनि र शिष्यहरुलाई पो कसरी खुवाउँ ? अनि कृष्ण हाँसेछ र भनेछ-उता हेर त, ऋषिका सूचक आउँदैछन्, के भन्दछन् ? सूचक शिष्यले भनेछन्खो-इ के भयो, हामी त स्नान गर्दा गर्र्दै अपच होला जस्तो गरी पेटमा खाना भरिएकोले खान आउन नसक्ने भयौँ र जाँदैछौँ पनि उतैबाट । अनि कृष्ण कुटिल हाँसो हाँसेछ र आफूले खाएपछि सबैलाई पुग्ने उद्घोष गरेछ ।

द्रौपदीको स्वयंवर पछि पनि एउटा समस्या त परेको थियो ।असाध्यै राम्री याज्ञसेनी । पाँच भाइकी औपचारिक पत्नी । हुन त अर्जुन मात्रै हो भाग्यमानी जसले कृष्णालाई बाजी मारेको थियो तर नियतिको खेल भनौँ कि याज्ञसेनीको पूर्वजन्मको लेखा भनौँ , मेरा पाँचभाइको एउटै रानी बनिन् र प्रत्येक वर्ष एउटा राजकुमारसँग बस्ने निधो भएको थियो । त्यस्तै भयो पनि सधैँ । एकदिन नारद ऋषिले आपसमा विवाद नगर्नका लागि सुन्द र उपसुन्दको कथा भन्नुभयो जुन सधैँ सम्झिरहन्छु म । क्रमशः

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework