लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

महाभारतकी कुन्ती-२१

बुधबार, ३ माघ, २०७४ मा प्रकाशित,

हरिविनोद अधिकारी: आज किन किन मलाई जीवन पनि उराठलाग्दो लागिरहेछ । जब म मैले सानामा सुनेको सुन्द उपसुन्दको कथा जस्तै कथा पो मेरो घरमा दोहोरिने हो कि भनेर डराइरहेकी थिएँ । नारदले भन्नु भएको थियो- प्राचीन युगमा हिरण्यकश्यपुका कुलमा, उनका सन्तानमध्ये निकुम्ब नामका अति पराक्रमी दैत्यराज थिए । ती दैत्यराजका दुई भाइ छोराहरु थिए सुन्द र उपसुन्द । साह्रै पराक्रमी । एकदम मिल्ने ।

 राज्यमा मानिसहरुले उनीहरुलाई देख्दा जुम्लाहा हुन् कि भन्नेसमेत भान पथ्र्यो । सँगै हुन्थे, सँगै खान्थे र सँगै नै युद्धमा जान्थे र जित्थे पनि । दाजु भाइमा यस्तो मिल्ती थियो कि ती एकअर्कालाई मनपर्ने काम मात्र गर्थे र एकअर्काका लागि जस्तो त्याग गर्न पनि चाहन्थे । आपसमा भन्ने गर्थे पनि-हाम्रो जीवनको लक्ष्य भनेको भ्रातृप्रेम हो र हामी एकअर्काका लागि नै जन्मेका हौँ । यति कठोर तपस्या गरे कि तिनीहरुले अत्यधिक बल सञ्चय गर्न पनि सक्षम भए । यसै त पराक्रमी, झन तपस्याका बलले तयार भएको व्यक्तित्वले उनीहरु एकप्रकारले अजातशत्रु जस्तै थिए । तर एकदिन स्वर्गकी तिलोत्तमा नाम गरेकी अप्सरासँग उनीहरुको जम्काभेट भयो । अचम्भ थियो, अहिलेसम्म उनीहरु ब्रह्मचर्याश्रममा नै थिए , तिलोत्तमा देख्ने बित्तिकै उनीहरुमा कामभावना जन्मियो र दुई भाइले ती आफ्ना पूर्व वाचा बिर्सिए र ती अप्सराको दुई दाहिने हात सुन्दले पक्रियो र देब्रे हात उपसुन्दले पक्रेर तान्न थाले । बिचरी तिलोत्तमालाई पर्‍यो फसाद । दुबै तानातान गर्न थाले एकातिर भने कामासक्त दैत्य बन्धुहरुले अरु सबै कुरा बिर्सिएर तिलोत्तमालाई आफ्नो बनाउन जे पनि गर्न तयार भए । हानाहान गर्न थाले । पिटापिट गर्न थाले । अन्तमा एकअर्कालाई गदाले हान्दा दुबै नै शक्तिशाली भएकाले एकअर्काको मार खप्न नसकी मरेछन् । यही कथा मैले सम्झेकी थिएँ जब द्रौपदी वा कृष्णाको हाम्रो घरमा प्रवेश गरिन् , या भनौँ पाँचै भाइकी साझा सम्पत्तिको रुपमा , साझा पटरानीका रुपमा उनलाई घरमा भित्राउने काम भएको थियो ।

अनि मलाई त्यो दिनको , त्यो बेलाको पनि याद आइरहेको छ जब मलाई कुन्ती भोज महाराजका दरबारबाट विवाह गरेर हस्तिनापुर ल्याइएको थियो, त्यही रात नै महाराज पाण्डु विजययात्राका लागि निस्कनु भएको थियो । एउटा संयोग हो वा नियतिको चक्र नै थियो, त्यो त अब के भनौँ र ? तर पहिलो विजययात्रामा निस्केको र कुनै हाल खबर पनि नआउँदा मलाई दोहोरो चिन्ताले सताएको थियो । एउटा चिन्ता थियो , के मलाई महाराज पाण्डुले मन नपराएको हो त ? या अर्को चिन्ता थियो युद्ध भूीममा जाने प्रत्येक वीरको या त वीर गति प्राप्त हुन्छ, या त अरुको राज्य जितेर विजयी बनेर आउने हुन्छ । जे भए पनि , म नयाँ दुलही, नयाँ रानी, नयाँ व्यवस्था र नयाँ दरबारमा मेरो आफ्नो भनेको त महाराज पाण्डुबाहेक को पो थियो र ? तर न खबर, न कहाँ हुनुहुन्छ जानकारी, न त माइती तर्फको जानकारी , न त विजयको जानकारी । हामी त शान्त देशका बासिन्दा, शान्त दरबारका राजकुमारी । गाईसँगको हाम्रो संगत । ग्वालाको जिन्दगीसँगको जान पहिचान । तिकडम, जालसाँजी र विवादभन्दा अलिपर हुने हाम्रो चलन ।

राज्यको भन्दा नैतिकता र मानवीय मूल्यको बढी चिन्ता लिने गरेको समाजबाट यस्तो राज्यमो राजधानीमा म आइपुगेकी थिएँ कि म आफूलाई कहाँ छु भन्ने नै थाहा पाउन छोडेकी थिएँ । बाहिरी अर्थमा म पटरानी हस्तिनापुर नरेशकी तर दरबारमा बेहुली भित्रिएको दिनदेखि नै म फगत एक्ली , आफ्नो अतीतसँगमात्र एकाकार हुन पर्ने अवस्था । म सकेसम्म अतीतसँग भेट नहोस् भन्ने चाहन्थेँ तर नियतिले मलाई पुराना कुरा सम्झनमात्रका लागि होला, एकाकीपनमा धकेलेको थियो । म बारम्बार त्यही बालकको सम्झनामा एकोहोरिन्थेँ र मैले सोचेको अरुले सुने कि वा मैले कबच कुण्डलसहितको त्यो बालक बगाएको कसैले देखे कि ? भनेर आत्तिन्थेँ किनभने मैले त्यही सोचिरहेकी हुन्थेँ । सायद अरु कोही कुरा गर्ने वा मन बहलाउने मान्छे हुँदो हो त म अलमलिन्थेँ र अतीतसँग एकाकार भइरहन पर्दैनथ्यो होला । तर मेरो नियति यस्तो भयो कि बिबाहपश्चातका साथी पनि कता जानुभयो कता , अनि एकान्तबास , अतीतसँगको साक्षात्कार र त्यसमा पनि त्यही बालकमात्र सम्झनामा आउने । एकातिर म कन्याकुमारी हुँ भनेर बिबाहित भएकी थिएँ तर यथार्थमा के थियो, मैलेमात्र थाहा पाउने कुरा भयो ।

त्यस्तो दिन पनि आयो जुन दिन म खुसी हुने कि बेखुसी भन्ने अलमलमा परेकी थिएँ । ममात्र होइन कि पुरै दरबार अलमलमा परेको थियो । समाचार वाचकका रुपमा खटिनु भएका महामन्त्री विदुरसमेत समाचार भन्न अलमलमा परेको म पर्दाभित्रबाट राम्रैसँग देख्थेँ । लामो समयसम्म युद्धभूमिबाट कुनै खबर नआएको समय थियो । युद्धभूमिबाट कुनै समाचार नआउनुका कारणहरुमध्ये या त राजाले यसरी साम्राज्य विस्तार गर्दै हुुनुहुन्छ कि समाचार पठाउन नै चाँजो नपरेको अवस्था, या त गएका सबै सखाप भएपछि समाचार लिएर आउने नै कोही पनि नभएको अवस्था । या भन्ने कुने नयाँ समाचार नभएको अवस्था । तर पनि भर्खर नयाँ रानी दरबारमा भित्र्याएर गएका राजाका लागि युद्धभन्दा नयाँ आगन्तुकको चासो हुनुपर्ने भन्ने सामान्य कुरा पनि वास्ता नगरिएको अवस्था थियो । मलाई लागको थियो , हुनसक्छ सामाज्य विस्तारको योजनाभित्रै विवाह भएको होला । काकाका लागि मेरो बिबाह साह्रै असह्य थियो र पनि छोरीलाई सधैँ पालेर राख्न नहुने भएकाले मेरो बिबाहका लागि स्वयंबरको व्यवस्था भएको थियो । बिबाह भयो पनि ।

खासगरी गान्धारी दिदीलाई यसले पोलेको थियो, कारण थियो उहाँ आफैँ । हस्तिनापुरको भयले पिताजी गान्धार नरेश सुबलले दृष्टिविहीन जेठाजुका लागि उपहार दिनु परेको थियो र त्यसलाई दिदीले एउटा जीवनभरको लागि दुर्घटना सम्झेर आँखामा पट्टी बाँधेर बस्नु भएको थियो र कुरुवंशको विनाश गरेरमात्र गान्धार फर्कने वाचासहित शकुनि दाइ हस्तिनापुर दरबारमा नै अड्डा जमाएर बस्नु भएको थियो , तर देखाउन त बहिनीको मायाले बसेको भन्नुहुन्थ्यो । त्यत्रो गान्धार राज्य छोडेर बस्नुमा केही न केही रहस्य थियो भन्ने सबैले अनुमान गर्नसक्थे । मेरो त कोही पनि थिएन दरबारमा । एकजना महाराज पाण्डुमात्र मेरो हुनुहुन्थ्यो तर उहाँ पनि कता हो कता ? त्यस्तै चिन्ताले विरही भएर रोइरहेको बेलामा दिदीले थुम्थुम्याउँदै हुनुहुन्थ्यो , कतै समाचार लिएर आउने सन्देशबाहको डाँक सुनियो । बाहिर दरबाको ढोकामा त्यही भेषको मानिस देखियो । सबैमा कौतूहल देखियो । सुनका अक्षरले लेखिएको एउटा लामो पत्र थियो रेशमको लुगामा मोडिएको , भोजपत्रको परिष्कृत कागजमा लेखिएको । अत्यन्त मिहिन अक्षरमा लेखिएको । ती अक्षरहरु पक्कै महाराजका अक्षर हुन् भन्ने स्पष्ट बुझिन्थ्यो । बैठक कोठामा चिठी ल्याइयो र विदुरलाई बोलाइयो चिठी पढ्नका लागि । कारण थियो महाराज पढ्न सक्नु हुन्नथ्यो, दिदी पनि पढ्न सक्नु हुन्नथ्यो र मलाई कसैले राम्रोसँग चिनेका पनि थिएनन् । महामन्त्रीले नै युद्धका वारेमा जानकारी राख्नु जरुरी थियो र महामन्त्री विदुर स्वयं दाजु पाण्डुका वारेमा चिन्तित हुुनुहुन्थ्यो ।

मलाई चिन्ता, कौतूहल र जिज्ञासाले सताइरहेको थियो । पक्कै महाराज आउँदै हुुनुहुन्छ भन्ने आशाले र युद्धभूमिमा कति जितियो भन्ने जिज्ञासाले कतिबेर पत्र पढिने हो , मुटु धकधक भइरहेको थियो । विदुरले पत्र वाचन गर्न थाल्नु भयो । पितामह, गुरुजीहरु, भाउजु र महामन्त्री लगायतलाई शिष्टतावश सम्बोधन गर्दै मेरो लागि पनि सम्झना लेखिएको पाएँ । सुनेँ । धेरै राज्यहरु जितेर आउँदै गरेको र छिटै हस्तिनापुरमा पदार्पण गर्ने समाचारले सबैलाई खुसी तुल्यायो । अनि विदुर अलमलमा पर्दै लेखेका कुराहरु पढुँ , न पढुँ जस्तै गरी मतिर हेर्दै अनकनाउँदै चिठी वाचन गर्न अकमकाएको जस्तो लाग्यो । जेठाजुले विदुरलाई सबै खुलस्त गरी भन्न बारम्बार आदेश दिनु भयो । वास्तवमा महाराज पाण्डु भए पनि जेठाजुको आज्ञा नै कानुन थियो र पनि जेठाजुमा कृण्ठा व्याप्त थियो । जुनबेलामा महाराज हस्तिनापुरमा हुनुहुन्नथ्यो, त्यो बेलामा जेठाजु नै राजाको सम्पूर्ण अधिकार प्रयोग गर्नुहुन्थ्यो । साँच्चै राजा जस्तै व्यवहार देखिन्थ्यो । अनि भाइ तथा महामन्त्री विदुरलाई अकमकाएको देखेर आदेशको भाषामा जेठाजुले भन्नुभयो-अनि? अनि विदुरले अगाडि भन्नुभयो-हस्तिनापुरमा अर्की पनि महारानीको आगमन यही सबारीमा हुँदैछ, महाराजले मद्र देशका राजाको अनुरोध अस्वीकार गर्न नसकी मद्र राजकुमारी माद्रीलाई रानी स्वीकार गरी आजै दरबारमा प्रवेश गराउँदै हुुनुहुन्छ । सबैका लागि यो समाचार खुसी मनाउने कि बेखुसी मनाउने जस्तो देखियो । मेरालागि भने यो समाचारले अतीतका दिनमा अझ हराउनका लागि कारण बन्यो । मलाई लाग्छ, मभन्दा पनि महाराजको उमेर सायद केही कम थियो क्यारे, र राजाले धेरै रानी ल्याउने कुरा सामान्य जस्तै भए पनि सुहागरातसमेत नमनाएको अवस्थामा सौता आउनु मेरालागि खुसीको खबर पक्कै थिएन र दरबारमा दिदी गान्धारी र देवर महामन्त्री विदुरका लागि यो काम चित्तबुझ्दो थिएन जस्तो देखियो । तर जेठाजु खुसी हुनुभयो, पितामह गम्भीर हुनुभयो र गुरुहरु स्वस्तिवाचनको तयारी गर्न थाल्नुभयो । यहाँ कुरा राजाको खुसीको थियो र राजा स्वयं अर्की महारानी लिएर खुसीसाथ दरबारमा प्रवेश गर्दै हुनुहुन्थ्यो र दरबारका सबैले राजाको खुसीलाई आफ्नो खुसी सम्झने चलन जो दरबारमा हुनेगर्छ,त्यहाँ पनि त्यही भयो ।

दुर्वासा ऋषिको मन्त्रको पटक्कै जानकारी नपाएकी मलाई सूर्यसँगको साक्षात्कार जस्तै अकस्मात् नयाँ परिस्थितिको सामना गर्नु पर्ने भएको थियो । जत्ति बिर्सन खोज्यो , त्यति झन झन सम्झनु पर्ने अतीतसँग भर्खरै जस्तो साक्षात्कार गरेर मुटुको टुक्रालाई नदीमा बगाएर आएकी एउटी किशोरीमाथि सुहाग रातसमेत गर्न नभ्याएकी हस्तिनापुरकी पटरानीमाथि नयाँ सौताको पदार्पण हुनु अचिन्त्य भए पनि महाराजको खुसीलाई मैले किन अँध्यारो मुख लगाएर अलच्छिन लगाउँथे र ? मेरा आफ्ना राजा , मेरा सुहाग, मेरा भगवान सकुशल फिर्ती हुँदै गरेको समाचार नै मेरालागि भगवानको ठूलो आशीर्वाद थियो र मैले वर्तमानसँग कसरी मिलेर बाँच्ने भन्ने कुरा फेरि पत्ता लगाएँ, आविष्कार गरेँ । जीवन भनेको नै छिनछिनमा नयाँ जीवन बाँच्न नयाँ नयाँ सत्यको आविष्कार गर्दै जानु पनेँ विलक्षण समयको पुञ्ज रहेछ । नियति, कर्म र परिणामको पुञ्ज नै जीवन रहेछ भन्ने कुरा झन झन ममा गाढा हुँदै गयो त्यसदिनबाट ।

आखिर सबै खेल त्यही अपरिमित शक्तिका पुञ्ज भगवानको नै हुँदो रहेछ । तर महाराजले हामीलाई कुनै भेदभाव गर्नु भएन र मलाई नै पटरानीको रुपमा स्वीकार गर्नु भएको थियो । फरक यत्ति हो, फेरि फेरि बाहिर जाँदा माद्री नै महाराजसँग जान्थिन् । मलाई खासै बाहिर जान मन लाग्दैन थियो । बरु त्यही बालकको चासो रहन्थ्यो जसलाई मैले निर्मम भएर नदीमा बगाएकी थिएँ । सुनेँ, अधिरथको घरमा एउटा बालकलाई राधाले पालेकी छ रे कबच र कुण्डलसहितको जगमग जगमग गर्ने एउटा शिवजी जस्तै । सूर्य भगवान जस्तै । र मजस्तै । पछि भन्यो पनि युधिष्ठिरले-जब जब म कर्णका नजिक हुन्थेँ, तब तब उसका शिष्टतावश बोलिने तर घोच्ने वचनवाण सुन्नु भन्दा उसका चरणतिर ध्यान जान्थ्यो र लाग्थ्यो मैले सधैँ सेवा गर्ने चरण जस्तै यी चरण कति मिलेका मेरी माता कुन्तीसँग । आखिर किन नमिल्नु त युधिष्ठिर, ती पनि तिमीलाई पाउने आमाकै पहिलो छोरा थिए नि त ।

बिचरी द्रौपदीको याद आउँछ , जम्मा मेरा शूरवीर छोराहरुले उनको रक्षा गरेको भनेको दुईपटक मात्र हो । एकपटक वनबासका बेलामा ज्वाई जयद्रथले हरण गर्दा फर्काएको र अर्कोपटक विराटनगरमा कीचकलाई मारेर रक्षा गरेको । कीचक वध गर्दा खुल्न सक्ने अवस्था थिएन र कुनै अज्ञात यक्षले कीचकको वध गरेको मानियो रे ।

आखिर सबैभन्दा हाम्रो परिवारको नायक , भगवान, रक्षक, मार्ग निर्देशक, अभिभावक जे भने पनि हाम्रो वसुदेव दाइको छोरो कृष्ण नै हो । ऊ वास्तवमा भगवानको अवतार नै हो रे त । साँच्चै उसका भएका सबै गुणहरु संसार रक्षक भगवान विष्णुका जस्तै छन् । ब्रज र द्वारकाको सम्पूर्ण जिम्मा हुँदाहुँदै मेरा सन्तानको पक्षमा सधैँ लागी रहेको मैले नदेखेकी कहाँ हुँ र ? भगवान, रक्षक , परिपालक , सर्वव्यापी ईश्वरको याद त्यो बेलामा मात्र आउँदो रहेछ, जब दुःख आउँदो रहेछ, पर्दो रहेछ । भगवानको ध्यान गर्ने भनेको पनि दुःख निवारणका लागि मात्र हुँदो रहेछ ।

मलाई त पाइला पाइलामा दुःख पर्ने हुनाले होला, हे कृष्ण , तिम्रोमात्र याद आइरहन्छ । याद आइरहन्छ । त्यसैले मलाई दुःखले कहिल्यै छोडेन पनि , मैले पनि कृष्णलाई सम्झन छोडिन पनि । साँच्चै जब मलाई थाहा भयो, वसुदेव दाइको घरमा एउटा अद्भूत बालकको जन्म भयो भनेर, त्यसै दिनदेखि नै मेरो मानसपटलमा एउटै व्यक्ति घुमिरहेको थियो, त्यो तिमी कृष्ण नै हौ । पछि पो थाहा भयो , तिमी नारायण रहेछौ र अर्जुन नर रहेछ । नर नारायण विना यो संसार अधूरो रहने त जानेकै हो । मेरै माइतीमा भगवान मार्ग निर्देशकको जन्म भएको, अनि मेरै कोखमा नारायणको कर्तव्य पूरा गर्न नरको जन्म भएको । म कति भाग्यमानी रहेँछु त । अरु कुरामा मैले जत्ति चित्त दुखाए पनि यस कुरामा म साँच्चै भाग्यमानी नै हुँ । अहिले पनि कृष्णको धपधपी बलेको त्यो अनुहार मेरो मानसपटलमा जब आउँछ, म आफूलाई ध्यानमग्न रहेको पाउँछु र सुन्छु—फुपु, म छँदैछु नि , म छँदैछु नि । भन्थ्यो रे-म धर्मको रक्षाका लागि यो संसारमा बारम्बार आउँछु । धर्मले संसारको रक्षा गर्छ र म धर्मको रक्षा गर्छु । वास्तवमा हो पनि रहेछ । तारणहार तिमी नै रहेछौँ बाबु कृष्ण । लौकिक नाता त फुपु भदाहाको रह्यो तर तिमी नै हौ यो युगको भगवान । तिमीले नै माया रच्यौ र संसारलाई नयाँ बाटो दिलायौ । क्रमशः

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework