लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

रेखा, कोमल र करिश्मामा अल्झिएको राजनीति

बिहीबार, ३० मंसिर, २०७३ मा प्रकाशित, 1916 पटक हेरिएको

पेशल आचार्य -

जीवन ‘हार्डआर्ट’ र ‘सफ्टआर्ट’ले चल्छ । हार्डआर्ट भनेका भौतिक निर्माण सडक, रेल, प्लेन, मोटर, घडी, कम्प्युटर, केबुल कार, नहर, ओभर फ्लाई, सुरूङ मार्ग र विविध विकास हुन् । सफ्ट आर्टले जीवनका १६ कलालाई बुझाउँछन् । जसमध्ये एक अभिनय र अर्को गायन कला हो । बाँकी १४ शाखा छन् । यद्यपि ती कलाले पनि जीवनमा प्रकाश भर्दछन् ।
    सन्दर्भ, रेखा थापाको राप्रपा प्रवेश । ‘पुष्पकमल’ ओइलाउँदै जाँदा ‘कमल’ थापा हिरो भए । रेखा जहिल्यै चर्चाको इर्दगिर्दमै रमाउने नायिका । कहिले चेपाङ्का बच्चा संरक्षण लिएर, कहिले प्रचण्डसँग नाँचेर, कहिले आफूभन्दा पाका उमेरमा निर्माता÷निर्देशक छवि ओझासँगको बिहे र डिभोर्स अनि कहिले दुवै हात नभएका नायक सुदर्शन गौतमसँग ‘हिम्मतवाली’ सिनेमा खेलेर चर्चाका शिखर उक्लने प्रयास गर्छिन् ।
    नेपाली नायिकाहरूले बेलाबेला अनेक उधुम गरेर नामका लागि नाम कमाएका मात्र छैनन् तिनीहरू सिनेमाका ‘गसिप’ पनि बनेका छन् । ‘चपली हाइट’की नायिका विनीता बराल अग्र्यानिक तरकारी खेती गरेर र कहिले ‘जुइनो’ नामक उपन्यास लेखेर पत्रिका र अनलाइनमा छाइरहन्छिन् ।
    सिनेमाका कथाले मागेअनुसार जीवन र राजनीतिलाई विभिन्न उहापोहमा देखाइन्छ । अभिनय गर्दा अनेकौं रिटेक गर्दागर्दा कहिलेकाँही हिरो हिरोइनहरू राजनीतिक पहेलीहरू सिनेमाकै लागि पनि बोल्न बाध्य हुन्छन् । मसालेदार सिनेमामा त्यो फर्मूला नै हुन्छ । अनि तिनीहरूलाई लाग्दो हो –राजनीतिक कथावस्तु, पात्र, संवाद र परिवेशले नै आफ्नो सिनेमा सुपर डुपर हिट भएको हो । त्यसपछि मनोलोक निर्माण गर्ने नायक नायिकाहरूका मनमा साँच्चैको राजनीतिमा जान पाए र सत्ताका असिमित अधिकार खेलाउन पाए महान् होइँदो हो भन्ने तर्कना उठ्दा हुन् । तर नौरङ्गे परिस्थिति राजनीति र सिनेमामा एकैजस्तो हुँदैन । राजनीतिमा कसैलाई झन्डाले लोभ्याउनु पर्ने, कसैलाई डन्डाले सोझ्याउनु पर्ने हुन्छ । सिनेमामा जस्तो लाइट, क्यामेरा र एक्सनका ट्रिकले राजनीतिमा पटक्कै काम दिँदैनन् । नायक, नायिका भनेका निर्देशकका मात्र कठपुतली हुन् । आजका सिनेमामा अपराध, ग्लामर, सेक्स र राजनीति बिकेका छन् चाहे त्यो बलिवुड होस् या कलिवुडमा । कथानकअनुसार अभिनयमा कलाकार सिमित हुन्छन् । व्यावसायिक र मसालेदार सिनेमा खेलेर चर्चा, चासो र धेरै चाचा (पैसा) बटुलेँ भन्दैमा राजनीतिको ‘र’ पनि नजानेका जो कोही मनुवा राजनीतिमा छलाङ् लाउन सक्ने भए संविधान सभाको चुनावमा निर्माता÷निर्देशक उद्धव पौडेलले गगन थापाको क्षेत्रमा थापालाई चुनावमा हराउनु पर्दथ्यो । नत्र किन पौडेल आफैँ ११ सय मत मै सिमित हुन्थे ?
    कलाकारले गर्ने भन्या जीवन्त अभिनय हो जुन समाजसापेक्ष हुन्छ । रिलभित्र र रिलबाहिर पनि । अहिले देशलाई परेका बेला धुर्मुम सुन्तली जसरी समाजसेवामा आएका छन् । सिनेमा पनि खेल्दैछन् । त्यो अरू कलाकारहरूले पनि सिक्नु पथ्र्यो । मदनकृष्ण र हरिवंशको जोडी अभिनयको सगरमाथा आरोहणपछि जसरी समाजका विविध आयाममा लागि परे त्यो हाम्रा अन्य कलाकारले अध्ययन गरेको देखिएन । मह अहिले पनि फिल्म खेल्छन् । विज्ञापनमा समेत जमेका छन् । अस्पताल, बैंक, गीतसंगीतका क्षेत्र र समाजसेवामा लागेका छन् । हरेक आन्दोलनका अग्रपङ्तिमै देखिन्छन् । हुँदाहुँदा तिनले लेखकका रूपमा आफ्ना नाम लेखाउन भ्याए । हरिवंशले ‘चिना हराएको मान्छे’ नामक आत्मकथा लेखे भने मदनकृष्णको आत्मकथा चाँडै आउँदैछ भन्ने सुनिन्छ ।
    यसअघि पनि करिश्मा मानन्धर बाबुरामको नयाँ शक्तिमा प्रवेश गरी नेतृ (?) भइन् । सिनेमामा सफल भइँदैमा राजनीतिमा जमिने र राजनीतिक भूमिका अब्बल हुँदैमा सिनेमामा पसिने भए अब काँग्रेसका गगन थापा, धनराज गुरुङ, एमालेका गोकर्ण विष्ट, लालबाबु पण्डित, माओवादीका जनाद्र्धन शर्मा र टोपबहादुर रायमाझीहरूले भटाभट आफ्ना राजनीतिक शैली र विशेषताअनुसारका फिलिम खेले भयो । तर बास्तविकतामा त्यस्तो हुँदैन । सिनेमाका फर्मुला र राजनीतिका व्याकरणहरू नितान्त बेग्लै हुन्छन् । कुनै समयका अति व्यस्त हिरो, धेरै पुरस्कार तथा चर्चा पाउने नायक एवम् निर्देशक रवीन्द्र खड्का जहिल्यै काभ्रे जिल्लाबाट संसदीय चुनावमा उठ्थे र तिनको जमानत जफ्त हुन्थ्यो । जनताले किन नपत्याएका त ? उत्तर सटिक छ । किनकि ‘सबै दर्शक जनता हुन सक्छन् तर सबै जनता दर्शक हुन सक्दैनन् ।’
    यहाँनेर मानिसमा छिपेर रहेको मनोविज्ञानले सशक्तरूपमा काम गर्छ । मानिसका अनेक आग्रह, विग्रह र पूर्वाग्रहहरू हुन्छन् । मानिस सपना, जपना र विपनामा बाँच्छ । रिल लाइफ र रियल लाइफमा आकासजमिन पृथकता पाइन्छ । त्यो दर्शकलाई भलिभाँती थाहा हुन्छ । अब सिनेकर्मी र कलाकर्मीले पनि पत्तो पाए हुन्छ । नेपाली दर्शक र जनता दुवै बाठा भैसके । छनोटका हजार माध्यम छन् । आफूलाई राम्रो लागेको सुन्न, हेर्न, बोल्न र बताउन संसारैभरि देखाउन सकिने माध्यम विकास भैसके । एक क्लिक या ‘वान बटम पुस’मा आफ्ना रूचिका अनन्त ढोका खोलिदिने सञ्चारका साधनले मानिस बत्तिएको छ । हाम्रा अपठित कलाकार समग्रमा जनताका यी मानसिकता पढ्दैनन् र बुझ्दैनन् ।   
    भारतका कुनै समयका सुपर फ्लप हिरो सेखरसुमन पछि भारतीय टिभि रियालिटी सोमा गजब जमेकै हुन् । त्यसैगरी हास्य अभिनेता महमुदका छोरा जाहिज जाफरी सिनेमाभन्दा चर्चित टिभी सो ‘बुगीउगी’ कार्यक्रममा करोडौंकरोड दर्शकका प्रिय प्रस्तोता भए । बलिउड सिनेमा इतिहासले बताएको छ –‘विग वी भनिने अमिताभ बच्चन, हास्य तथा चटपटे हिरो गोविन्दा, गम्भीर नायक सुनील दत्तले पनि केही समय राजनीतिको भरेङ् चढेका हुन् ।’ डाइलग र अभिनयमा महारथ प्राप्त शत्रुघन सिन्हाचाहिँ भाजपाको राजनीतिमा कसोकसो निकै समय टिके ।
    हालै दिवंगत भएकी तमिल नाडुकी मुख्यमन्त्री जयललिता तमिल फिल्मकी सुपर हिट नायिका हुन् । उनले करिब १ सय २५ सफल फिल्ममा अभिनय गरेकी थिइन् । तमिल भाषीहरू उनलाई सम्मानपूर्वक राजनीतिमा ‘अम्मा’ भन्थे । चारपटक मुख्यमन्त्री भई विभिन्न रेकर्ड कायम गरेकी जयललिता फिल्ममा ‘पल्लवावती जयराम जय ललिता’ नामबाट राजनीतिमा आउँदा ‘जयललिता’ मात्र भइन् । उनका पिता जयराम राजनीतिज्ञ समेत थिए ।
    राजनीति अलिबढी जन्मजात, केही विरासतमा (दक्षिण एसियामा विधवा राजनीति), केही अध्ययन, केही परिस्थितिको पेलाई, केही नयाँपन र धेरै चाहिँ सपना हो । राणाराज्य विरुद्धमा कृष्णप्रसाद कोइराला नलागेका भए बीपी, मातृका र गिरिजाहरूले राजनीतिक संस्कार पाउँदैनथे । उनकै रगतको नस नातामा सायद् नबाँधिएका भए भान्जे भाइद्वय मनमोहन र भरतमोहन, नातिनी सुजाता, नातिहरू प्रकाश कोइराला, डा.सशाङ्क, डा.शेखर, पत्रकार तथा एमाले नेता कमल कोइराला र उदीयमान पनाति सिद्धार्थ कोइरालाहरू सजिलैसँग नेपाली राजनीतिमा स्थापित र आबद्ध हुने थिएनन् ।
    अझ पारिवारिक घेराका कुरा गर्दा सुशील कोइराला, अशोक कोइराला, नोना कोइराला, लीला कोइराला र अरू धेरै नामहरू जोडिन आउँछन् ।   
    नेपालीमा एउटा उखानै छ –‘देखासिकी गरिखा, आरिसे मरिजा ।’ यी बूढापाकाले त्यसै बनाएका होइनन् । समयले पेलेर अनुभवका पुञ्जबाट उखानहरू निस्कन्छन् । तिनीहरू अघिल्लो समाजका पछिल्लो समाजलाई उपहार हुन् । चाहे ती जतिसुकै कडा हुन् या नरम । भनिन्छ –‘कि पढेर जानिन्छ कि परेर ।’ अहिले रेखा थापा, करिश्मा मानन्धर र गायिका कोमल वलीहरू देखासिकीमा पेपरका हेडिङ्मा सदावहार छाउनका लागि आएका हुन् । समयान्तरमा ती आफैँ बलेँसीका पानी फोका समान हुन्छन् । तिनीहरूले देखेका छन् कि एमालेबाट विद्या भण्डारी राष्ट्राध्यक्ष र माओवादी मोर्चाबाट ओनसरी घर्ती सभामुख भएका । किन ? कसरी ? कस्तो परिस्थिति र कुन तवरले तिनीहरू तत्तत् गरिमामय पदमा पुगे त्यसको अन्तर्य हालै राप्रपा प्रवेश गरेका थापा र वली तथा केहीअघि नयाँ शक्ति प्रवेश गरेकी करिश्माले ‘नेपाली अष्टावक्र राजनीतिक पहेली’ सूक्ष्म विश्लेषण गर्ने सामथ्र्य राखेनन् । ठोकुका गररै भन्न सकिन्छ कि तिनीहरू ‘जोकका विषयातिरेक’ र ‘हल्का राजनीतिक फन्डा’ हुन पुगे जो शनैःशनैः समयान्तरमा बिलाउँछन् जसरी विख्यात नेपाली रेस्लर दि भरतबहादुर बिसुराल खेलबाट राजनीति र राजनीतिबाट खेल मै पलायन भए ।  
    अलिअघि चटपटे हिरो भूवन केसी एमालेबाट लगभग संविधान सभाको टिकट पाउने ‘सर्ट लिष्ट’मा थिए । चुनावका मुखैमा एमालेले खुट्टी देखाइदियो । उनी हिस्स भएथे । जीवनका ऊर्जाशील समय नेपाली फ्लप फिल्ममा लगानी गरेका र संख्यात्मक रूपले धेरै फिल्म निर्देशन गरेका युवाराज लामाले माओवादीको पुच्छर समातेर राखेपको सदस्य सचिव त्यसै राजेका होइनन् बरा !
    मेकअपमा सजिएर कृत्रिम फिल्मी डाइलग बोल्न जति सजिलो हुन्छ राजनीतिमा आएर फलामका च्युरा चपाउन त्योभन्दा हजार गुना गाह्रो विषय हो । भनिएको छ –‘कुराले च्युरा भिज्ने भए दही नै किन चाहियो ?’
    रेखाको राप्रपा प्रवेशलाई कलाकार दिपकराज गिरीले सटिक व्यङ्ग्यमा भने –‘टीका लगाउनेहरूलाई आफ्नो नसम्झ, टिक्नेहरूलाई आफ्नो सम्झ । फिल्म ‘माओवादी’ का ठाउँमा ‘राप्रपा’ भयो । हिरो ‘प्रचण्ड’ का ठाउँमा ‘कमल थापा’ भए ।’
    हिजोको ‘पुष्प’ क्रमशः ओइलाउँदै गएको थाहा पाएपछि ‘कमल’ रोजिएको हो । कार्यकर्ता र संगठन दह्रो भएका पार्टीमा कलाकारको आवश्यकतै पर्दैन । कलाकारको ठाउँ कलामै हो । हुन पनि एमालेले पार्टी प्रवेश र नयाँ सदस्यताका लागि परीक्षाको व्यवस्था गरेको छ । ‘बोकाले दाइँ हुने भए गोरुको आवश्कता नै पर्दैन ।’ यस्तैयस्तै उखानहरू कलाकारले ठाउँकुठाउँ र असमय राजनीति गर्नुसँग गाँसिएर आउँछन् । रेखा, वली र करिश्माका बारेमा यही उखान आकर्षित हुन्छ । कि कसो ?  
                    

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.