लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

महाभारतकी कुन्ती—५

आइतबार, ३ पुष, २०७३ मा प्रकाशित, 2571 पटक हेरिएको

हामी गाईलाई गौमाताको रुपमा पूजा गथ्र्यौँ । माइती ब्रजमा , मथुरामा त्यसबेला ९ लाख गाई थिए रे हामी गाईका धनी । हामी शान्त स्वभावका यादवहरु, गौमाताको सेवा गरेर दूध , दही, घिउ, कुराउनी , मोही , दूधको तर खाएर हुर्किएका थियौँ ।

हरिविनोद अधिकारी -

धेरै राजाहरु, युवराजहरु र राजकुमारहरु र प्रतिस्पर्धी युवाहरु मेरो स्वयंवरमा जम्मा भएका थिए । खासगरी हामी यादवहरु,वृष्णिवंशीहरुको धन भनेको गाई नै हुन् । हामी गाईलाई गौमाताको रुपमा पूजा गथ्र्यौँ । माइती ब्रजमा , मथुरामा  त्यसबेला ९ लाख गाई थिए रे  हामी गाईका धनी । हामी शान्त स्वभावका यादवहरु, गौमाताको सेवा गरेर दूध , दही, घिउ, कुराउनी , मोही , दूधको तर खाएर हुर्किएका थियौँ ।
फरक के थियो भने कुन्तीभोज काकाको राज्य हाम्रा पिता शूरसेनको भन्दा धेरै फराकिलो थियो । राज्य त चक्रवर्ती राजाको अधीनमा हुन्थ्यो तर चक्रवर्तीलाई कर दिए पुग्थ्यो । खासमा चक्रवर्तीले राज्य आफैँले चलाउने होइनन्, बरु अरु राजाको अधीनमा नजाऊन् भनेर अधीनस्थ गरेका मात्र हुन्थे । पाण्डु पनि कुरुराज्यका राज्याधिपति थिए, महाराजा थिए र महाराजाका पनि राजा चक्रवर्ती थिए । पाण्डुले नै धेरै राज्य जितेको भन्थे । पाण्डुलाई चलाउनु भनेको अरिङ्गालको गोलामा ढुङ्गा हान्नु जस्तै हो भन्थे । राज्य विस्तार नै पाण्डुको ध्याउन्न थियो भन्ने पनि सुनिएको थियो ।
मेरो स्वयंवर गर्ने भनेर काकाले वा भनौँ बाबा कुन्तीभोजले जब घोषणा गर्नुभयो ।

हस्तिनापुरका चक्रवर्ती राजा स्वयंले त्यहाँ जाने निर्णय गरेपछि उहाँका पितामह देवव्रत भीष्मले  मलाई पाण्डुका लागि बिवाह गरिदिने इच्छा गरेपछि पाण्डु राजी हुनु भयो ।  राज्य विस्तारका लागि युद्धरत महाराज स्वयंवरका दिन नै आउने खबर आएको थियो । भन्नचाहिँ के पनि भन्थे हाम्रो दरबारमा पनि कि यदु र पुरु दाजु भाइ थिए  ।  हाम्रा माइती खलकचाहिँ यदुका खलक ।  कुरुवंशीहरुचाहिँ पुरुका सन्तान , जसले साँच्चै राज्य सञ्चालन गर्नुभएके थियो ।  भीष्मव्रतधारी देवव्रतको स्वयं पाण्डु नै स्वयंवरमा आउने खबर आयो ।  भनौँ आदेश आयो । हाम्रो दरबारमा खु्सीको सीमा नै रहेन । मानौँ स्वयं बैकुण्ठबासी विष्णु नै आउने जस्तो , स्वयं कैलाशपति शिव नै आउने  जस्तो भयो । वरु स्वर्गका राजा इन्द्र आउने भनेको भए हामीलाई त्यति खुसी लाग्दैन थ्यो, होला तर पाण्डु आउने भनेपछि , भीष्मले हाम्रो दरबारमा हुने स्वंयंवरमा भाग लिने भनेपछि सबैतिर खुसी छाएको थियो । अरु राजा वा युवराज वा राजकुमार वा क्षेत्रीय कुमारहरुको त्यहाँ कुनै वास्ता नै नगरिएको म अनुमान लगाउँथे । अरु पनि आउने र निम्ता स्वीकार गरेकाले खबर पठाउँथे विभिन्न उपहारसहित । उनीहरु हाम्रो राज्यसँग सम्बन्ध बढाउन पाउने हौँ कि भनेर गौरवान्वित थिए ।

कुन्तीभोजले निम्ता पठाएकाले नै उनीहरु गर्व गर्दै थिए  । तर अब तिनीहरुको कसलाई वास्ता थियो र ? हस्तिनापुरका अतिथि नै स्वय भोलिका ज्वाइँ र सम्बन्धी हुन् भन्ने सबैले मानेका थिए । हाम्रो दरबारमा कोही पनि महातूफानसँग भिड्न चाहँदैन थिए । बरु उनीहरुको माग बमोजिम मलाई उनीहरुको जिम्मा लगाउँदा इज्जतमा इज्जत, सुरक्षामा सुरक्षा र भोलि वृष्णिवंशको एउटा शाखा चक्रवर्ती महाराज हुनेछ भन्ने भविष्यको सुन्दरतम परिणामको उज्ज्वल सपना ।
त्यो बेलामा स्वयं राजा वा उनको प्रतिनिधि आएर पनि कन्या माग्ने चलन थियो । स्वयं भीष्मले काशीराजका तीनओटी छोरीहरुको स्वयंवरमा गएर आफ्ना असक्त भाइ विचित्रवीर्यका लागि कन्या हरेर ल्याएको कथा हाम्रो ब्रजमा कहाली लाग्दो तरिकाले भनिन्थ्यो र हस्तिनापुरमा छोराहरुको कमी भएकोले कुरुवंश नै धिपधिप धिपधिप धरापमा परेको सुनेकी थिएँ ।

काशीराजका छोरीहरुमध्ये जेठी अम्बाले भीष्मका कुनै पनि भाइलाई मन पराइनन् भन्दा पनि अर्कै राजालाई मनपराएकीले उतै लगिदिन अनुरोध गरिन्  । लौ त भनेर विचित्रवीर्य नामको एउटा भाइका लागि दुईओटी कन्या अम्बिका र अम्बालिका भए पुग्यो भनेर अम्बालाई फिर्ता पठाएको कथा सुनेकी थिएँ । न त अर्कोराजाले स्वीकार गरे , न त फर्केर आएकी अम्बालाई हस्तिनापुरमा नै स्वीकार गरियो । अम्बा अलि बढी नै नारी हकका कुरा गर्ने हुनाले भीष्मलाई नै पतिको रुपमा स्वीकार गर्न चाहेकी थिइन् रे किनभने मेरो विवाह हुन लागेको छ भन्दाभन्दै किन मलाई हरण गरेको , त्यसैले जसले मलाई हरण गरेर ल्याएको हो , उसैले स्वीकार गर्नुपर्छ भन्ने जिरह थियो रे । हुन त त्यो जिरह पनि ठिकै थियो तर भीष्मका लागि भने त्यो सुहाउने कुरा किन भएन भने उहाँले विवाह नै नगर्ने र राज्यको कुनै पनि प्रकारको दाबी नगर्ने भनेर शपथ खाएरमात्र पिता शान्तनुको विवाह गराउनु भएको थियो रे सत्यवती महारानीसँग भन्ने सुनेकी थिएँ ।  हुन त सत्यवती महारानीको नाम पहिले त मत्स्यगन्धा थियो । जब पराशर ऋषिसँग उहाँको समागम भयो र व्यास कृष्ण जन्मिए, अनि उहाँको माछाको गन्ध सुवासमा बदलिएर योजनागन्धा अर्थात् चारकोशसम्म सुवास वास्ना आउने भएको  । के ठीक हो , होइन , कसले कसलाई सोध्नु र हस्तिनापुरमा पछि । कस्का हिम्मत थिए र हजुर राजमातासँग दोहोरो कुरा गर्ने ? भीष्म र व्यासबाहेक अरु कसैले के भन्न सक्नु र ? हाम्रा सासुहरु त सासले बोल्थे पछिसम्म । जब अम्बाको कुनै सुनुवाइ भएन , त्यसपछि उनले भीष्मका गुरु परशुरामसँग सहयोग मागिछन् रे र परशुरामले भीष्मलाई या त अम्बालाई स्वीकार गर या मसँग लडाईँ गर भन्दा परशुरामको नाममा नै शपथ खाँदै युद्ध पो भयो रे गुरु चेलाको । भीष्मले भन्नु भयो । गुरु यदि फर्केर जान्छु नभनेको भए म विचित्रवीर्यसँगै उनको विवाह गरिदिने थिएँ तर मेरो कुरा नमानी फर्केर गएपछि मैले कसरी स्वीकार गर्ने ? म विहे गर्ने होइन, भाइलाई पनि कसरी विवाह गर भनौँ अर्काले छोडेकी राजकुमारीलाई । अनि लडाईँ साँच्चै भयो आपसमा । भीष्मको जीत भयो, तर गुरुको आदेश भीष्मले मानेनन् भन्ने सुनियो । पछि ती कन्याले आमरण व्रत लिएर वरदान पाएकी थिइन् रे अर्को जुनी पाएर मैले नै भीष्मको मृत्यु गराउन सकूँ ।  मार्न सकूँ । अनि ती मेरी सासूकी जेठी दिदी कतै जन्मेकी होलिन् भनेर पितामहले बढी नै वास्ता गरेको पाएकी थिएँँ र एकदिन खासखुस के सुनेँ भने राजा द्रुपदका घरमा एउटा क्लीवको जन्म भएको छ ।  राजा द्रुपद त्यसलाई छोरो नै भनेर हुर्काउँदै छन्  । क्लीव न छोरो हो, न छोरी हो । तर दुवैका गुणहरु हुने रहेछन् । पछि त्यसैको नाम शिखण्डी भनेर भनेछन् । पछि त्यही बालक भनौँ वा बालिका तर बालकको भेषमा हाम्रै द्रोणाचार्यको गुरुकुलमा शस्त्रास्त्र र शास्त्र पढ्न आएको थियो रे र भन्थ्यो रे कि यिनकै दरबारमा पढेर र सिकेर पछि यिनलाई नै मार्ने हो । अचम्भ , पितामहलाई यो कुरो गोप्यरुपमा जासुसले सुनाउँथे र भीष्मले भन्ने के रे भने मेरो कर्ममा नै लेखेको भए त्यस्तै होला ।

जे लेखेको छ , त्यो भएर नै छोड्छ । म त नियतिले डो¥याएर यहाँसम्म ल्याएको मान्छे भन्नुहुन्थ्ये । तर म स्त्री, निहत्था व्यक्ति , ब्राह्मण र भोकाएको माग्नेलाई कुनै पनि हालतमा शस्त्र चलाउँदिन । त्यही अम्बा नै अर्को जन्म लिएर द्रौपदीकी दिदी वा दाजु भएर आएकी थिइन् कि थिइनन् , त्यो त म कसरी थाहा पाऊँ तर भन्थे त्यस्तै । एकदिन पाञ्चाल राजकुमार धृष्टद्युम्नले पनि युधिष्ठिरलाई भन्थे रे गुरुकुलमा द्रौपदीसँग विवाह नहुँदे । हेर युधिष्ठिर , म यिनै द्रोणसँग शस्त्र, अस्त्र सिकेर एकदिन यिनैलाई मार्ने हो किनभने यिनले मेरो पिताजीको आधा राज्य लिएका छन् ,पिताजीलाई अपमान गरेका छन् र त्यसकै प्रतिशोधमा यज्ञ गर्दा प्रतिफलमा म अयोनिजा जन्मेको हुँ यज्ञ कुण्डबाटै । मेरी बहिनी पनि यो कुललाई समाप्त गर्न नै जन्मेकी छिन् यज्ञ कुण्डबाटै । युधिष्ठिर दिउँसभरिको कुरा साँझमा आएर मलाई भन्थ्यो रिट्ठो नबिराइकन ।
को होला भनेर भन्दै थिएँ एकदिन म नै तिनीहरुको कुटुम्ब बनेँ । कृष्णा नै ती छोरी रहिछन् द्रुपद राजाको , धुष्टद्युम्न नै रहेछ द्रोणाचार्यको टाउको काटेर टाउको हातमा लिएर बौलाहा जस्तै खुसीले युद्धभूमिमा नाच्ने । मेरी बुहारी द्रौपदीका वारेमा यति त थाहा थियो तर मेरै बुहारी भएर एकदिन हामी लुकेर बसेको बेलामा छोराहरुले प्रतिस्पर्धा जितेर स्वयंवरमार्फत बुहारी लिएर आउलान् भन्ने कसरी थाहा पाऊँ । भन्दिएँँ , मैले पनि बाँडेर खाओ है जे ल्याएको छ । भन्न पनि युधिष्ठिर भनेको थियो —आमा , हामीले के ल्याएका छौँ हेर्नुस् त ? अनि मैले पनि भनेकै हो —जे ल्याएका हौँ , बाँडेर खाओ । हेरेकै थिएन , त्यसै आवाजको भरम भनेँ । हेर्छु त राजकन्या अचम्भ मानेर मतिर र मेरा छोराहरुतिर पाल्याक पुलुक हेरिरहेकी । कुरा नबुझेर । के भनेको होला भनेर नबुझिकन ।
हो , त्यस्ता भीष्मले स्वयंवरमा महाराज पाण्डुलाई नै पठाउने भएपछि त कुरै सिद्धियो । अरु राजाहरुको  त कुनै भाउ नै भएन । यदि मैले कुनै कारणले पाण्डुलाई वरण गरिन भने आउने दशा हामी सबैलाई थाहा थियो जस्तो कि काशीराजको दरबारमा भएको थियो , र अम्बाको अवस्था जो सुनेकै थियौँ ।

के के सम्झना आएको हो, जीवनको अन्तिम क्षणमा, आरोह अवरोहको अँध्यारो र उज्यालो क्षणको ।  त्यो पनि यो अन्तिम बेलामा । दिदीलाई र जेठाजुलाई केही थाहा पनि छैन । तर म किन हो, पुराना सम्झनामा बढी नै केन्द्रित हुन लागेकी हुँ । स्वयंवर गर्नु मेरो कर्तव्यमात्र होइन , हाम्रो राज्यको सुरक्षाको पनि कुरा थियो । नाता बढाए राज्य पनि सुरक्षित, आफू पनि महारानी हुने, त्यो पनि बडामहारानी । सुने अनुसार अहिलेसम्म पाण्डुको बिहे पनि भएको थिएन । अनि एक कुमारीलाई चक्रवर्तीकी पटरानी हुन पाउनु  , संसारमा पाइने सबै सुख भोग गर्न पाइने अनि आफ्नू सन्तान राजा हुन पाउने । एक राजदुहिताका लागि योभन्दा अर्को कुनै सौभाग्य कहाँ मिल्छ र ? मलाई मिल्यो त्यो सौभाग्य । पछि भदैलाई पनि अर्जुनले बिहे ग¥यो , त्यो अलि अमेल थियो नाताका कारणले तर जे भयो भयो भनेर हामीले मन नलागी नलागी स्वीकार गरेका थियौँ । बलरामले त मान्ने थिएन होला, तर त्यो बेलामा बलराम घरमा थिएनन्  ।

फेरि कर्ण नै आउँछ मेरो मनमा । पहिलो सन्तानको सम्झना साँच्चै बढी नै हुने रहेछ । भन्थे बसुसेण वा वसुसेन जे भने पनि साह्रै बलवान थियो । त्यसमा पहिले देखि नै विद्रोही स्वभावको भयोे । जे चाहने हो , पूरा गरेरै छाड्ने । सानैमा साँढेसँग जुध्यो, तर साँढेको सिंग नै उखेल्यो । वर्षा ऋतुको उत्तल जमुनाजीमा एकपटक पनि नअडिई वार पार गथ्र्यो । सत्य र सूर्यवाहेक कोहीसँग पनि डर लाग्दैन भन्थ्यो रे । भनेछ नि युधिष्ठिरले जब उसले मबाट थाहा पायो कि कर्ण तिमीहरुको ठूलो दाजु हो , अनि मसँग कहिल्यै नरिसाउने छोरो धर्मराज, त्यो दिन रिसायो मात्र होइन कि श्राप पो दियो—मेरी आमाले मजस्तो छोरालाई पनि नभनेर आज आफ्नै दाजुको हत्या हाम्रै हातबाट गराउनु भयो , त्यसैले यसरी गोप्यता राख्ने स्वभाव अब महिलामा नरहोस् र कुरा एकछिन पनि घाँटीमा नअडियोस् । जे सुनेको छ, जे भोगेको छ , तत्काल कण्ठबाट बाहिर आइहालोस् ।

हुन त यो श्राप सबै स्त्रीजातिलाई थियो तर त्यसले मलाई नै धेरै पोल्यो किनभने आफ्नै छोराको हातबाट आफ्नै छोराको हत्या भएको थियो र म चुपचाप सहेर बसेकी थिएँ । इज्जत कस्तो विडम्बनायुक्त । देखावटी इज्जत मेरोमात्र त होइन तर मेरो त सँसार एकछिनमा नै समाप्त भएको थियो किनभने कर्णले वीरगति प्राप्त गरेको थियो अर्जुनबाट । कर्णले पनि मेरो साह्रै मनपरेको नाति घटोत्कचको हत्या गरेको थियो । बाबुले छोराको हत्या, भाइले दाजुको हत्या । मेरै नियतिमा यस्तो लेखेको । अरुका सन्तानसँगै मेरा पनि समाप्त भए । अर्जुन र सुभद्रा पुत्र मारियो धेरै महारथीबाट घेरिएर एक्लो निहत्था अभिमन्यु मारियो । मेरै जीवन कालमा मलाई छोडेर  गयो । द्रौपदीका सबै छोरा मारिए, गुरु द्रोणाचार्य मारिनु भयो , भीष्म महायात्रामा प्रस्थान गर्नुभयो आफ्नो इच्छामृत्यु हुने महापुरुष पनि जानु प¥यो यो संसार छोडेर । अनि मेरा छोरा र जेठाजुका छोराहरु लडाइँ गरिरहेका बेलामा भने म हस्तिनापुरको दरबारमा थिएँ सञ्जयको युद्धको प्रत्यक्ष विवरण सुनेर बसेकी , त्यो पनि लुकेर सुनेकी थिएँ । व्यासले दिव्य दुष्टि दिनु भएके थियो जेठाजुलाई युद्धको जानकारी दिन । जेठाजु देखाउनचाहिँ निष्पक्ष देखिन खोज्नु हुन्थ्यो तर जब युद्धमा अर्जुन सबै अस्त्र शस्त्र छोडेर कृष्णसँग भन्दै थियो—कृष्ण, म अब युद्ध गर्दिन किनभने यसबाट मलाई न वरत्र बन्छ , न परत्र बन्छ । मलाई यो युद्ध जित्नु छैन । मलाई यस्तो युद्ध जितेर प्राप्त हुने राज्य चाहिएन । बरु दुर्योधनले नै खाओस् यो देश ।  अर्जुन खोइ के के भन्दैथियो क्या रे— गुरु मारेर, गुरुपुत्र मारेर, पितामह मारेर , भाइ , ज्वाईँ , मामा, साला , ससुरा , भतिजा, नाति मारेर मलाई किन चाहियो यो राज्य ? पनि भन्दैथियो । त्यो बेलामा मलाई लागेको थियो —यत्रो तपस्या गरेर सुरु भएको धर्मयुद्ध साँच्चै छोड्छ कि क्या हो ? तर जेठाजु बडो खुसी भएर भन्दै हुुनुहुन्थ्यो—वास्तवमा यो अर्जुन त  युधिष्ठिरभन्दा पनि ज्ञानी निस्कियो हगि सञ्जय । एकदम ठिक भनेको हो यसले । अरु के के भन्यो रे भन त सञ्जय ? मैले धेरै कुरा बुझिन पनि पर्दाभित्रबाट सञ्जय र जेठाजुको वार्तालाप मात्र सुन्थेँ । दिदी र जेठाजुलाई सुनाउन त्यो दिव्य क्षमता सञ्जयलाई व्यासले दिनु भएको थियो तर मलाई एउटा पक्का के थाहा थियो भने कृष्णलाई यो कुरा मन परेको थिएन होला र उसले पक्कै पनि धर्मयुद्धका विपक्षमा अर्जृनको तर्क अरण्यरोदन साबित हुनेछ ।

जब लडाईँ हुने नै भयो भनेर भन्न थालियो , युधिष्ठिरका तर्फबाट अर्जुन र धृतराष्ट्रका तर्फबाट दुर्योधन मेरो माइतीमा गएका थिए रे । पहिलेभन्दा पछि साँच्चै यदुकुल परिमार्जित भएको थियो । कंश र जरासन्धसँग लड्नका लागि नारायणी सेना नै तयार थियो । वृष्णिवंशीहरुको ठूलो लहरोलाई कृष्णले संयोजित गरेको थियो र स्वयं कृष्ण नै आफैँ सेना र यदुवंशीको नायक थियो । दुर्योधनले दिदीलाई सुनाएको थियो रे —दुर्योधन पहिले पुगेको थियो रे कृष्णको शयनकक्षमा । कृष्ण सुतेकै थियो रे र अर्जुन त्यसपछि पुगेछ रे । दुर्योधन टाउकातिर उभिएको थियो रे र अर्जुन चरणमुनि बसेको थियो रे । किनभने सबैले भन्ने गर्छन अर्जुन नरको अवतार हो र कृष्ण नारायणको अवतार हो । खोइ के हो मलाई थाहा छैन अझै पनि ।तर कृष्णको आँखा खुल्दा अर्जुनलाई देखेपछि सोध्यो रे —पार्थ , तिमी किन आयौ ? कहिले आयौ ? मैले के गर्नुप¥यो ? अनि अर्जुनले युधिष्ठिरको सन्देश दिँदै भनेछ— महामने, म हजुरसँग अब हुने धर्मयुद्धमा सहयोगको याचना गर्न युधिष्ठिरका तर्फबाट आएको । अनि दुर्योधनले हत्तनपत्त करायो रे— हे यादवकुल शिरोमणि कृष्ण, म पनि यहाँ छु है धृतराष्ट्रको तर्फबाट अब हुने न्यायका लागिको लडार्इँमा हामीलाई सहयोग गर्नुप¥यो भनेर कुरु नरेशको सन्देश लिएर आएको छु ।  कृष्णले भन्यो रे— मसँग नारायणी सेना अवश्य छ तर मेरो एउटा शर्त छ , तयो के भने म हतियार पनि उठाउँदिन, आफ्नाका विरुद्ध मलाई लड्नु पनि छैन । तिमीहरु दुवैजना मेरा सम्बन्धी हौ । अर्जुन त एकातिर भानिज भाइ, अर्कोतिर ज्वार्इँ पनि हुन् । तर म र नारायणी सेना कुन कसलाई चाहिने हो, मलाई भन । तत्काल दुर्योधनले कराएर भनेछ रे —म पहिले आएको , म राजाको प्रतिनिधि र पछि हुने राजा पनि हुँ । मलाई त नारायणी सेना नै चाहिन्छ । अर्जुनले भनेछ रे — ठिक छ दुर्योधन, मैले नारायणी चाहेको पनि छैन , मलाई कृष्ण भए पुग्छ । हतियार नचलाउने कृष्ण त सँसारमा सबैभन्दा अमूल्य र अप्राप्ति हो । दुर्योधन एकदम खुसी भएर धेरै उपहार पनि दिएर आएछ हाम्रा माइतीमा । सबै खुसी थिए रे । भन्थ्यो रे दिदीलाई दुर्योधनले कि कसो नारायणी सेना अर्जुनले मागेनन् ।

मैले पहिले आएको र दाजु भएकाले आफ्नो हक पहिले लाग्छ भनेँ अनि नारायणी सेना  हाम्रो पक्षमा आउने पक्का भयो । अनि दिदीले मसँग त्यसको वारेमा टिप्पणी गर्न भन्नुभयो , अनि मैले भनेँ — नारायणी सेनाले त संसार नै सखाप पार्छन । मेरा माइतीहरु पनि बाँडिए छन् दुईतिर । दिदी सक्नुहुन्छ भने यो कुलनाशलाई रोक्नुस् , मेरो टिप्पणीभन्दा पनि तपाईँको क्षमताको प्रयोग गर्नुस् । दिदी खुइय् गर्दै रुँदै आफ्ना खोपीभित्र जानु भयो तर जेठाजुमा त्यो सन्देशले साह्रै खुसी छाएको थियो र भन्नु पनि भयो रे एक्लो कृष्णले के पो गर्नसक्छ र ? त्यसैले मलाई लागेको थियो कि कृष्ण लडार्इँको पक्षमा छ र अर्जुनले जे जे भने पनि लडाईँ हुने नै भयो । तर जेठाजुको प्रतिनिधिको रुपमा दुर्योधन थियो भने अधिकारको पक्षमा मेरा छोराहरु लड्दै थिए । मलाई थाहा थियो यो कुलनाशको आधार हो तर कस्को के लाग्छ र यदि नियतिले नै यसै गर्न भनेर अह्राएपछि । भन्यो रे कृष्णले कि तिमी किन लाछी भएर यो नाटक देखाउन थालेको ? भन्यो रे कृष्णले त्यही धर्मयुद्धमा कि .........(क्रमशः )

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework