लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

'बुमर्याङ्' मा परेका प्रचण्ड

मंगलबार, ५ पुष, २०७३ मा प्रकाशित, 3713 पटक हेरिएको

प्रधानमन्त्रीको सम्पत्ति प्रकरणले यतिखेर जगत हँसाउने काम गरेको छ । कार्टुनिष्ट रवीन सायमीले प्रतीकार्थमा पुगेर सो विवरणको व्यङ्ग्य गर्दै कार्टुन बनाए । सम्पत्ति ‘हात्ती’ जत्रो तर विवरण ‘पुच्छर’ मात्रै ।

पेशल आचार्य -

‘सम्पत्तिमा सबैको हाईहाई विपत्तिमा कोही छैनन् दाजुभाइ’ – भन्ने पुरानो नेपाली उखानले नयाँ अर्थमा सार्थकता पाएको छ । हालै जारी गरिएको देशका सर्वोच्च कार्यकारी प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरणसँग सो उखान दाँज्दै सबै नेपालीलाई एकपल्ट घोत्लिएर सोच्न बाध्य बनायो । उखानले ‘सम्पत्ति हुँदा मानिस हाईहाई हुने र विपत्तिमा एक्लो हुने’ कुरा अथ्र्याउँछ । यतिखेर प्रचण्ड सम्पत्ति नदेखाउँदा आलोच्य बनेका छन् । हुन त उनले आफूसँग भएका चलअचल सबै सम्पत्ति देखाएकै भए पनि सुख हुने थिएन । देखाउँदा एक दुःख हुन्थ्यो भने नदेखाउँदा सय दुःख भएका छन् ।

ठूला मान्छेलाई कसै गरे पनि सुख छैन । ठूलो हुन सजिलो तर ठूलो भई टिकीरहन गाह्रो । संसारमा पैसाका कारण धेरै मानिस बिग्रेका छन् । धन्न प्रचण्ड चाहिँ बिग्रेका रहेनछन् । ‘पावर,’ ‘मनी,’ र ‘सेक्स’ मा मानव मात्र नभएर महामानव पनि फँसेका छन् । ‘धन देखेपछि महादेवका पनि तीन नेत्र’ त्यसै भनिएको होइन । नभएको सम्पत्ति प्रचण्डले के देखाऊन बरा ! थिएन, देखाएनन् । ठीकै त भो । भा’को भए देखाउँथे । सम्पत्ति सिद्धिँदै गएकाले रेखा थापाले समेत उनको साथ छाडिन् । यो सम्पत्ति भन्ने वस्तु देखाउँदा पनि सुख नहुने नदेखाउँदा पनि सुख नहुने । यो चिजै यस्तै हो –चञ्चला लक्ष्मी ।

कतिपय मानिस भन्छन् –‘सम्पत्ति नै नभएका त कहाँ हुन् र प्रधानमन्त्री । डा. बाबुरामसँग हिसाब नमिलेरै फुटेका हुन्’ भन्ने अन्तर्यका गुत्थी क्रमशः बाहिर आउँदै छन् । जातीय राज्यको दौडमा जुँगाको छँटाइ र कुमको हल्लाइमा जादुगरी काइदा राख्ने, खानपिन अनि व्यक्तित्वमा कुलीन जीवनशैली अख्तिायार गर्ने र ‘सर्वहाराका मसिहा’ विशेषणले विभूषित माओवादी सुप्रिमो तथा प्रधानमन्त्री सम्पत्ति विवरणले देखाएझैँ कङ्गाल भने होइनन् । यिनले सम्पत्ति लुकाइदिँदा यिनका व्यापारिक साझेदारहरूलाई हुनसम्म फाइदा भा’को छ ।’ कत्रो क्यारिस्मेटिक पर्सन्यालिटी छ –उनको । लैनचौरको आलिसान महलमा सपरिवार विराजमान गर्छन् जसको भाडा मात्रै महिनाको डेढ लाख छ । जाबो ३ तोला सुन र डेढ कठ्ठा घडेरी यिनका देखाउने दाँत मात्र हुन् । चपाउने ‘कुकुर बङ्गारा’हरू त अज्ञात छन् ।

दुःखी रै’छन् विचरा प्रचण्ड ! यिनको जीवनलाई सुखले भाग गर्ने हो भने दुःख नै धेरै भाग फलमा आउँछ । गएका बीस वर्षमध्ये दस वर्ष जति भूमिगत सुख भोगे पनि २०६२ यताका एघार वर्ष भने दुःखका सुनामीमा फँसेका देखिए । अझ यिनी फुट र गुटको राजनीतिक घेराबन्दीमा एक्लो बन्दीझैँ पर्दै गएका छन् । बूढा वैद्य र प्रौढोन्मुख बाबुराम बाहिरिएपछि यिनी दुःखी हुँदै गएका हुन् । ‘ओरालो लाग्या मिर्गलाई बाछाले पनि खेद्छ’ भनेझैँ अहिले उनका अनुज रायमाझी पनि प्रदेश सवालमा टेर्न छाडी सके ।

प्रचण्डको पहिलो दुःख, उनले नदेखाएको सम्पत्ति जसजसका नाममा छ उनीहरूले नै भागशान्ति ‘जय नेपाल’ गरिदेलान् भन्ने मारमा छन् । दोस्रो, उनकै घर परिवारमा भएको शान्ति सम्पत्ति सार्वजनिक भएपछि यथास्थितिमा ‘बर्करार’ रहन पनि सक्दैन । सीता भाउजूले उनसँग निहूँ खोज्न सक्छिन् । तेस्रो, उनीपछि बन्ने सरकारले उनको देखाएभन्दा बढी भएको सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गरिदियो भने बुढ्यौलीमा पुगेका ‘सीता–जोइपोइ’का गृहमा कलह नपस्ला भन्न सकिन्नँ ।  भ्रष्टाचार निवारण ऐनले सार्वजनिक पद धारण गरेका व्यक्तिले पद बहाली गरेका तीन महिनाभित्र आफ्नो र एकाघर सगोल परिवारका सदस्यको सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रावधान तोकेको छ ।

जवाफदेहिता र पारदर्शिता सिद्धान्तको मर्म विपरीत ‘म्याद गुजारेर’ ढिलो गरी आएको प्रमको सम्पत्ति विवरणले विचरा प्रचण्डलाई एकाएक विवादका घेरामा पा¥यो । एकातिर संविधान संशोधनको डंका र अर्कातिर प्रदेश विभाजनको रन्का छुटेर वातावरण उल्टो दिशातर्फ गइरहेका बेला जारी भएको सम्पत्ति विवरणले उनको राजनीतिक छविलाई झन् सकसमा ल्याएको छ ।
सार्वजनिक जीवन बिताउने मानिसले जे गरे पनि मन शान्त नहुने ।  सम्पत्ति विवरण दिएका प्रधानमन्त्रीले जति थोरै सम्पत्ति देखाए त्यसबाट आम नेपाली चकित परे । प्रचण्ड जति भावुक लाग्छन् उति नै हासपरिहास प्रिय देखिए । जनता प्रचण्डको धेरै सम्पत्ति हुनु पर्ने हो भन्दा हूनन् । हुन पनि नेपालमा सार्वजनिक जीवनयापन गरेका अधिकांश मानिसका चलअचल सम्पत्ति धेरै देखिएका छन् । चप्पल लगाएर काठमाडौँ छिर्ने सबै नेताका राजधानीमा आलिसान महल नभएका होइनन् । सम्पत्तिका मामलामा काँग्रेस, एमाले र मधेशवादी दलका सबै नेतासमेत पानी माथिका ओभाना बनेका छन् ।

‘क्यान्टोन्मेन्टको हिसाब गोलमालमा यदि प्रचण्डले कमाउन नसकेकै हो भने दुईदुई चोटी प्रम हुँदासमेत मौका सदुपयोग गर्न सकेनछन् भन्नु प¥यो । त्यसैले अब उनलाई तेस्रो चोटी प्रम हुने चान्स दिनुपर्छ ।’ यस्ता झिना आवाजहरू पनि उनको जारी भएको सम्पत्तिविवरण पछि सुनिन थालेका छन् ।‘अवसरले मानिसका जीवनमा एकपटक मात्र आएर ढोकामै दस्तक दिन्छ ।  उसले सूचना बुझ्न सक्यो भने जीवन सफल हुन्छ नत्र जीवनभर पछुताइरहनु पर्छ ।’ यो कुरा अहिले प्रचण्डमा लागू भैदियो । नौ महिना अवधि तोकी दिल्ली रिझाएर बनेको सरकारमा प्रमुख मोनिटर नियुक्ति पाएको व्यक्तिका पालामा भएको एउटा गतिलो काम काठमाडौँलाई अँध्यारो मुक्त बनाएको भने हो । लोकमानका  गैह्रकानुनी ‘दादागिरी’का समाचारले तताएको राजनीति कुलमानका उज्लालो ‘भिजन’ भएका समाचारले भने जितेकै हो । यस मानेमा प्रचण्डलाई साधुवाद भन्नेपर्छ ।

सिष्टम नभा’को देशमा व्यक्तिको कामको पनि मूल्याङ्कन हुने गर्छ । धनी र विकसित देशमा सिष्टममा सबै जनता क्रियाशील हुने हुँदा त्यहाँ व्यक्ति जोसुकै आओस् कि जाओस् माने मतलब हुन्न । हाम्राजस्ता देशमा सिष्टम बिगार्ने भनेकै नेता हुन् । अनि राम्रा व्यक्तिका कारण मानिसहरूमा आसाको सञ्चार जागृत हुने गर्दो रहेछ । कुलमानका हकमा भएको त्यही हो ।
‘सार्वजनिक भएभन्दा मेरो बढी सम्पत्ति छैन । यदि कसैले देखाइदिन सक्छ भने त्यो राष्ट्रको हुन्छ’ भन्ने भनाइ प्रचण्डको आएको छ । जसरी विवरण प्रस्तुत गर्दा प्रचण्ड ‘दन्त्य कथाको चक्चके बाँदरले काठ चिर्ने धरिनमा राखेको काठको फेसो निकालेर फ्ँयाक्दा अण्डकोश चेपिएर आफैँ भुतुक्कै मरेको थियो रे ! त्यसैगरी कथाझैँ प्रधानमन्त्री ‘बुम¥याङ्’ मा परेका छन् ।
भनिन्छ, मानिसले एउटा गल्ती ढाकछोप गर्न सैंयौं गल्ती बोल्नु पर्ने हुन्छ ।

बच्चाबच्चालाई थाहा छ, प्रचण्डसँग अर्बौंको सम्पत्ति जोगाड छ । त्यो स्वदेशका विभिन्न संस्थामा मात्रै लगानी छैन अपितु विदेशमा पनि रहेको छ । बनाउँदाबनाउँदै नाम मेटिएको ‘मुक्ति’लगायत राजधानीका अनाम केही टावरहरू, थाहा सञ्चार अन्तर्गतका एमएममा भित्री लगानी, उद्योगपति चन्द्र ढकालसँगको सहकार्यमा चन्द्रागिरि हिस्ल, देशमै नाम चलेको एक ‘ब्रोडसिट’ दैनिक अखबार, चक्रपथको अस्पताल, झापाको मेडिकल कलेज अनि विदेशमा पनि लगानी छन् भन्ने खबर आएका छन् । केहीअघि ‘पनामा पेपर’ले समेत नेपालकै तीन चारजना व्यक्तिको विदेशमा अर्बौं ‘ब्ल्याक मनि’ भएको कुरा व्यक्तिका नाम नतोकी उल्लेख गर्दा नेपाली राजनीतिक वृत्तमा हङ्गामा भएकै हो ।

रूसी कथाकार लियो टल्स्टयले आफ्नो प्रसिद्ध कथा ‘हाउ मच् लेण्ड डज् अ म्यान् निड्’मा एउटा मानिसलाई बाँच्न कति जमिन चाहिन्छ भनी गतिलोसँग देखाएका छन् । कथामा प्याभ्लोभ जमिनका लागि दिनभरि कोदालो बोकेर चिनो लगाउँदै दगुरिरहन्छ । जति जमिन चिनो लगायो उति धेरै जमिनको मालिक हुने लोभमा जब साँझ पर्छ अनि ऊ घर फर्किने सिलसिलामा हतारिएर दौंड्ँदा मुटु फुटेर मर्छ । लोभी प्याभ्लोभलाई अन्त्यमा ६ फिट खाल्डो खनेर गाडिन्छ । ‘मानवीय आवश्यकता भन्या केवल खानलाउन मात्रै हो’ भन्ने सन्देश दिने सो कथाले मानिसको लालची प्रवृत्तिको द्योतन समेत गर्छ । सार्वजनिक जीवनयापन गर्ने मानिसले धनका लालची भई दौडिने हो भने इतिहासका कुनै काल खण्डमा पनि नामोल्लिखित हुने अवसर पाउँदैनन् ।
चाणक्यको टुकीको पूराकथा पनि यहाँनेर सान्दर्भिक हुन आउँछ ।

अबका दिनमा नेपाली सत्तामा जाने कार्यकारीले भिजन, मिसन र गोल बनाएर काम गरेनन् भने जनताले तिनलाई सराप्ने छन् । भूकम्पपछिका करिब अठार महिनाहरू त्यतिकै भुत्लिसकेका छन् । जनताले यो कुरालाई आउँदा चुनावमा ठूलो ‘इसु’ बनाउँछन् । नेपाली नीरोहरू बुझेर पनि किन बुझ पचाइरहेका छन् ?
प्रधानमन्त्रीको सम्पत्ति प्रकरणले यतिखेर जगत हँसाउने काम गरेको छ । कार्टुनिष्ट रवीन सायमीले प्रतीकार्थमा पुगेर सो विवरणको व्यङ्ग्य गर्दै कार्टुन बनाए । सम्पत्ति ‘हात्ती’ जत्रो तर विवरण ‘पुच्छर’ मात्रै ।
        

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.