लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

भारतदेखि आएर सिन्धुलीमा डकैती, प्रहरीबाट बच्न यसरी बदले हुलिया

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित,

सिन्धुली, पुस २७ । सिन्धुलीमा सीसी क्यामेराको सहायताले भारतको बिहारदेखि आएर डकैती गरी फरार रहेका डाँका पक्राउ परेका छन् ।

डाँकाको समूहले गत पुस २२ गते कमलामाई नगरपालिका–६ एक नम्बर बजारमा रहेको सिकन्दर साहको साह आयरनको पसलको सटर फुटाएर डकैती गरेका थिए ।

प्रहरीले घटनामा संलग्न तथा मुख्य योजनाकार सर्लाहीको त्रिभुवननगर–७ शेखटोला बस्ने ५२ वर्षीय सरिफुल रहमान भन्ने शेख मोहम्मद सलिफलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहराले जानकारी दिए ।

शेखलाई काठमाडौंबाट मंगलबार पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको छ ।

यस्तै, सो डकैती गर्ने घटनामा संलग्न भारतको बिहार राज्य, वैरगनिया पञ्चायत बस्ने ४० वर्षीय उजिर अन्सारी, ३५ वर्षीय रामनाथ साह, भारतकै सुनौल बस्ने ३८ वर्षीय शेख सकिल, भारतको समस्तीपुर बस्ने ४० वर्षीय मोहम्मद दुलार, सीतामढी बस्ने ३५ वर्षीय मोहमद एलिहास र भारतको बिहार राज्य, वैरगनिया पञ्चायत बस्ने ३६ वर्षीय पुष सिंहको खोजी जारी रहेको बोहोराले जानकारी दिए ।

सिन्धुलीमा उनीहरु पहिलोपटक डकैती गर्न आएको र सीसी क्यामेराको सहायताले उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरीको दाबी रहेको छ ।

सिन्धुलीमा डकैती गर्न सरिफुल रहमान भन्ने शेख मोहम्मद सलिफ पुस २० गते सिन्धुली आएको र शेखले सिन्धुलीका बजारका पसलको निगरानीसँगै बढी कारोबार हुने पसल, सहजता हेर्दै पसलको छनोट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यस्तै, डकैती गर्न शेखलाई रामनाथ शाहले पनि सघाएका थिए ।

पुस २१ गते सिन्धुली आएका शेखले पुस २२ गते सिन्धुलीको स्टलबजारमा रहेको डाँफे होटल सातजनाका लागि बुक गरेको र शेखले खबर गरेपछि बिहारबाट बिआरओ ४४३१ नम्बरको टाटासुमोमा उनीहरु सिन्धुली आएका थिए ।

होटल सन्चालकलाई टाढा जानुपर्ने भएकाले भोलि बिहान चाँडै निक्लने भन्ने जानकारी गराइ बिहान ३ बजे होटलबाट डाँकाको समूह निक्लिएको थियो ।

होटलबाट निक्लिएका डाँकाले ९ मिनेटको समयमा साह आयरनको सटर फोरी डकैती गरी फरार भएका थिए ।

सीसी क्यामेराले कैद गरेको दृश्यअनुसार सिन्धुलीको २ नम्बर बजार हुँदै उनीहरु ट्राफिकपोस्ट हुँदै सिन्धुलीमाढीबाट बाहिरिएका थिए ।

डकैती गर्न सफल डाँका सर्लाहीको त्रिभुवननगरमा पुगेपछि भागबन्डा गर्नेक्रममा विवाद भएको र छोरालाई विदेश पठाउनेक्रममा शेख काठमाडौं गएकाले विशेष सूचनाका आधारमा शेखलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

शेख सिन्धुली आउँदा सेतो लामो दारी पालेको र डकैती गरिसकेपछि दारी छोटो बनाइ ‘कलर’ गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

प्रहरीलाई नै चिन्न अप्ठ्यारो पर्ने गरी कलर गरेका शेखलाई पक्राउ गरिएपछि अरू फरार रहेकाको पनि खोजी भइरहेको उनले जानकारी दिए ।

डाँका समूहले भारतको बिहारदेखि आएर साह आयरनको सटर फोरी नगद र समान डकैती गरी लगेका थिए ।

सिन्धुलीबजार क्षेत्रमा भर्खरै जडान गरिएको सीसी क्यामेराले प्रहरीको अनुसन्धानको कार्यलाई निकै सहज र लक्ष्यनजिक बनाइदिएको छ ।

सिन्धुलीमा भारतदेखि आएर डाँकाले डकैती गरेको यो पहिलो घटना हो । रासस

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework