लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

दसैं : चाड एक, प्रभाव अनेक

मंगलबार, १० असोज, २०७४ मा प्रकाशित,

पेशल आचार्य/ केटाकेटी उमेर भएकाहरूलाई दसैँ ढिलो आएको र आफ्नो व्यवहार आफैँले टार्ने पुर्‍याउनेहरूलाई चाहिँ दसैँ छिटोछिटो आएको भान हुन्छ, कुरो त्यसो भने होइन । सबैका लागि समय उही र एकैनाशले चलायमान छ । हुन त यसो भनिरहँदा दसैँ महिना र ऋतु चक्रमा उही साल, सम्वत्सर, महिना तथा ऋतुमै मात्र आएको अनि गएको छ । हामीमध्ये कसैलाई ढिलो र कसैलाई चाँडोजस्तो भान भएको मात्र हो ।

दसैँ नेपाली हिन्दूहरूको सबैभन्दा ठूलो र महान् चाड हो । यसको धार्मिक र ऐतिहासिक महत्व एवम् गरिमा धेरै पुरानो रहेको छ । यस चाडलाई आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धूमधामका साथ मनाइन्छ । यो चाडमा घरदेश र परदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू आफ्ना विविध प्रकारका रोजगारी, कार्य व्यस्तता र अनेकानेक बेफुर्सदीबीच पनि घर फिर्छन् । परिवारसँग भेटघाट र माया साटासाट गर्छन् ।

के जागिरे, के व्यापारी, के किसान, के मजदुर, के पत्रकार, के अधिकारकर्मी, के विद्यार्थी सबैसबैलाई दसैँको रौनकले एकैसाथ र एकै प्रकारले छुन्छ, गिजोल्छ, हुँडल्छ र प्रभाव पार्छ । दसैँलाई दिल खोलेर नमनाउने कुनै नेपाली हिन्दू छैनन् भन्दा हुन्छ । यसरी भाव र प्रभावका आधारमा हेर्दा समाजमा सनातनदेखि अन्य हिन्दू पर्वोत्वसका तुलनामा यो पावन पर्वले आफ्नो विशेष स्थान र मान सुरक्षित राखेको छ ।

धार्मिक मतालम्बीअनुसार, ‘त्रेतायुगमा मर्यादा पुरुषोत्तम रामचन्द्रले दस दिनको देवी पूजनोत्सव पश्चात् विजया दशमीका दिन देवीका प्रसाद र आर्शीवाद प्राप्त गरी असुर राज रावणमाथि विजय प्राप्त गरेकाले सोही उत्सवमा विजया दशमीका रूपमा यसलाई मनाउन लागिएको हो ।’ अझ धार्मिक संहिता र ग्रन्थहरूमा उल्लिखित शास्त्रोक्ति मतले हज्जारौं वर्षअघि देवी र राक्षसहरूका बीच भएको लामो समयमा देवीले राक्षस कूलको समूल अन्त्य गरी सम्पूर्ण देवताजनहरूको रक्षा गरेकीले यसलाई देवी पर्वोत्सव र पूजनोत्सवका रूपमा मनाइन थालिएको हो । यी दुवै मतले शास्त्रीय र धार्मिक पुष्टि पाएका पनि छन् ।

नेपाली समाज अझै कृषिमा आधारित अर्थतन्त्रमा टिकेको छ । अधिकांश नेपालीहरूको मूल र धेरैजसोको सहायक पेसाका रूपमा कृषि पेसा रहेको छ । यसरी हेर्दा यो पर्व कृषि कार्य सकिए पछिको समय शरद ऋतुमा पर्ने भएकाले पनि यसको ऋतुगत महत्व अधिक छ । पहिलेपहिले दसैँलाई वर्षको दुईपल्ट मनाइने चलन थियो– असोज र चैतमा । ‘मल्ल राजा सिद्धिनरसिंह मल्लका पालामा नेपाल खाल्डो तीन राज्य कान्तिपुर, भक्तपुर (नगदेश) र ललितपुर (पाटन) मा धूमधामका साथ चैते दसैँ मनाउँदा लोकमा झाडा पखालाको उधूम मच्ची धेरै मानिसहरू सत्यानाश भएकाले’ त्यसपछि राजाज्ञा र समाज चाहनानुसार असोजको दसैँलाई ठूलो दसैँका रूपमा धूमधामसँग मनाइने र चैते दसैँलाई सामान्य रूपले मनाइने प्रचलन चलेको हो ।

यसरी हेर्दा असोजको दसैँमा वर्षाको झरीबादल हटिसकेको, खाद्यान्न बाली भित्र्याउने बेला नभैसकेको, गाईवस्तुहरू गोठमा भरिभराउ भएका, फलफूलले घरगृहस्थी भरिभन्न भएको र परदेशबाट घर फिर्नेहरूलाई पनि बाटाघाटा र समय अनुकूल हुने भएकाले पितापुर्खाहरूले दसैँलाई असोजमै आआफ्ना गच्छेअनुसार मनाउने चलन चलेको पाइएको छ ।
इतिहासकारहरूका अनुसार ‘खस (क्षेत्री), बाहुन र दलितहरूले यस पर्वमा खसी पूजा गर्ने गरेकाले यिनीहरू रातो अबीर या रङमा चामल र दही मुछेर टीका लगाउने गर्दछन्’ भने नेपालका केही जनजातिहरूले दही र चामल मात्र मुछेर सेतो टीका लगाउने गर्दछन् । उनीहरू यस कार्य पछाडि ‘युद्ध मैदानमा आफ्ना पुर्खाले चुनमा नाभो अन्नबाट चामल निकाली सो दुवैलाई मिसाएर टीकाको प्रचलन युद्ध क्षेत्रबाटै आरम्भ गरेको’ भन्ने तर्क राख्छन्, जुन जायज पनि छ । तर्क सेतो र रातो रङमा होइन भावनामा कसरी नेपाली हिन्दूहरूले दसैँ मनाउँछन् भन्ने हो ।

अर्थ राजनीतिका हिसाबले दसैँमा नेपाली अर्थतन्त्रको सबैभन्दा धेरै हिस्सा चलायमान् हुन्छ । अर्थशास्त्रका जानकार अनुसार वर्तमान समयमा नेपालीहरूले आन्तरिक र बाह्य रूपबाट भित्र्याएको करिब पाँच खर्ब नेपाली रूपैयाँका विविध कारोबारहरू दसैँका मेसोमा मात्र गर्ने गर्दछन् । हवाई र स्थल यातायातमा मात्र भर परेको हाम्रो देशमा विमान कम्पनी र बस कम्पनीहरूले वार्षिक रूपमा कमाउने रकमको करिब पचास प्रतिशत रकम दसैँ अवसरमा कमाउने गर्दछन् । लुगा, गहना, सेयर, खाद्यान्न, सवारी साधन, इलेक्ट्रोनिक्स साधनहरूको सबैभन्दा बढी सुक्रीविक्री यही चाडका बेला विविध अफरका साथमा हुन्छ । स्थान विशेषका अनुसार सबैभन्दा बढी धनराशीको कारोबार र व्यापारिक चलखेल हुने सहरहरूमा राजधानी काठमाडौँलगायत, पोखरा, बीरगञ्ज, विराटनगर, धरान, बुटबल, भैरहवा, बिर्तामोड, नारायणघाट, इटहरी, नेपालगञ्ज र सुर्खेतजस्ता स्थानहरूमा हुने गर्छ । पहाडी र केही हिमाली जिल्लामा पनि दसैँका अवसरमा ठूलो धनराशिको व्यापारिक कारोबार हुने गरेको जानकारहरू बताउँछन् ।

पशुपंक्षी बलीका हिसाबले दसैँ अत्यन्त डरलाग्दो गरी महकिने गर्छ । बलीप्रथा ठिक या बेठिकका बीच हुने बहसका बाबजुद् लाखौंका संख्यामा खसी, बोका, राँगा, भेडा, थुमा, बंगुर, हाँस, कुखरा र परेवाजस्ता पशुपंक्षीको बली दिइने गरिन्छ । केही हिन्दू धर्मका शैववादीहरूका अनुसार ‘मानिसले देवी र देवताका नाममा दिइँदै आएको बली ढोँग हो । मानिस आफ्नो स्वार्थका लागि बली प्रथाको पुच्छर समातेर हिँडिरहेको छ । यसलाई क्रमशः न्यूनीकरण गर्दै लैजानु पर्छ ।’ सनातन हिन्दूहरूको एउटा मतले ‘देवीले स्वयम् असुरहरूको भोग माग्ने गरेकीले शाक्त परम्परालाई ज्यूँदो राख्न शक्तिको उपासना गरिएको र भोगलाई निरन्तरता दिइएको’ बताउँदछन् । आजको समाजमा यी दुवै कुरामा अलगअलग पाराले बहस हुँदै आएका छन् ।

वैज्ञानिक मतअनुसार पनि बली प्रथा ग्राह्य कवै होइन, त्याज्य हो । देवीका नाममा निसहाय र अदना पशुपंक्षी बली दिएर मानिसले धर्म गरेँ भन्ने सोच केवल ढोँग मात्रै हो । देवी आफ्ना कुनै पनि सन्तानको रगतबाट खुसी हुने हैनन् । उनलाई त स्वच्छ मन र शरीरले गरिएको पूजा र आस्था अतीव मन पर्छ । आज प्रविधिको युगलाई हेर्ने हो भने हामीले दसैँले नेपाली समाजमा भित्र्याएको विकृति र विसङ्गतिलाई क्रमशः नामेट गर्दै लैजानु पर्दछ । दिल खोलेर दसैँ मनाउने क्रममा ‘आयो दसैँ ढोल बजाई, गयो दसैँ रिन बोकाई’ भन्ने उखान कसैका लागि चिन्ताको विषय बन्न नपुगोस् । ‘घाँटी हेरेर हाड निल्ने’ परम्परालाई मात्र प्रश्रय दिइनु पर्छ । आफू जोगी र रोगी बनेर अरूलाई साहू र सामन्त बनाउने सोच र कुसंस्कारको चाँडो अन्त्य हुनु पर्दछ । यो कुरा बूढापाकाहरूले पहिलेको जमानामा बुझेनन् होलान् अबका पढेलेखेका युवाहरूले बुझ्नु पर्दछ ।

बहुआयामिक प्रभाव पार्ने दसैँका उपलक्ष्यमा खेल प्रतियोगिता, बौद्धिक प्रतियोगिताहरू, सामूहिक सामाजिक कार्य र मित्र मिलनका समारोहहरू गरेर सिर्जनात्मक, बुद्धिबद्र्धक र ज्ञानाबद्र्धक कार्यमा हामीले आफूलाई सक्रिय बनाउन सक्यौं भने भोलि युवापुस्ताले त्यही सुकार्यको सिको गर्नेछन् र दसैँ मनाउने शैलीमा क्रमशः परिष्कार एवम् परिमार्जन हुँदै जाने छ । यो कुरा एकजनाले मात्र गरेर हुँदैन । समाज रूपान्तरणका लागि हिँडेका र वर्षौंदेखि जनताका माझमा गई राजनीति गरेका देशका प्रमुख राजनीतिक पार्टीहरूले बेलैमा आफुले बुझेर आफ्ना मातहतका पार्टी पंंक्तिहरूमा स्कुललिङ् गरी क्रमशः बुझाउँदै लैजानु पनि पर्छ । अनि मात्र हामी वैज्ञानिक तवरले साँस्कृतिक रूपान्तरण गर्दै असल समाजको स्थापनामा अघि बढ्न सक्छौं । यो कुरा मनन गर्ने बेला आइसकेको छ ।

अबका दिनमा छोटो मिठो तबरले दसैँ मनाउने संस्कारको सुभारम्भ गरौं भन्दै सबै नेपाली हिन्दूहरूमा असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दुराचारमाथि सदाचारको, पापमाथि धर्मको विजयका प्रतीकका रूपमा मनाइने वडा दसैँ पर्वको पावन तथा पुनीत उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework