लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

८ मा छुट्दा २ कक्षामा झरिन् २४ वर्षीया लक्ष्मी

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित,

गोकर्णप्रसाद भण्डारी (रासस): चरिकोट, पुस २७ । सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य हो । दोलखाको एक विद्यालयमा ८ कक्षा पढ्नुपर्ने विद्यार्थी २ कक्षामा अध्ययन गरिरहेको पाइएको छ ।

दोलखा, लाकुरीडाँडा गाविस–४ ठेगाना भएकी २४ वर्षीया लक्ष्मी श्रेष्ठ हाल कक्षा २ मा अध्ययन गरिरहेकी छन् ।

दोलखाको एकमात्र बहिरा पढ्ने विद्यालय भीमेश्वर बहिरा प्राथमिक विद्यालयमा कक्षा २ सम्मकोमात्र पढाइ हुने गरेको छ । बहिरालाई लक्ष्य गरेर सन्चालन गरेको यो विद्यालयमा ३५ जना विद्यार्थी छन् ।

यहाँ १६ देखि २४ वर्षसम्म उमेर भएका विद्यार्थी पढ्न आउँछन् । तर, यहाँ उमेर समूहका आधारमा र कक्षा चढेका आधारमा विद्यालय नहुँदा दोलखाका थुप्रै बहिरा शिक्षा लिनबाट बन्चित छन् । यही उदाहरण हो लक्ष्मी श्रेष्ठको पनि ।

उनी भूकम्प जानुभन्दा पहिले सिन्धुपाल्चोक, बाह्रबिसेमा रहेको सिन्धु बहिरा निमाविमा पढ्थिन् । भूकम्पको त्रासले सिन्धु बहिरा विद्यालयसँगको सम्बन्ध छुटायो । त्यही भूकम्पले गर्दा उनी आफ्नो घर लाकुरीडाँडा आइन् ।

लाकुरीडाँडामा आमा–बुबासँग बसे पनि उनलाई विद्यालय पढ्नुपर्छ भन्ने कुराले पिरोलिरहेको र आमा–बुबाले आफ्नो सांकेतिक भाषा नबुझेकै कारण आफू घर छोडेर २ कक्षामा पढ्न आएको लक्ष्मी बताउँछिन् ।

आफ्नो बा–आमाको आर्थिक अवस्था कमजोर भएका कारण पनि आफ्नै जिल्लाको स्कुलमा पढ्न बाध्य भएको उनको भनाइ रहेको छ ।

उनी भन्छिन्–‘मलाई रहर छैन २ कक्षामा पढ्न, फेरि जाने ठाउँ पनि कहीँ छैन । आमाबुबासँग बसेर समय काट्नुभन्दा बहिरासँगै केही सिकौं भनेर म कक्षा २ मा अध्ययन गरिरहेको छु ।’

‘मलाई धेरै दुःख पनि लाग्छ, लाज पनि लाग्छ, किनकी मैले ८ कक्षामा पढ्दा धेरै जानेको थिएँ, अहिले २ मा पढेको कुरा मैले फेरि पढिरहेको छु’–उनी दुखेसो गर्दै भन्छिन्–‘मानिस अगाडि बढ्छन् तर मेरो जिन्दगी पछाडि फर्किएको छ । मैले दुई वर्षमात्रै पढ्ने अवसर पाएको भए यतिबेला एसएलसी पास गर्ने थिएँ होला । पढ्ने अवसर गुम्दा जिन्दगीमा थुप्रै अवसर गुम्यो ।’

उस्तै पीडा बोकेर दुःखका स्वर सुनाइरहेका छन्, यस बहिरा विद्यालयमा पढ्ने विद्यार्थीले । यहाँ आमा–बुबा गुमाएका, आमा वा बुबा गुमाएका, कान नसुन्ने, बोली बोल्न नसक्नेहरु पढिरहेका छन् ।

एउटै कक्षा कोठामा तीनओटा कक्षा पढाइ भइरहेको छ । दुईतिर फर्केर कक्षा सन्चालन भइरहेको छ यहाँ । पछाडि एक कक्षा चलिरहेको छ भने अगाडि दुई कक्षा सन्चालन भइरहेको छ ।

बाल कक्षाबाहिर चौरमा पढाउने गरेको प्रधानाध्यापक विद्या कार्की बताउँछिन् । अहिले यस विद्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

भवन निर्माणपछि बहिराको जीवनमा खुसी आउने प्रधानाध्यापक कार्की बताउँछिन्–‘भवनमात्रै त बहिराको सबथोक होइन, गुणस्तरीय शिक्षा पनि बहिराका लागि आवश्यक हुन्छ ।’

विषयगत शिक्षक यहाँ भइदिए बहिरालाई सजिलो हुने प्रधानाध्यापक कार्कीको भनाइ छ । उनी भन्छिन्–‘यहाँ दुई कक्षामात्र छ तर धेरै कक्षा पढेका विद्यार्थी पढ्न आउँछन् । यस विद्यालय निमावि तहसम्म भइदिए केही सजिलो हुन्थ्यो । विद्यार्थीको तह छुट्याउन गाह्रो भयो ।’

यो विद्यालय आर्थिक हिसाबले पनि ज्यादै कमजोर छ । प्रधानाध्यापक बहिरा नै छिन् । यसले विद्यार्थीलाई सहयोग त पुर्‍याएको छ तर शिक्षा कार्यालयले बालशिक्षाको कोटामा पठाएको शिक्षिका बहिरा वा सांकेतिक भाषा जानेको नहुँदा ज्यादै अप्ठेरो परेको प्रअ कार्कीको भनाइ छ ।

उनी थप्छिन्–‘नसुन्ने र सुन्ने विद्यार्थी अर्थात् सांकेतिक पढ्ने अन्य विद्यार्थी भइदिए नसुन्नेलाई ऊर्जा पैदा हुने थियो र यो व्यवस्थाका लागि मैले सम्बन्धित निकायसँग आग्रह गरिरहेको छु, कसैले सुनेन ।’

बहिरालाई दया गर्नेमात्र हैन, अवसर दिनु पनि आवश्यक रहेको प्रअ कार्कीको भनाइ रहेको छ ।

सुन्ने विद्यालयमा नसुन्नेले पढेपछि समस्या
१९ वर्षीय सुवास मगर बैतेश्वर मावि नाम्दुमा कक्षा १० मा सुन्ने विद्यालयमा पढ्थे ।

आफूले केही नजाने पनि विद्यालयले उसै कक्षा चढाइदिएकाले अहिले बहिरा विद्यालयमा केही नआउँदा वा नजान्दा आफूलाई लाज हुने गरेको बताउँछन् ।

त्यस्तै, ज्ञानु तामाङ पनि कक्षा ७ मा सुन्ने विद्यालयमा नै अध्ययन गरेकी हुन् ।

उनी पनि आफूले अक्षर चिन्न बहिरा विद्यालयमा आएर थालेपछि कक्षा कतिमा पढ्ने भन्ने थाहा भएको बताउँछिन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework