लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

‘काठमाडौंमा ‘स्मार्ट मिटर’, घरमै बसेर विद्युत् महसुल तिर्न सकिने’

आइतबार, ६ चैत, २०७३ मा प्रकाशित, 9289 पटक हेरिएको

काठमाडौं, चैत ६ । व्यवस्थापिका–संसद, कृषि तथा जलस्रोत समितिले जलविद्युत् आयोजनाको हकमा जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा उपयोगका सम्बन्धमा अन्तरसरकारी निकायबीच नै समन्वय हुन नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्ने भएको छ ।

समितिको आइतबार बसेको बैठकले सरकारी निकाय र विशेष गरी मन्त्रालयबीच नै समन्वय हुन नसक्नु र आयोजनाको काम प्रभावकारीरुपमा बढ्न नसक्नुको पछाडि सामान्यभन्दा सामान्य समस्याले काम गरेको भन्दै सो विषयमा प्रधानमन्त्री र सरोकार भएका निकायबीच छलफल गर्ने निर्णय गरेको हो ।

सरकारले ऊर्जासंकट समाधानका लागि भन्दै ऊर्जासंकटकाल कार्ययोजना र रणनीति अगाडि सारेको र त्यसमा अन्तरसरकारी निकायबीच समन्वयका लागि मुख्यसचिवको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको भएपनि काम हुन नसकेकामा समितिले आपत्ति प्रकट गरेको छ ।

संविधानमै मुलुकको कुल भूभागमा ४० प्रतिशत वन क्षेत्र कायम हुनुपर्ने भन्ने व्यवस्था गरिएको छ ।

वन तथा भूसंरक्षण मन्त्रालयले वन क्षेत्रको जग्गा प्राप्तिमा हदबन्दी कायम राख्दै आएको छ ।

व्यक्तिगत ७५ रोपनीसम्म जग्गा प्राप्तिमा हदबन्दी नलाग्ने तर त्योभन्दा बढीको हकमा भने जुन जलवायुको जग्गा हो, त्यस्तै जलवायुको जग्गा दिनुपर्ने भन्ने व्यवस्थाले समस्या पारेको छ ।

समितिले ऊर्जासंकटकाल कार्ययोजना, विद्युत् नियमन आयोग विधेयक तथा विद्युत् चोरी तथा नियन्त्रण विधेयक तथा ऊर्जा सुरक्षासम्बन्धी विधेयक अगाडि बढाउनसमेत ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको सभापति मोहन बरालले जानकारी दिए ।

यस्तै, एकीकृत जलस्रोत नीतिसमेत तत्काल ल्याउन र बदलिँदो राजनीतिक परिवेशअनुसार संघीय ढाँचामा काम गर्नसमेत समितिले आग्रह गरेको छ ।

विद्युत् महसुल तिर्न किन समस्या ?
समितिको बैठकमा धारणा राख्ने अधिकांश सांसदले उपभोक्तालाई विद्युत् महसुल तिर्न ठूलो सास्ती परेको भन्दै नेपाल विद्युत् प्राधिकरणले किन समस्याको समाधान गर्न नसकेको हो ? भन्नेतर्फ ध्यानाकर्षण गराएका थिए ।

सामान्य उपभोक्ताले रु ८० विद्युत् महसुल तिर्दा रु चार सयभन्दा बढी खर्च गर्नुपर्ने, तीन दिनभन्दा बढी हिँड्नुपर्ने तथा ठूलो हैरानी भोग्नुपर्ने बताउँदै आएका छन् ।

सांसद किरण यादव, आशाकुमारी यादव र सीता नेपालीले विद्युत् महसुल तिर्न नै समस्या हुने अवस्था आउनु दुःखद् रहेको भन्दै कहिलेसम्म सो समस्याको समाधान हुन्छ ? भन्ने जिज्ञासा राखेका थिए ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकामा नमुना परियोजनाकारुपमा ‘स्मार्ट मिटर’ लागू गर्न लागिएको जानकारी दिए ।

उनकाअनुसार स्मार्ट मिटर लागू भए विद्युत् महसुल तिर्न समस्या नहुने र घरमै बसेर पनि विद्युत् महसुल तिर्न सकिनेछ ।

ऊर्जासचिव अनुपकुमार उपाध्यायले जग्गा प्राप्तिमा केही नीतिगत तथा कानुनी झन्झटका कारण सोचे जति प्रगति हासिल गर्न नसकिएकाले अवरोध हटाउन सहजीकरण गरिदिन सांसदहरुलाई आग्रह गरे । रासस

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.