काठमाडौं, जेठ ५ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले पेसागत सुरक्षाको माग राख्दै अनशनरत् भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुको माग तत्काल पूरा गर्न आग्रह गरेका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले अनशनरत् नर्स जिता बराल र डिकी शेर्पाको बिग्रँदो स्वास्थ्य अवस्था तथा सरकारले उनीहरुको मागप्रति देखाएको व्यवहारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
चर्को श्रमशोषण हुनु र पेसागत सुरक्षाको माग राख्दै आन्दोलनमा उत्रँदासमेत पनि सरकार र सम्बन्धित निकाय संवेदनशील नहुनु समाजका लागि लाजमर्दो कुरा भएको डा. केसीले उल्लेख गरेका छन् ।
यस्तै, नियमविपरीत प्रवेश परीक्षा पास नभइकन एमबीबीएसमा भर्ना हुन पाऊँ भन्ने जानकी मेडिकल कलेजका विद्यार्थीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर नियम–कानुन मिच्नेहरुलाई प्रोत्साहन गरेको आरोप पनि डा. केसीले लगाएका छन् ।
न्यायालयलाई किनबेचको वस्तु बनाउने हो भन्ने आफू पुनः सत्याग्रह सुरु गर्न बाध्य हुने चेतावनी पनि उनले दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्