लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

दाम्लोबाट छुटेपछि वाइबाको फेरियो जीवन

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित, 15175 पटक हेरिएको

नारायण ढुंगाना (रासस):  शंकरापुर (साँखु), पुस २८ । चम्किलो अनुहार, पुष्ट शरीर । गुहु र मुतमा डुब्नुपरेको छैन । जीवन फेरिएको छ । राम्रो हेरचाह पाएका छन् । दिसा–पिसाब समयमै गराइन्छ । औषधोपचार नियमित छ । बोल्न र हिँड्न सक्तैनन् । तर, उनको अनुहारमा चमक छ । उनी खुसी छन् । अनुहारले त्यही बताउँछ । दाम्लोबाट छुटकारा पाएपछिको जीवन आफैंमा नौलो हो ।

असार २२ गते उनको खुट्टाबाट दाम्लो फुकाइयो । दाम्लो फुक्दै गर्दा छिमेकी माया वाइबाले भनेकी थिइन्–‘उनलाई अब भने दिसा–पिसाबमा डुबेको देख्नुपर्दैन ।’ अहिले त्यो चरितार्थ भएको छ ।

आगन्तुक देखेर उनी हात हल्लाउँछन् । हाँस्छन् । हाउभाउले केही भन्न खोजेजस्तो गर्छन् । साँच्चै फेरिएका छन्, १५ वर्षका अनुत वाइबा । मोटाएका छन् । ह्वील चियरमा हिँड्डुल गर्छन् । उनको रेखदेखमा खटिन्छन् युवाहरु, अनि गुहु–मुत सोहोरिदिन्छन् ।

कति अस्पताल लैजाँदा पनि उनको उपचार सम्भव नभएको उनका रेखदेखकर्ता उमेश तामाङ बताउँछन् । अब अपांग नै रहने भएपनि आफ्नै घरमाजस्तो पीडा झेल्नुपरेको छैन उनलाई ।

‘दाम्लोबाट छुटकारा पाउँदा, अनि गुहु र मुतमा डुब्नु नपरेको देख्दा र सुन्दा साह्रै मन खुसी छ’–काठमाडौंकी सिर्जना थपलिया भन्छिन् । यस्ता असहायको केही सहयोग गर्ने सोच बनाएको उनले बताइन् ।

यसअघि उनको बास थियो, टिनको छानोको थोत्रो घर । चिसो भुइँमा राखिएको थोत्रो सुकुल । दुर्गन्धित ठाउँ । त्यसमाथि लडिरहेका कुपोषित बालक वाइबाको बायाँ खुट्टाको गोलीगाँठोनजिक दाम्लो लगाइएको हुन्थ्यो । सधैं गुहु र मुतको आहालमा उनी डुबिरहन्थे ।

चितवनको रत्ननगर वडा नम्बर–१५ स्थित माधवपुरमा झन्डै एक वर्षदेखि दाम्लोमा बाँधिँदै आएका उनी अहिले १५ वर्षका भए ।

एनआरएनएका केन्द्रीय सदस्य एवं डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि सोमनाथ सापकोटा वाइबा दाम्लोमा हुँदा र अहिले फेरिएको देख्दा मन आनन्दित भएको बताउँछन् । उनकै पहलमा चितवनको रत्ननगरका वाइबालाई दाम्लोबाट छुटाइएको हो ।

अहिले स्वास्थ्योपचार र पालनपोषण अपांग बाल तथा वृद्ध सेवागृह काठमाडौंले गरिरहेको छ । चाबहिलबाट साँखु जाने बाटोदेखि झन्डै १५ किलोमिटर हिँडेपछि आउने काठमाडौं शंकरापुर नगरपालिका वडा नम्बर–१० सलंबुटार, साँखुमा रहेको उक्त गृहमा अनुतलाई भेट्न सकिन्छ ।

द्वन्द्वपीडित तथा अपांग समाजद्वारा सन्चालित यो गृहमा उनीसँगै अन्य ४१ जना असहायहरुले आश्रय लिइरहेका छन् ।

आफैं अपांग भएर बसेका युवराज थापाको नेतृत्वको समूहले यस्ता असहायको रेखदेख गर्ने गरेको छ ।

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी र तत्कालीन चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको पहलमा उनलाई गएको असार २२ गते उद्धार गरेर काठमाडौं पठाइएका थियो ।

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.