लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

भारतले बुझ्नु पर्छ, नेपाल भुटानजस्तो बन्न सक्दैन : हिरण्यलाल श्रेष्ठ

शुक्रबार, १९ कार्तिक, २०७३ मा प्रकाशित, 23411 पटक हेरिएको

भारतीय राष्ट्रपति प्रणव मुखर्जी आलंकारिक भए पनि नेपाल बारे जानकारी राख्ने व्यक्ति हुन । उनी भारतको परराष्ट्रमन्त्री , अर्थ र रक्षामन्त्री समेत भएका राजनीतिज्ञ हुन । नेपालका अनेक मामलामा उनले प्रत्यक्ष डिल गरेका छन् । उनले नेपालका अधिकाँश नेताहरुलाई राम्रोसंग जान्दछन् । नेपाली नेताहरुले पनि उनलाई राम्रैसंगै चिन्दछन् ।

नेपाल, भारत र चीन मामलाविद्का रुपमा परिचित  हिरण्यलाल श्रेष्ठ सोभियत रुसका पूर्वराजदूत समेत हुन् । उनीसंग भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका बारे हामीले कुराकानी गरेका थियौँ । प्रस्तुत छ , उक्त कुराकानीको केही अंश :

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणबाट के कुराको अपेक्षा गर्न सकिन्छ ?
भारतीय राष्ट्रपति प्रणव मुखर्जी आलंकारिक भए पनि नेपाल बारे जानकारी राख्ने  व्यक्ति हुन । उनी भारतको परराष्ट्रमन्त्री , अर्थ र रक्षामन्त्री समेत भएका राजनीतिज्ञ हुन । नेपालका  अनेक मामलामा उनले प्रत्यक्ष डिल गरेका छन् । उनले नेपालका अधिकाँश नेताहरुलाई राम्रोसंग जान्दछन् । नेपाली नेताहरुले पनि उनलाई राम्रैसंगै चिन्दछन् । उनको पहलकदमीमा महाकाली सन्धि र बाह्र बुँदे जस्ता महत्वपूर्ण कामहरु सम्पन्न भएका छन् ।उनले जति नेपाल बुझ्ने नेता भारतमा अर्को छैन । यसकारण नेपाल भारत बीचका कुटनीतिकका बलिया र कमजोरपक्षलाई मुखर्जीले पहिचान गरेर नेपाल भारत सम्बन्धलाई पुनरावलोकन गर्न पहल गर्नु पर्छ भन्ने लाग्छ ।

जीवनको उत्तरार्धमा पुगेका आलंकारीक पदमा रहेका मुखर्जीले नेपाललाई अनुकुल भारतीय व्यवहारका लागि भारत सरकारलाई सिफरिस गर्ने छन् र त्यो सिफरिसले प्रभाव छोड्न भन्ने विश्वास कसरी गर्न सकिन्छ ?

धेरै ठूलो प्रभाव त नपर्ला ।  कार्यकारी काम त त्यहाको सरकार र प्रधानमन्त्रीले गर्छ ।  राष्ट्रपतिको पुरानो राजनीतिक प्रभाव राम्रो छ । नेपाललाई बुझ्ने सबैभन्दा पुरानो र पाको व्यक्ति पनि उनै हुन यसैले उृनले सरकारलाई केही सल्लाह दिन सक्छन् । उनको भ्रमण सामान्य होइन । भारत राज्यको प्रतिनिधिका रुपमा उनी नेपाल भ्रमणमा आएका हुन ।
उनले यो भ्रमणबाट नेपालीहरु भारतलाई कसरी हेर्छन भन्ने बुझन सक्छन् । नाकाबन्दी पछि नेपालीहरुको मन कसरी दुखेको रहेछ भन्ने जान्न सक्छन् । भारतले नेपालमा के कस्ता कमजोरी गरेको रहेछ त्यो पनि बुझ्न सक्छन् । सुधार गर्ने मौका पनि हो । उनको सकरात्मक सुभावलाई भारतीय सरकारले मनन् गर्यो भने त भारतलाई नै राम्रो हुन्छ ।

नेपालका सबै जसो दलका  शीर्ष भनिएका नेताहरुलाई निर्देशन दिएर काम लगाउन सक्ने हैसियत बनाएका मुखर्जीले नेपाल हितका लागि विगतमा केही काम गरेका थिए , तपाईसंग कुनै सम्झना छ ?

उनी नेपालका परिवर्तनको पृष्ठपोषक हुदा त्यो परिवर्तनले नेपाल भारत सम्बन्धलाई सुमधुर बनाउन सक्यो कि आलोच्य बनायो त्यो कुरा त बुझ्ने उनका लागि मौका हो । उनी भारती नेता हुन । भारतका राष्ट्रपति हुन । उनले भारतको भन्दा नेपालको हित चिताउँछन् भन्ने छैन । उनले त नेपालकै हित चिताउँछन् । उनका जोड बलमा विगतमा नेपालमा भएका कामले नेपाललाई कहाँ पुर्यो भन्ने विश्लेषण गरेर नेपाली नेताहरुले नेपालका पक्षमा काम गराउन , समान व्यवहार गर्न गराउन जोड दिनु पर्छ । नेपालको पक्षमा मुखर्जी होइन नेपाली नेता उभिनु गर्यो ।

नेपाली नेतृत्वले तपाईले भने जस्तो भारतीय राष्ट्रपतिका सामु उभिएर नेपाल हितका पक्षमा अडान लिन सक्ने हैसियत बनाएका छन् ?

भारतले मात्र चाहेको हुने अवस्था अब नेपालमा छैन । उसका सबै निर्देशन लागु हुने भए त संविधान पनि ढिला घोषणा हुने थियो । नेपाल भारत बाट मात्र घेरिएको देश होइन । नेपालको उत्तरमा विश्वको दोस्रो शक्तिशाली देश छ , भन्ने कुरा भारतले पनि बुझ्नु पर्छ । नेपालका दलहरु भित्र पनि भारतका , चीनका र पश्चिमा पक्षधर नेताहरु पनि छन् । सन्तुलन प्रतिसन्तुलन गर्नु पर्ने हुन्छ । यो कुरा पार्टी भित्र र अन्तर पार्टीमा पनि चल्छ । नेपाल एउटा देशको पकेट भित्रको गोटी भएर वस्न सक्दैन । यहाँको राजनीतिले उत्तर र पश्चिमालाई भुल्न पनि सक्दैन र भुल्नु पनि हुदैन ।

नेपालका हरेक दलभित्र राष्ट्रवादी नेताहरुको वाहुल्यता रहेको छ । तथापि केही नेताहरु बिकेका पनि होलान् यसो भन्दैमा भारतले जे भन्छ त्यही हुन्छ भन्ने छैन ।

नेपालको संविधानप्रति भारतीय असन्तुष्टीलाई त राष्ट्रपति मुखर्जीले पनि दोहोर्याउनु भएको त हो नि ?

भारतका राष्ट्रपतिले भारतका  प्रधानमन्त्री र मन्त्री परिषदको सल्लाह मान्नु पर्छ । यो भ्रमणमा भारतीय सरकारको पूर्ण सहभागिता रहेको छ । यसकारण पनि भारतीय राष्ट्रपतिको भिन्न मन्तव्यको हामीले अपेक्षा राख्नु हुन्न । विगतको भारतीय पक्षका अभिव्यक्ति निर्देशनात्मक हुन्थृ भने अहिले  बरु राष्ट्रपतिका शब्द चयन नरम छन् । आफूहरुले नै उचालेका मधेसवादी दलहरुलाई च्याप्प समातेर थचार्न पनि त मिलेन । यसैले सबै मिलेर जान आग्रह मुखर्जीले पनि गरे ।

यसैले होला त मधेसी दल लगायतका विभिन्न दल र नेताहरुलाई छुट्टाछुट्टै भेटेका ?

नेपालीहरुले सबै भन्दा पहिला भन्नु पर्ने कुरा के हो भने हिमाली , पहाडी र मधेसी सबै नेपाली हौँ ,  हाम्रो समस्याको समाधान हामी आफैले गर्न सक्छौ । हाम्रो आन्तरिक मामिलामा तपाईहरुले हात नहालि दिनुस् ।

अब नेपाली नेताहरुले नेपालको संविधान संशोधन गर्ने जिम्मा नेपाली राजनीतिको हो । हामीलाई चाहिने संविधान हामी आफै बनाउँछौ । तपाईहरु सद्भाव मात्र राखिदिनुस , भनेर भारतलाई सम्झाउने बेला भएको छ ।  बरु १९४७ देखि उठेको गोर्खाल्याण्डको समस्या हल हुन सकेको छैन । नेपालसंग जोडिएको भूभाग भएर भारतले गोर्खाल्याण्ड दिन हिचकिचाईरहेको अबस्था छ । गोर्खाल्याण्डका कुरा नेपालले गर्दा भारतको चित्त दु:खे झै नेपालको मधेसको कुरा भारतले उठाउदा नेपालको चित्त दुख्छ ।  

यस्ता उच्चस्तरीय भ्रमणमा कालापानी , सु्स्ता या सीमा विवादका विषय किन उठ्दैनन् ?

यी मुख्य राष्ट्रिय मुद्धाहरु हुन ।  यस्ता भ्रमणमा यी विषय उठान गर्नु अति अबश्यक थियो । अहिले पनि आफ्नो कुर्सी जोगाउनका लागि मात्र कुरा भए जस्तो देखिन्छ । यसैले त नेपाल भारतका बीचका विवादित मुद्धाहरु झनझन पेचिला बन्दैछन् ।

भारतीय र चिनियाँ राष्ट्रपतिको भ्रमणको ठूलो चर्चा चलिरहदा पुष्पकमल दाहालको योजनामा केपी ओली नेतृत्व सरकार ढालियो । दाहाल नेतृत्वको सरकारको निम्तोमा भारतीय राष्ट्रपति नेपाल आए । यसले कस्तो सन्देश दिन्छ ?

ओली सरकारमा माओवादी बलियो थियो । महत्वपूर्ण मन्त्रालय उनीहरुले नै लिएका थिए । सरकार संचानको निर्देशक जस्तै बनेका दाहाललाई प्रधानमन्त्री बन्ने महत्वाकाँक्षा बढ्यो । यसै बेला भारतले ओली फेर्न खोजिरहेको थियो । भारतले दाहाललाई उपयोग गर्यो । दाहाल स्टप ग्यापका रुपमा आएका पनि हुन सक्छन् ।  कम्यूनिष्ट वाहुल्यता रहेको सरकार ढालेर कांग्रेस सरकार बनाउनमा भारत लागेको छ । दाहालले बुझेनन् । उनी भारतप्रति लम्पसार परे ।
दाहालका शक्तिले भारतीय राष्ट्रपति नेपाल आए भन्ने भ्रम मात्र हो ।

नेपालको सरकार परिवर्तनको साँचो दिल्लीमा छ भन्दै हुनुहुन्छ ?

यो कुरा त बाबुराम प्रधानमन्त्री बनेका बेला उनैले भनेका कुरा हुन । अहिले पनि केही हद सम्म दिल्लीमा छ , केही हदसम्म छैन । नेपालमा पछिल्लो समयमा भारतको प्रभाव कमजोर हुदै गएको छ । अहिले उत्तर र पश्चिमको पनि नेपालमा राम्रै उपस्थिति रहेको छ ।

यो भ्रमणबाट नेपालले के फाइदा लिन सक्ला ?

जुन किसिमबाट भारतले भुटानसंग व्यवहार गर्दै छ । त्यो व्यवहार नेपालका लागि सम्भब छैैन । अहिलेको अवस्थामा नेपाल भुटान जस्तो बन्न सक्दैन । यो कुरा भारतले बुझन जरुरी छ । भारतीय राजनीतिले नेपालले चीन तर्फ हेर्दै नहेरोस् भन्ने चाहन्छ ।नेपाल चीन सम्बन्ध पनि पुरानो भइसक्यो । चीनले पनि नेपाललाई राम्रोसंग ध्यान दिन थालेको छ  र दिन्छ पनि । चीनसंग पनि नेपालको ठूलो  सीमाना जोडिएको कुरा भारतले भुल्नै हुदैन ।  तर नेपाल धेरै अगाडि बढेको छ , चीन मामिलामा । यसकारण नेपालको आन्तरिक मामिलामा हस्तक्षप गर्नु गलत छ, भन्ने कुरा नेपालले भारतीय राष्ट्रपतिलाई बुझाउनु जरुरी छ ।  

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.