
दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, वैशाख २२ । कन्चनपुरमा सम्पत्तिमाथि महिलाको स्वामित्व बढ्दै गएको छ ।
महिलाका नाममा घर–जग्गा रजिस्ट्रेसन पास गर्दा करछुटको व्यवस्था भएसँगै सम्पत्तिमा महिलाको स्वामित्व बढेको हो ।
सरकारले महिलाका नाममा घर–जग्गा रजिस्ट्रेसन गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरेसँगै सम्पत्तिमा महिलाको स्वामित्व बढेको हो ।
चालू आर्थिक वर्षमा तीन हजार ५६७ घर–जग्गा रजिस्ट्रेसन भएकामा महिलाका नाममा एक हजार ५०० ओटा रजिस्ट्रेसन भएको भूमिसुधार तथा मालपोत कार्यालय कन्चनपुरले जनाएको छ ।
यस्तै, गत आर्थिक वर्षमा चार हजार ९४६ घर–जग्गा रजिस्ट्रेसन भएकामा महिलाका नाममा दुई हजार २४२ रहेका थिए ।
महिला र पुरुष समान हुन् भन्ने चेतना वृद्धि र सरकारले दिएको करछुटका कारण पछिल्ला वर्षमा महिलाको नाममा घर–जग्गा रजिस्ट्रेसन गर्नेको संख्या बढेको कार्यालयका प्रमुख धर्मानन्द भट्टले बताए ।
मालपोत कार्यालयकाअनुसार चालू आर्थिक वर्षमा घर–जग्गा रजिस्ट्रेसनबाट ९ करोड २८ लाख ४० हजार ६० रुपैयाँ राजश्व संकलन भएको छ भने लाभकरबाट दुई करोड ९३ लाख ४४ हजार १२२ र अन्य सेवा शुल्कबाट एक करोड ९९ लाख १७ हजार ५०० रुपैयाँ संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस्