लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

राजधानीका ‘बोटल रोड’ मा ‘नो हर्न प्लिज’ !

मंगलबार, ५ बैशाख, २०७४ मा प्रकाशित, 3660 पटक हेरिएको

पेशल आचार्य- २०७४ बैशाख १ गतेदेखि राजधानी काठमाडौँ हर्न निषेधित क्षेत्र बनेको छ । यसले पुरानो नेपाली उखानलाई ‘उसै त कुन, माइली बजूका कानमा सुन’ भनेझैँ अब झन काठमाडौँका जाम सर्वसुलभ हुने भए । प्रेसर हर्नमात्र होइन, गाडीले सामान्य हर्न बजाउँदा समेत ट्राफिकले कारबाही थालेको आँखैले देख्न पाइयो ।

अब सडकका ‘अल इन अल’ भनेका ट्राफिक प्रहरी हुनेछन् । सामान्य जनताका लागि उपलब्ध सार्वजनिक सवारीका साधनहरू राजधानीका ‘बोटल रोड’ (अघिपछि चौडा र निकास हुने स्थानमा साँघुरिएका) मा चेपिएपछि सर्व साधारणको दैनन्दिनी नै सकसमय भएको छ । भनेका बेला ठिक समयमा नपुग्ने भएपछि ‘नेपाली समय’ को सान्दर्भिकता झन् सार्थक हुने भयो ।

धेरै वर्षदेखि काठमाडौँमा ध्वनिप्रदूषण अत्यधिक रहेको थियो । यो अवस्थालाई मध्यनजर गरेर यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकाको निर्णयमा अहिलेको ‘नो प्रेसर हर्न’ व्यवस्था लागू भएको हो । नेपालमा जहिल्यै पनि सानातिना निर्णयहरू लहडमा लागू हुने गरेका छन् ।

एकताका मोटरसाइकलमा चालकसँगै पछाडि बस्नेले पनि हेलमेट लगाउने सिष्टम लागू गरियो तर त्यो निर्णय धेरै दिन टिकेन । त्यतिबेर धेरैले अड्कल गरेका थिए –‘सरकारी निर्णयमा ‘तर मार्न’ पल्केकाहरूले भारतीय या चाइनीज हेल्मेट कम्पनीसँग कमिसन खाएर त्यसो गरेका हुन् ।’ हुन पनि त्यो निर्णय धेरै दिन नटिकेका कारण आम मानिसको शंका सत्य साबित भएथ्यो । पञ्चायत कालमा पनि एकचोटी हाइस्कुल पढ्ने विद्यार्थीले विद्यालयमा कापीका सट्टा सिलोट पाटीमा खरीले ‘रफ’ गर्नु पर्ने नियम ल्याइयो, लहडको सो निर्णय पनि एक वर्षभन्दा लामो रहेन ।

देशमा चौतर्फीरूपमा सिष्टम अवलम्बन हुन धेरै ढिला भैसकेको छ । स्वास्थ्य, शिक्षा, सञ्चार र यातायातका क्षेत्रहरू नियम नहुनाले तहसनहस भएका छन् । कसले आदेश र अनुगमन गर्ने त्यो नेपालमा टुङ्गो छैन । बेटुङ्गोमा चलेका सबैसबैहरू कुदिरहेका छन् । आफैँ सडकमा फोहर फाल्ने अनि सडक सफा गर्नेलाई गाली गर्ने पनि हामी नेपाली आफैँ हौं । जरिवाना सहितको स्वथ्य र जिम्मेवारीपूर्ण अनुगमन हुने हो भने नेपालमा पनि अब सिष्टम बस्न सक्छ ।

उदाहरणका रूपमा जस्तै : जनतालाई स्वास्थ्य वीमाको व्यवस्था हुनु पर्छ । गरिब र निमुखाले पैसाका अभावमा ऐयाऐया भनी मर्ने दिनको अन्त्य गर्न सत्ता र शक्तिका मसिहा बनेका काँग्रेस, एमाले र माओवादीलाई कसले रोक्यो ? शिक्षाका सन्दर्भमा ‘अब हाइस्कुल तहदेखि नै साधारण सैद्धान्तिक शिक्षा र व्यवसायमूलक शिक्षा गरी दुई स्ट्रिम’ मा लैजाने हो र गरिब, दलित, जनजाति तथा मेधावी विद्यार्थीलाई पठनपाठनका लागि ऋण सुविधा दिएर योग्य बन्न सहयोग गर्ने अनि अवधि तोकेर पाँच र दस वर्ष आफ्नो गाउँ÷क्षेत्रमा गएर काम गर्नै पर्ने भन्ने कबुलियत गराउने हो भने आफ्नो गाउँठाउँको माया गर्ने विविध प्राविधिक जनशक्तिले गाउँको मुहार एक दुई दसकमा फेरिदिने थिए ।

मुलुक बनाउन विदेशीको मुख ताक्नु नै परामुखापेक्षी बन्नु हो । नेपाल अहिलेसम्म बिग्रेको भनेकै विदेशीको गुलाम भएर, अरौटे, भरौटे र दलाल भएर हो । यहाँका सानाठूला सबै पार्टीका नेता र कार्यकर्ताहरू भाषणमा मात्र आदर्श फलाक्छन् तर व्यवहारमा सबैसबैले धोती फुस्काएर देखाएका छन् ।

देश बनाउन एउटै मानिस काफी हुन्छ भन्ने कुरा स्वास्थ्य क्षेत्रका डा.गोविन्द केसी, विद्युत् प्रशासनका कुलमान घिसिङ, विद्यालय शिक्षा क्षेत्रका उत्तम सञ्जेल, उच्च शिक्षा क्षेत्रका डा. विद्यानाथ कोइराला, नेत्र चिकित्सा क्षेत्रका डा.सेन्दुक रुइत, आविष्कार र आइटी क्षेत्रका महावीर पुन, अपराध अनुसन्धान क्षेत्रका सर्वेन्द्र खनाल, ट्राफिक व्यवस्थापन क्षेत्रका सीताराम हाछेथुहरूको कर्मशील जीवनीलाई मिहिनरूपले केलाएका खण्डमा प्रष्ट थाहा पाउन सकिन्छ । यी व्यक्तित्वहरू पुरस्कार, खादा र मालाका पछि लागेर यहाँसम्म आएका पक्कै होइनन् ।

भित्री मनले आफ्नो मातृभूमिको कल्याणार्थ ‘मनषा, वाचा र कर्मणा’ काम गर्नु पर्छ भनेर जानेरै प्रसिद्ध बनेका हुन् । सबैभन्दा पहिला त ‘नेसन फष्ट’को कुरा मनमा आउनु प¥यो । अनि त्यसपछि आफ्नो सीप, ऊर्जा र सपनालाई आफ्नु क्षेत्रमा केकति गर्न सकिन्छ भनेर सिर्जनात्मक रूपले सोच्नु प¥यो । नाम कमाउनका लागि जीवनमा आफूले रोजेका र खोजेका क्षेत्रहरू नै काफी छन् । यसमा हिनताबोध नपालीकन लागि रहने हो भने एकदिन जोसुकै पनि सफलताको सगरमाथा चढ्न सक्छ तर त्यसमा प्रचुर लगनशीलता र अतुल धैर्यता चाहिन्छ ।

जो गफ गर्छ त्यसले देश रत्तिभर बनाउँदैन । जसले काम गर्छ त्यसले आज, भोलि र पर्सि गर्दै देशलाई गम्भीर योगदान दिइरहेको हुन्छ । परिवर्तनका सुखद् रश्मिहरू अहिले परिवर्तित नेपालका विभिन्न क्षेत्रमा देखा पर्न थालिसकेको छ । नेपालमा मानिस नभएका होइनन् तर तिनीहरूलाई ‘टेन्सन फ्री’ भएर काम गर्न नदिइएको हो । प्रक्रियामुखी प्रशासनिक झैझमेलाले गर्दा ‘क्रियेटिभ’ मानिसहरू अझै विदेश पलायन भैरहेका छन् । विदेशमा सिष्टम छ, त्यहाँ काम गर्दा आनन्द आउँछ । कामप्रति भेद्भाव हुँदैन । ढोके, हुक्के, बैठके र चम्चेहरूलाई अनावश्यक हप्तावारी र महिनावारी पैसा खुवाउनु पर्दैन । कुण्डले, मुन्द्रे र तिघ्रेको कुनै गुञ्जाइस हुँदैन । नियम कानुनले भनेका कामहरू खुरूखुरू हुन्छन् । नहुने काम हुँदैनन् ।

जनता सरकारको कार्यशैलीप्रति विश्वस्त हुन्छन् । ट्याक्स तिर्न भनेपछि गर्व गर्छन् । लाइन लागेर कर तिर्दा म मेरो देश बनाउँदै छु भन्ने गर्वोक्तिमय भाव हृदयमा उमार्छन् । नेपालमा जोसुकै होस् कर तिर्न भनेपछि तीन पाथी पसिना काढ्छन् । भरसक छल्छन् । तिरे पनि थोरै कर तिरेर झारा मात्र टार्न खोज्छन् । यहाँ इमान्दार, कर्तव्यपालक, समय व्यवस्थापनमा पक्का र थोरै खर्चमा सादा जीवन चलाउने मानिसलाई पैसा कमाउने र हाइफाइयुक्त जीवन बिताउने मानिसले मानिस नै गन्दैनन् । जसरी हुन्छ घुस खाने, पैसा कमाउने र राजधानीमा आलिसान महल निर्माण गर्ने कर्मचारीका, नेताका, समाजसेवीका, सुरक्षा प्रमुखका, अभियन्ताका र चिकित्सकका सपना एवम् जपना हुन्छन् । सोर्सफोर्स हुनेहरू राजधानीबाहिर सरुवा भएर जान मान्दैनन् । यहीँ बसे ‘पार्ट टायम जब’ गर्न पाइने र थोरै समयमा कुस्त कमाउन पाइने प्रकल्पनामा मग्न हुन्छन् । गए पनि कमाइ हुने खालका मालदार सहरहरू वीरगञ्ज, बुटबल, भैरहवा, पोखरा, बिराटनगर, धरान, सुर्खेत र नेपालगञ्ज नै रोज्छन् । ताप्लेजुङ्, हुम्ला, जुम्ला, कालीकोट, दार्चुला, मनाङ् र मुस्ताङ्जस्ता देशका गौरव गर्नलायक प्राकृतिक रूपले हराभरा र संस्कृतिले सम्पन्न स्थानमा न त कर्मचारी नै जान मन पराउँछन् । न त चिकित्सक नै ।

केही वर्ष पहिले एकजना देशसेवी डा.चित्रप्रसाद वाग्ले थिए जसले जीवनका अधिक ऊर्जामय समय दुर्गम भेगका स्वास्थ्य सेवामा बिताए तर पछि उनी आफैँ क्यान्सरका रोगी भएर अल्पायु मै मृत्युवरण गर्न पुगे । राज्यलाई उनले जसरी अहोरात्र सेवा दिए बद्लामा उनले चाहिँ कठै ! उपचारै नपाई बिते । यो देश राम्रो र हुँदो काम गर्नेका लागि सदा वैरी भएको इतिहास छ !

राजनीतिक रूपले अहिले बाँडिएको नयाँ संरचनामा गएर देश बनाउने हो भने स्थानीय तहका तत्तत् स्थानमा ‘योग्याम् योग्याय’ भनेझैँ ‘हाम्रा मान्छेका ठाउँमा राम्रा मान्छे’ चुनेर पठाउने हो भने अब नेपालको कायापलट गर्न सकिन्छ । नत्र ‘नो हर्न प्लिज’ भनेझैँ हेर्दै जानु छ राजधानीमा लागू भएको यो निर्णय केही महिनामै उल्टिन्छ र फेरि यातायातको अव्यवस्था उही पुरानै गतिमा देखिन थाल्छ । अहिले चालकहरू चाहिँ सरकारी निर्णयको व्यङ्ग्यात्मक भावमा विरोध गर्न थालेका छन् –‘अब गाडीमा पूजा गर्ने घन्ट बोक्नु पर्ने भो !’ जनता रनभुल्लमा छन् । हाँस्नु कि रूनु ? जे भए पनि अहिलेलाई ‘नो हर्न प्लिज’ नै भनूँ है ! पाठकगणहरू ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework