लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

महाभारतकी कुन्ती—१३

बिहीबार, १४ बैशाख, २०७४ मा प्रकाशित, 5871 पटक हेरिएको

हरिविनोद अधिकारी- साँच्चै एउटा गज्जब छ नि । द्रुपद महाराजलाई जितेर अपमानित गर्दै गुरु द्रोणाचार्यको पाउमा लगेर पछार्ने त कौरब र पाण्डव नै हुन्, झन् त्यसमा पनि मेरो छोरो अर्जुन नै मुख्य थियो रे, गुरुको आज्ञापालनमा सबैभन्दा ।

गुरु द्रोणाचार्यले अर्जुनमा त्यो क्षमता देखेर नै द्रुपदसँग प्रतिशोधको बदला जसरी पनि लिन भावी पात्र तयार गर्नु भएको बुझियो । त्यही भएर होला, एउटा अभ्यास भएको रहेछ पाठशालामा । दरबारभित्रै पठन पाठन भएको भए पनि पाठशाला वा शिक्षालय बेग्लै थियो, जहाँको साम्राज्याधिपति गुरुहरु नै हुनुहुन्थ्यो । गुरुकुलमा चक्रवर्ती भनेको गुरुहरु नै हुनुहुन्थ्यो । भन्थे दरबारमा— गुरु द्रोणको चालढाल गुरुको भन्दा पनि एउटा सेनापतिको जस्तो छ । अनुशासन प्रिय, भनेको हुनै पर्ने, शस्त्रास्त्रको एकदम ज्ञाता र गुरु परशुरामबाटसमेत ज्ञानको कृण्ड लिएर आउनु भएको छ रे । तर ब्राह्मणको कर्तव्य हुन्छ आफूसँगको विद्या सुपात्रमा तत्काल वितरण गर्ने र आफू गुरु कर्तव्यबाट विमुख नहुने । गुरु भनेको अँध्यारो चिर्ने नै हो र बालक वा शिक्षार्थी भनेको बाटो खोज्दै हिँडेको बटुवा नै हो । सीमित विद्वानहरुको संख्यामा असीमित शिक्षार्थीहरुको लामो ताँती हुन्छ जहाँ गुरुहरुले निःस्वार्थ, निष्पक्ष र आवश्यकतानुसार तृष्णा तुष्ति गराउने चलन हुन्छ ।

कृपाचार्य त कुल गुरुको रुपमा पूजनीय हुनुहुन्थ्यो नै । कुलगुरुले ज्वार्इँको रुपमा प्रवेश गराइनु भएका द्रोणाचार्यको नै हालीमुहाली थियो हाम्रो दरबारभित्रको गुरुकुलमा । एकप्रकारले ससुराली नै त ठहरियो हस्तिनापुर ।

द्रोण र द्रुपदको दोस्ती अनि द्रोण र द्रुपदको शत्रुता । दुवै इतिहासका विषय बने र त्यसको परिणामचाहिँ हस्तिनापुरमा देखियो । गुरुले पनि द्रुपद महाराजसँग बदला लिन हाम्रै परिवार वा छोराहरुलाई प्रयोग गर्न चाहनु भयो र प्रणालीगतरुपमा हस्तिनापुर प्रवेश गर्नुभयो । अनि गुरुसँग बदला लिन द्रुपद महाराजले पनि तिनै उहाँका चेलाहरुलाई प्रयोग गर्नुभयो, जसले गुरुको प्रतिशोधको ज्वालालाई मूर्तरुप दिनका लागि द्रुपद महाराजलाई जितेर अनि पाता कसेर गुरुको पाउमा टक्र्याएका थिए । त्यही बदलामा द्रुपद महाराजको आधा पाञ्चाल राज्य गुरुको सेवामा चढ्यो र गुरु एकप्रकारले हस्तिनापुर अन्तर्गतको एउटा राज्यको महाराजको रुपमा स्थापित हुनुभयो । तर गुरुले हस्तिनापुर छोड्नु भएन र पनि त्यो शत्रुताको एउटा तुस जुन थियो, त्यही नै पारिवारिक युद्धको एउटा झिल्कोको रुपमा कुरुवंश नै विनाश गर्न वा डढाउन प्रशस्त भयो ।

धृष्टद्युम्नले गुरुको हत्या गरे, शिखण्डीले भीष्म पितामहको मृत्युको कारण बनेको युद्धको नेतृत्व गरे र द्रौपदीले त सर्वनाश नै गरिन् भने पनि हुन्छ भनेर मान्दा पनि केही बिग्रँदैन । मैले यस्तो मृत्युको मुखमा झुठो किन सम्झने, द्रौपदी हाम्रो परिवारमा आएपछि श्रीवृद्धि पनि भयो र विनाशको आधार पनि भयो । कुनचाहिँलाई म आफ्नो श्रीवृद्धि मानौँ , जब सबै समाप्त भएर अहिले मृत्युको पर्खाइमा रहेका हामी बृद्धबृद्धाहरुको खासै सोधपुछ हुँदैन ।

जब म मेरा छोराहरुको शिक्षाको कुरा सम्झन्छु, पाण्डुले सानैमा गरेको व्यवस्था पनि एकदम राम्रो थियो । वैदिक कालमा शिक्षालाई शुद्ध उच्चारण र आचरणका लागि दिइने ज्ञानको आधार मानिएको थियो र शिक्षाको प्रमुख काम शुद्ध उच्चारणद्वारा वेदको सारस्वरसहित मन्त्र साधना थियो । धेरै पहिले देखि, इतिहासले पत्ता लगाउन नसक्ने समयमा पनि सर्व प्रचलित नियम कानुन भनेको वेदमा व्यक्त मन्त्रहरू नै थिए । आज पनि वेदको उचित प्रयोग गरी दैनिक जीवनमा प्रयोग गर्ने हो भने जीवन शान्तिमय र सुखमय हुनसक्दछ भन्ने धारणा व्यासजीको यथावत छँदैछ । आखिर वेदलाई परिमार्जन गर्ने पनि व्यास नै हुनुभयो ।

वैदिक कालमा प्रयुक्त सामाजिक जीवनमा यजमान र पुरोहितको कार्य सिद्धिका लागि वेद नै उचित मार्गदर्शक उपाय थियो र वेदका वाक्यहरूलाई सूत्रबद्ध गरी व्याख्याद्वारा समाज सञ्चालन गरिएको थियो । तपस्या अर्थात् कठोर परिश्रमद्वारा प्रयोगसिद्ध परिणामलाई नै वेदमा स्थान दिइएको पाइन्छ । जीवन, सङ्गीत, शिक्षा, कृषि, चिकित्सा, शस्त्रास्त्र, तप, ध्यान, प्रकृति पूजा र खगोल अध्ययन नै वैदिक कालका महान उपलब्धिहरू थिए र तिनैलाई संवरण गर्दै कल्पित महान सुख भोगका लागि धर्मबाट मात्र प्राप्त हुनसक्ने स्थापित मान्यताका आधारमा मृत्युपश्चातको स्वर्गसमेत ऋषिहरूको ज्ञानको नियन्त्रणमा रहेको पाइन्छ । तर ऋषिहरू स्वर्गीय सुखको प्रयोग गर्दैनथे र अरुको सुखका लागि आफ्नू जीवनलाई सदैव कष्टकर र खतरामा राखी प्राप्त सकारात्मक परिणामबाट अरुको सुखी जीवनलाई अनुभूत गरी त्यसैबाट आफूलाई धन्य धन्य सम्झन्थे । त्यसमा मेरा छोराहरुले पनि त्यस्तै जीवन यापन गर्न चाहेका थिए, मैले नै धेरै उदाहरणहरु दिएर राज्य सञ्चालनमा लगाएँ किनभने असले व्यक्तिहरु शासनमा रहेनन् भने मानवता मर्ने छ र कमसल व्यक्तिहरुको हातमा सत्ता पुगेपछि संसार आफैँ ध्वस्त हुनेछ । जनताका मनमा राज्यप्रति जब नैराश्यता उत्पन्न हुन्छ, त्यो राज्यको जीवन अल्प हुन्छ किनभने राज्य भनेको जनता हुन् । अनि मैले नै युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवलाई बाँच्ने भरोसा दिएँ र धर्मको लागि आवश्यकता परे हतियार उठाउनसमेत उत्प्रेरित गरेँ । तर के भयो–के भयो ? सम्पूर्ण परिवार नै तहस नहस भयो ।

हस्तिनापुरमा शिक्षा लिन र दिनका लागि केही मानकहरू थिए । पाण्डवहरूको क्षमता, कौरबहरूको बाहुबल, कर्णको दानवीरता र धनुर्वेदको ज्ञान, भीष्मको चातुर्यता र महान क्षमता, द्रोणाचार्यको शैक्षिक क्षमता आदि र श्री कृष्णको चौसट्ठी कलाको पूर्ण शिक्षा यस बेलाको शिक्षाको विकासको एउटा नमुना मान्न सकिन्छ । परशुरामको रक्षता,ज्ञानशीलता, वीरता र क्षमता अनि हाम्रो बेलामा राजा महाराजाहरू राज्य सञ्चालन प्रक्रिया र रणकौशलतालाई हाम्रो गौरवलायक समयको रुपमा लिन सकिने छ यदि आजको इतिहास पछिसम्म संरक्षण गर्न सके भने ।

शिक्षा प्राप्त गर्ने एउटा वर्ग छ । ब्राह्मण, क्षत्री तथा राजकुलका बालकहरू यसका हकदार मानिन्थे । कहिलेकाहीँ ब्राह्मणलाई मात्र, कहिले क्षत्रीलाई मात्र शिक्षा दिने पनि प्रचलन देखिन्छ । तर त्यो चाहिँ विशेष कारणवशमात्र व्यवहारमा ल्याइएको हो भन्ने कारणहरू पनि पाइएको छ । राजकुमारी, राजमाता तथा दरबारका अन्य सहयोगी महिलाहरूलाई खुला शिक्षालयमा भर्ना गरेको प्रमाण कतै नपाइए पनि हामी दरबारका महिलाहरूको चेतनास्तर अत्यन्तै उच्चस्तरीय देखिन्छ । गङ्गाको सोचाइ, सत्यवतीको भविष्य प्रतिको धारणा, मैले नै देखाएको संयमता, द्रौपदीको आचार तथा सहनशीलता, गान्धारीको पवित्र सोचाइ तथा कर्णकी वामाङ्गी वृषालीको बुद्धिमत्तापूर्ण व्यवहारले त्यही पुष्टि गरेको छ । मैले मन्त्रहरूको सिद्धि गर्नु र गान्धारी—द्रौपदी आदिमा वरदान—श्राप दिनसक्ने सिद्धियुक्त क्षमता हुनुमा शिक्षाको तागत हुनुपर्दछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । तर यो क्षमता हामीमा आउनुमा पनि कतै न कतै शिक्षा त होला नि ।

हाम्रो माइतीमा पनि वसुदेव दाइले हलधर वलराम र कृष्ण कह्नैयालाई महर्षि गर्गको सल्लाहअनुसार गुरु सान्दीपनिको आश्रममा पढ्न पठाउनु भएको थियो रे । अचम्म भयो रे, त्यो कृष्णले त ३२ दिनको रात र दिन गरी ६४ जीवनोपयोगी कला अर्थात् ६४ (चौसट्ठी) कला पो सिकेको थियो रे । कृष्णको त्यो अद्भूत क्षमता देखेपछि गुरु सान्दीपनिले उल्टै कृष्णको पो आराधना गर्नु भयो रे र भन्नुभयो रे— साँसारिक लीला पूरा गर्नका लागि हजुर मेरो गुरुकुलमा आउनु भएको थियो, मैले पनि त्यो नाटकको पात्रको रुपमा हजुरलाई सिकाएको जस्तो गरँे, हजुरले पनि नाटकको एउटा मूलपात्रको रुपमा सिकेको जस्तो गर्नुभयो ।

अनि अन्तमा गुरुलाई गुरु दक्षिणा दिनै पर्थ्यो । मलाई साँच्चै कृतज्ञ गराउनु भयो । म गदगद भएँ । हजुरहरु सामान्य शिष्यहरु जस्तै गरेर गाई पनि चराउनु भयो, दाउरा पनि खोजेर ल्याउनु भयो, जमुनाजीबाट पानी पनि लिएर आउनु भयो र मेरो यो खस्रो पाउमा ती नौनीजस्ता साना साना करकमलले सेवा समेत गर्नुभयो । धन्य हे लीलाका धनी, कृष्ण भन्दै आँखाबाट अश्रुधारा बगाउँदै विदा गर्नु भएको थियो रे गुरुकुलबाट ।

ती बलराम र कृष्णले गुरु दक्षिणा दिनका लागि गुरुको इच्छाबमोजिमको सेवा गर्ने निधो गरेका थिए रे । उल्टै गुरुले भन्नुभयो रे— मैले पो हजुरको दर्शन पाएँ, यो जीवनरुपी नाटकमा एउटा पात्रको काम हजुरसँग गर्न पाएँ । म यसैमा भाग्यमानी छु । अरु के पो चाहियो र मलाई ? तर नियतिको खेल होला, मेरा भदाहाहरुले कर नै गरे रे । अनि गुरुले पनि आफ्नो मुटुभित्र रहेको एउटा दुःख पोख्दै भन्नुभयो रे— हुन त हजुरलाई थाहा नभएको के छ र ? म के भन्छु पनि थाहा छ हजुरलाई । तर मेरो छोरो समुद्रमा नुहाउन गएको अहिलेसम्म फर्केन, उसको फिर्ती चाहन्छु । कृष्ण र बलरामले गुरु दक्षिणास्वरुप गुरुपुत्रलाई स्वर्गबाट फिर्ता ल्याएका थिए रे । मैले यो कुरा व्यासलाई एकदिन बिस्तारै सोध्दा उहाँले अझ कृष्णको यत्ति वयान गर्नु भएको थियो कि म त छक्कै परेँ ।

अहिले यो क्षण किन मलाई शिक्षाको कुरा मात्र मनमा आएको होला । हाम्रो बेलामा त शिक्षाको श्रोत प्रकृति देखिन्छ । प्रकृतिमा भएका अद्भूत तर रहस्यमय विशेषतालाई व्यावहारिकरुपमा कसरी सम्भव भएको होला भन्ने प्रमाणीकरण गर्ने प्रयोगधर्मी ज्ञान नै शिक्षाको रुपमा ग्रहण गरेको देखिन्छ । सिद्धान्त तयार गरी त्यसलाई प्रयोगद्वारा सिद्ध गर्ने व्यक्ति नै गुरुको रुपमा पुजिएको पाइन्छ । पुजिएका पनि छ, छन् । वशिष्ठ, विश्वामित्र, गर्ग, दुर्वासा, अगस्ति आदि गुरुहरुबाट शिक्षा प्राप्त गर्ने उपाय भनेको गुरुको आश्रममा चेलाहरू गई ज्ञान आर्जन गर्ने वा गुरुलाई राजाको दरबारमा ससम्मान बोलाई ज्ञान उपलब्ध गराउन अनुरोध गर्ने गरेको पाइन्छ ।

उदाहरणका लागि उपनयनपश्चात् श्रीरामसहित चारैभाइ विश्वामित्रको अनुरोधमा वनमा गई शिक्षा आर्जन गरेको सुनिन्छ । अनि अहिले श्रीकृष्ण र वलरामजी गुरु गर्गको सल्लाहमा काश्यपगोत्रीय विद्वान सान्दीपनिका आश्रममा गएर चौसठ्ठ अहोरात्रमा चौसठ्ठीकलाको शिक्षा ग्रहण गरेको सुनियो । चौसठ्ठीकलामा यी शिक्षा पर्दारहेछन् भन्ने पनि थाहा पाएँ मैले । त्यो पनि एकदिन कृष्णलाई ने सोधेँ— के के पढ्नु पर्दो रहेछ ६४ कलामा । हुन त मैले यो कुरा अर्जुनलाई सोधेकी भए पनि भन्थ्यो होला तर खोइ र समय छोराहरुलाई भेट्ने ? दरबारमा हामी रानीहरु त राजकुमार जन्माउने यन्त्रजस्तै पनि पो हुन्छौँ त । कृष्णले भनेको यी हुन् रे ६४ कलाको पहिलो भाग ।

१) गान विद्या, २) वाद्य, ३) नृत्य, ४) नाट्य, ५) चित्रकारी, ६) बेलबुटा भर्ने, ७) चामल तथा फूलहरूबाट पूजाको उपहारको रचना गर्ने, ८) फूलहरूको शैया बनाउने, ९) दाँत, बस्त्र तथा अङ्ग रँगाउने, १०) मणिमाणिक्यले घर आँगन सजाउने, ११) खाट बनाउने, १२) खोला वा नदी वा समुद्रमा पानीको लागि बाँध बाँध्ने, १३) विचित्र सिद्धि देखाउने, १४) हार माला आदि बनाउने, १५) कानमा लगाउन तथा चुल्ठोमा बाँध्नका लागि फूलको गहना बनाउने, १६) अत्तर तथा अन्य सुगन्ध तेल निर्माण गर्ने, १७) फूलका गहनालाई विभिन्न अङ्गमा सजाउने वा लगाउने, १८) कानका पत्तीको रचना गर्ने, १९) कपडा तथा गहना बनाउने, २०) इन्द्रजाल वा जादुगरी गर्ने, २१) चाहेको जस्तो भेष धारण गर्न जान्ने, २२) हातका सफाइ गर्न जान्ने, २३) सबै प्रकारका खाना बनाउन जान्ने, २४) सबै प्रकारका पिउने पदार्थ बनाउन जान्ने, २५) सिलाई, कटाई तथा बुनाई गर्ने, २६) कठपुतली बनाउने र नचाउने, २७) पहेली—अड्को थाप्ने, ज्ञान बुद्धि बढाउने खालका कविता तथा कथाहरू तत्काल बनाउने, २८) प्रतिमा बनाउने, २९) कूटनीति, ३०) ग्रन्थ पढ्ने र पढाउने चातुर्य, ३१) नाटक तथा कथाको रचना गर्ने, ३२) समस्यापूर्ति गर्ने, ३३) पिरा, आसनी, कुर्सी, पलङ, काठ, बेत र वाण बनाउने, ३४) गलैँचा, दरी आदि बनाउने, ३५) खेती गर्ने, ३६) घर बनाउने, ३७) सुन चाँदी आदि धातु तथा हीरा पन्ना आदि रत्नहरूको परीक्षा गर्ने, ३८) सुन चाँदी बनाउन जान्ने, ३९) मणि माणिक्यको सक्कली र नक्कलीको रङ चिन्ने, ४०) खानीको पहिचान गर्ने, ४१) वनस्पतिको चिकित्सा, ४२) भेडा, कुखुरा, बटेर आदि लडाउने तरिका, ४३) सुगा, मैना तथा अन्य चराचुरुङ्गीको बोली बोल्ने, ४४) उच्चारण विधि, ४५) कपालको विभिन्न साजसज्जा गर्ने, ४६) मुठ्ठीमा लुकाएको चीज तथा मनको कुरा भन्ने, ४७) म्लेच्छ काव्य पढ्ने र बुझ्ने,४८) विदेशी भाषाहरू जान्ने, ४९) शकुन अपशकुन जान्ने, प्रश्नको आधारमा शुभाशुभ भन्नसक्ने, ५०) विभिन्न प्रकारका मातृका यन्त्रहरू बनाउन जान्ने, ५१) रत्नलाई विभिन्न आकारमा काट्न जान्ने, ५२) साङ्केतिक भाषा बनाउन जान्ने, ५३) मनमा नयाँ नयाँ कल्पनाद्वारा रचना गर्ने, ५४) नयाँ नयाँ कुरा निकाल्ने, ५५) छलद्वारा काम गर्ने गराउने, ५६) सबै कोशको ज्ञान, ५७) सवै छन्दको ज्ञान, ५८)लुगा लुकाउने वा तत्काल लुगा बदल्ने, ५९) द्यूतक्रीडा, ६०) टाढाका मानिस वा वस्तुलाई आकर्षण गर्ने विद्या, ६१) केटाकेटीका खेलहरू खेल्न जान्ने, ६२) मन्त्रविद्या,६३) विजय प्राप्त गर्ने विद्या, र ६४) भूत, प्रेत, पिसाचलाई वशमा राख्ने विद्या ।

साँच्चै यी कुराहरु सिक्ने भनेको संयमता र क्षमताले मात्र सम्भव हुने रहेछ । मैले कहिले पनि सोधिन मेरा छोराहरुले यी सबै कुरा सिके कि सिकेनन् गुरुहरुसँग ? प्रतिशोधले प्रतिशोध जन्माउँछ भन्थे । द्रोणले पक्कै सिकाउनु भयो होला । तर मलाई अहिले पनि लाग्दैछ— हामीले द्रौपदी फेला नपारेको भए हाम्रो भाग्य कस्तो हुन्थ्यो होला र हाम्रो परिवारको चक्र कसरी घुम्थ्यो होला ? नियतिले पहिले नै गणितका सूत्र जस्तै तयारी परिणामका वरिपरि त हामी घुम्ने रहेछौँ नि ।

गुरुकुल बास्तवमा स्वतन्त्र वातावरणमा, वनमै वा स्वतन्त्र स्थलमा नै बनाइन्थ्यो । सुरक्षाका लागि सेनाको आवश्यकता किन पनि महसुस गरिँदैनथ्यो रे भने त्यहाँ आएका क्षत्री कुमारहरु सबै नै शस्त्रास्त्र सिक्नका लागि तयारीसाथ आएका हुन्थे । त्यहाँ कसैको पनि हस्तक्षेप मान्य हुँदैनथ्यो रे तर हाम्रा राजकुमारहरुलाई शिक्षा दिनका लागि दरबारको प्रत्यक्ष निगरानीका गुरुकुल स्थापना गरिएको जस्तो लाग्थ्यो । सायद भारत साम्राज्यको उत्तराधिकारीको सुरक्षाका लागि पनि होला, या एउटा लक्ष्यसहितको शिक्षाको आवश्यकता पर्ने भएकाले दरबारको प्रत्यक्ष निगरानीमा शिक्षा दिने काम गर्नु जरुरी भएकाले पनि होला, गुरुहरुको साम्राज्यलाई सार्वभौमिकताको रुपमा स्वीकार गरी हस्तिनापुरमा नै सबै प्रायोगिक स्थलहरुको निर्माण गरिएको थियो रे । गुरुकुलका अरु नियमहरु यथावत् थिए । परिस्थिति र आवश्यकताअनुसार केही परिवर्तन भए पनि विधि भने एउटै हुन्थ्यो हाम्रा माइतमा वा हाम्रो राज्यमा पनि ।

दरबारमा सुनिन्थ्यो— बनमा फालिएकी, चराले पालिएकी शकुन्तलाले ऋषि कण्वले अभिभावकत्वमा आफ्नै आश्रममा सङ्गतले शिक्षा प्राप्त गरेको, उनको तथा दुष्यन्तपुत्र भरतले शकुन्तलाबाट जन्म भए पछि वनमा ऋषि कण्वका आश्रममा सम्पूर्ण शिक्षा बालककालमा नै प्राप्त गरेको प्रसङ्ग दरबारमा सुनिन्थ्यो । भीष्म पितामहले देवव्रतका रुपमा गङ्गासँगै रहँदा नै वशिष्ठसँग वेदको शिक्षा प्राप्त गरेको र गुरु परशुरामका आश्रममा गएर धनुर्वेदको शिक्षा प्राप्त गरेको प्रसङ्ग पनि त छ । उनै भीष्मव्रती देवव्रतसँग माता अम्बाको विषयमा लडाइँ हुँदा परशुरामले पराजय बेहोर्नु परेको पनि थियो । तिनै परशुरामसँग द्रोणाचार्यले ब्रह्मास्त्र सिकेका थिए भने महादानी कर्ण मेरो मुटुको टुक्रा तर जसलाई संसारले राधेय वृषसेण भनेर चिन्यो— त्यही कर्णले महेन्द्र पर्वतस्थित गुरुकुलमा गई व्रह्मास्त्र सिकेको थियो तर व्राह्मणलाई मात्र सिकाउने उनको शपथसँग कर्णले झुठो बोली छलद्वारा सिकेकाले आवश्यक परेको बेलामा उनले त्यो शिक्षाबाट उपलब्धि पाउन नसक्ने श्राप पायो रे र अन्तिम समयमा उसलाई त्यो विद्याले काम दिएन, जुन उसले सिकेको थियो । यदि त्यो विद्याले सकुशल काम दिएको भए अर्जुन मारिन्थ्यो । त्यो पनि म कल्पना गर्न नै सक्दैनथेँ । कर्णले भनेजस्तै पो भयो । कि म, कि अर्जुन बाँच्नेछौँ । तपाईँलाई पाँचको पाँच भन्थ्यो कति निर्लोभी तरिकाले । मानौँ अर्जुनको आयु उसको इच्छामा छ या अर्जुनको इच्छामा उसको आयु छ । वृषसेणपश्चातमात्र द्रोणाचार्य सिक्न गएकाले व्राह्मण हो कि होइन भनी धेरै नै जाँचपडतालको सामना गरेको प्रसङ्ग पनि दरबारमा सुन्न पाइन्थ्यो ।

पराशरले आफ्ना छोरा श्रीकृष्ण द्वैपायन वेदव्यासलाई जन्मँदै सम्पूर्ण शिक्षा प्रदान गर्नुभयो, व्यासले पनि आफ्ना पुत्र शुकदेवलाई जन्मने बित्तिकै सम्पूर्ण शिक्षा प्रदान गर्नुभयो । कौरव र पाण्डवलाई शिक्षा दिन भीष्म पितामहले कृपाचार्यलाई आफ्नै दरबारमा नियुक्त गर्नुभयो र पछि आचार्य द्रोणलाई राजपरिवार र अन्य राजा रजौटाका छोराहरूलाई शिक्षा दिनका लागि नियुक्त गरेको रे । त्यतिमात्र होइन, त्यसबेलामा आचार्य द्रोण बराबरका अन्य कुनै गुरु धनुर्वेद र राजनीति शास्त्रका , अर्थशास्त्रका लागि र जीवन शास्त्रका लागि योग्य नभएकाले द्रोणका बाल्यसखा तथा चिरशत्रु राजा द्रुपदले द्रोणलाई मार्नसक्ने छोरोको आशीर्वाद पाएका थिए धृष्टद्युम्नको रुपमा यज्ञबाट द्रौपदी वा कृष्णासँगै । द्रुपद राजाका दरबारमा शिखण्डीको यो जन्म भएको पनि भीष्मको अन्त्यका लागि थियो । द्रोणाचार्यलाई र भीष्म पितामह दुवैलाई यो कुरा थाहा थियो र पनि ती दुवै राजकुमारका रुपमा अतिथिजस्तै भई द्रोणको पाठशालामा सकुशल र निष्कण्टक शिक्षा प्राप्त गरेका थिए । सबै शिष्यहरुको खर्च राजकोषबाट नै बेहोरिन्थ्यो । कुलपतिहरू सामान्यतः स्वतन्त्ररुपमा आफ्ना गुरुकुल सञ्चालन गर्दथे तर उनीहरूका चेला भनेका ब्राह्मणपुत्रहरू तथा क्षत्रीयपुत्रहरू नै हुन्थे । सामान्यतया महिलाहरूलाई गुरुकुलमा राखिएको थाहा भएन , पहिले पनि गुरुकुलमा राखेको सुनिएन ।

भन्थे विदामा आउँदा छोराहरु— गुरु द्रोणको अलि बढी नै माया वा वास्ता अर्जुनमाथि देखिन्छ । सायद अर्जुनमा त्यो धैर्यता थियो कि ? या अर्जुनमा त्यो क्षमता गुरुले देखिसक्नु भएर हो कि ? अरु त अरु, आफ्नो समवयी छोरा अश्वत्थामाको भन्दा बढी माया देखाएको कुरा सुनिन्थ्यो । केटाहरुले कुरा गरेको सुनेकी । गुरुहरुका लागि सबै शिष्यहरु बराबरी भए पनि केहीलाई अलि बढी नै आशीर्वाद दिने गर्नुहुन्छ रे गुरुहरुले भन्दा रहेछन् । सायद त्यही भएर होला, केही दिनको सेवा सुश्रूषाले पनि मलाई दुर्वासा ऋषिले त्यस्तो वरदान दिनु भएको थियो जुन अहिले मलाई स्मरणीय र विस्मरणीय दुवै हुने गर्छ ।

एकदिन खाँदाखाँदै झ्याप्प बत्ती निभेछ रे छात्रावासमा । सबैले बत्ती नहुँदा तत्कालै खाना त मुखमै परेको हुनाले के सिके रे भने लक्ष्य वेधन गर्न उज्यालो नै चाहिने होइन रहेछ । अभ्यासले पनि हुने रहेछ । कत्रो ठूलो सिद्धान्त एउटा सामान्य प्रयोगमा । हो त नि, कहिले पनि खाना नाकतिर त जाँदैन नि किनभने खाँदाखाँदै अभ्यास भएर त होला ।

यसै त गुरु द्रोणाचार्य अलि तामसी नै हुनुहुन्थ्यो, झन द्रुपद महाराजले नचिनेको जस्तो गरेर अपमान गरेपछि त उहाँलाई एउटा अपमानको बदला अर्को अपमानले लिने प्रतिशोधको भावना जागेछ । वास्तवमा रीसले रीस नै जन्माउँछ, द्वेषले द्वेष नै जन्माउँछ अनि प्रतिशोधले प्रतिशोधको ज्वाला नै दन्काउँछ जस्तो कि बलिरहेको आगोमा, धुनीमा तोरीको तेल, तिलको तेलले निभाउन खोजेर निभ्छ र ? झन् झन् जाज्वल्यमानसँग बल्छ पो । त्यस्तै भएछ गुरुलाई ।

गुरुकुल आफैँमा एउटा शिक्षा प्रणाली हो । जीवनमा नभई नहुने तत्वमध्ये शिक्षा त झन् महत्वपूर्ण तत्व नै हो । गुरुकुल पनि आफ्ना आफ्ना विशेषताले, विज्ञताले प्रख्यात हुन्छन् । गुरुकुल भनेको गुरुको क्षमताको अर्को नाम हो । कतै वाणका वारेमा, कतै शिक्षाका वारेमा, कतै रणकौशलका वारेमा त कतै ध्यान योगका वारेमा त कतै अर्थशास्त्रका वारेमा र कतै राजनीतिका नैतिक प्रश्नका नसुल्झिएका अनुत्तरित उत्तरमा । गुरुकुल स्वतन्त्र र राज्यभन्दा फरक तर राज्यको सुरक्षा प्रवन्धमा रहने गर्छन् । तिर्खा लाग्दा खोला धाउने कि प्यासी धाउने भन्ने कुरा जस्तै हो गुरुकुल । ब्राह्मणको घरमा त कोही पनि अपठित हुने कुरै भएन, राजाको दरबारमा कुनै राजकुमार अशिक्षित हुने कुरै हुँदैनथ्यो । गुरुकुलमा जस्तो नियम छ, त्यस्तैमा बसेर शिक्षार्जन गर्ने चलन थियो । त्यस्तै थियो त महाराज पाण्डुको जीवनसम्म हाम्रो पनि । हामीले पनि आफ्ना पाँच राजकुमारलाई गुरुहरुको जिम्मामा दिएका थियौँ र गुरुहरुले पनि त्यहीअनुसार शिक्षा दीक्षा दिनु भएको थियो । त्यहीँ नै हाम्रा कुमारहरुको क्षमता पहिचान भइसकेको थियो भन्ने पाण्डु महाराजको धारणा थियो । स्वयं पाण्डु महाराज आफैँ एक उच्चस्तरीय विद्वान, योगी, साहसी, धैर्यवान तथा क्षमतावान राजा हुनुहुन्थ्यो । जबदेखि उहाँलाई आफ्नो अन्त्यको आभास भयो, त्यसैबेलादेखि नै सन्तानको बढी नै चाह गर्न थाल्नु भएको थियो । ऋषिहरुको दिव्य वचन र भविष्यवाणीलाई आधार बनाएर उहाँ मसँग छलफल गर्नुहुन्थ्यो तर माद्रीलाई भने यी कुरा भन्नु हुन्नथ्यो । उहाँमा खासगरी युधिष्ठिरको शिक्षाका वारेमा चिन्ता बढी नै थियो किनभने भावी राजा त उही नै हो भन्ने उहाँमा दृढ विश्वास थियो । नभन्दै त्यस्तै भयो पनि मेरै जीवनकालमा ।

अहिले मलाई किन किन कृष्णको छवि आँखा अघिल्तिर आइरहेको छ । हाँसेको अनुहार । गान्धारी दिदीले श्राप दिँदा पनि उसले त्यस्तो कुनै प्रतिक्रिया देखाएन । अनि मैले बिस्तारै सोधेँ—के मेरा माइतीहरु निकट भविष्यमै समाप्त हुँदैछन् त दिदीको श्रापका कारणले ? उसले मन्दमुस्कानसहित बिस्तारै फुसफुसायो— जे हुनुपर्ने हो, त्यसैको लागि म नै गान्धारीको मनमा उब्जेर बोल्न लगाएको हुँ । हेर्नुस् त, त्यो श्रापका लागि गान्धारीमा पश्चाताप उम्लेर आएको छ । त्यो पश्चातापको आगोमा उनी जलिरहून् र त्यो भविष्यवाणी पूरा गर्न मैले छिटो द्वारिका जानु छ नि त दिदी । क्रमशः

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework