लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

महाभारतकी कुन्ती – १७

बुधबार, २५ साउन, २०७४ मा प्रकाशित,

युधिष्ठिरका धेरै राम्रा कुराहरु छन्, अडानका कुराहरु छन् र नैतिकताले भरिएको जीवन छ । तर एउटा कुरामा भने मैले अझै बुझिन– किन द्रौपदीका विषयमा भने पाँचै भाइकी साझा हुनुपर्छ भनेर युधिष्ठिरले जिद्दी गरेको होला ? परिवेत्ता र परिवेत्तीको कुरा किन उठाएको होला ?

-हरिविनोद अधिकारी

यो कुरा त हिडिम्बालाई विवाह गर्ने कुरामा पनि उठेको थियो र त हामीले हिडिम्बालाई कुटीमा नल्याएर बाहिरमात्र विचरण गर्नका लागि अनुमति दिएका थियौँ । हिडिम्बाको समस्या भनेको एउटी असुर महिलाको चाहना थियो कि मेरो दाजुजस्तो बलबानलाई मार्न सक्ने बहादुरसँगबाट एउटा सन्तान जन्माउन पाऊँ । दाजुभन्दा पहिले भाइको विवाह नगर्ने चलन थियो हाम्रो दरबारमा पनि । जब पाण्डुको विवाहको लागि प्रस्तावहरु आउन थाले, तत्काल त्यही समस्या आउला भनेर गान्धार नरेश सुबलकी अति राम्री कन्या गान्धारीलाई राजाको छोरासँग बिहेका लागि एकप्रकारले बाध्य पारिएको थियो । अनिमात्र पाण्डुलाई विभिन्न स्वयंवरमा जान अनुमति दिइएको थियो । गान्धारी दिदीसँग विवाह गर्ने अर्को पनि भित्री कारण के रहेछ भने पितामहलाई थाहा भयो कि गान्धारी दिदीलाई शिवजीले एकसय छोरा पाउने आशीर्वाद दिनु भएको छ । अनि एकसय सन्तानको आशामा नै त्यही केटी चाहिएको रहेछ । मेरो बारेमा त एकप्रकारले त्यो बेलामा चर्चा नै के रहेछ भने पृथा जति राम्री राजकुमारी यो धरामा नै छैन भनिन्थ्यो रे । मलाई केसम्म थाहा थियो भने जसल मलाई देख्थ्यो, त्यो त्यसै त्यसै मतिर हेरेरै बस्थ्यो । माइतीमा त कि नातेदार हुन्थे कि त कामगर्नेहरु जोसँग मेरो सम्पर्क हुन्थ्यो । दुर्वासाले पनि त्यस्तो वरदान जुन दिएछन्, सायद भित्री मनसाय अर्कै थियो कि ? खोइ म के भनुँ ? तर युधिष्ठिरले भाइले नै आफ्नो क्षमता देखाएर जितेकोले द्रौपदी उसकै भइन् भन्न सकेन । त्यो इन्द्रिय ग्रामलाई जित्ने महापुरुषलाई किन त्यो लोभले गाँज्यो होला ? मैले अझैसम्म बुझ्न सकेको छैन । भन्न त मैले जे ल्याएको हो, बाँडेर खाओ भनेकोलाई आधार बनाएर सबैकी साझा हुने कुरामा अडान लिइयो ।

वास्तवमा पछि बुझेअनुसार अर्जुनको मात्र करामतले द्रौपदी आर्जन भएकी रहिछन् । पछि पनि द्रौपदीको बढी नै मन परेको पतिचाहिँ अर्जुन नै थियो भनेर अरुले पनि कुरा काट्थे । मैले त त्यस्तो देखिन तर मलाई पनि लाग्थ्यो, द्रौपदीलाई अर्जुन नै बढी मनपर्थ्यो क्या रे । जुन उद्देश्यका लागि उनी यो संसारमा आएकी थिइन्, त्यो पूरा गर्न अर्जुनको साथ जरुरी थियो भन्ने कुरा नियतिमा नै थियो होला । नियति, कर्म र परिणामले जता लान्छ, मान्छे त्यतै डोरिने त हो नि ।

जब मेरो मृत्यु केही पलमा नै भइरहेछ भने, मैले आफैँले गर्ने विगतको जीवनको समीक्षामा के पो कमी राख्ने होला र ? किन पो आफूलाई नै ढाँट्ने र ? अरुलाई पो ढाँट्न सकिन्छ त, आफँैलाई ढाँट्न त कहाँ पो सकिन्छ र ? यदि व्यास र कृष्णले मध्यस्थता नगरेका हुन्थे भने द्रौपदीको उपस्थितिसँगै हाम्रो परिवारमा एउटा विग्रह आइसकेको हुन्थ्यो । मारामार अवश्यंभावी थियो, पौराणिककालमा शुम्भ निशुम्भको जस्तै । स्वयं माताले माया देखाउनु भएको थियो होला तर त्यसबेलामा द्रौपदी नै हाम्रो परिवारमा एउटा मायावी कन्याका रुपमा आइपुगेकी थिइन् ।

द्रुपद महाराज र उहाँका परिवार एउटी कन्यासँग पाँच जनाको विवाह गर्न राजी थिएनन् र तत्कालको सामाजिक परिवेशमा त्यो कुरा सुहाउने पनि थिएन । द्रौपदीको आगमन हाम्रो परिवारका लागि राम्रो कि नराम्रो ? एक दृष्टिले एकदम राम्रो र अर्को दृष्टिले साह्रै नराम्रो भन्दा पनि हुने । द्रौपदीको स्वयंवरमा नै हाम्रा छोराहरुका बीचमा वैमनश्य बढेको थियो क्यारे । नचिनेरै पनि । जुन साहस ती ब्राह्मण कुमारहरुले देखाए, त्यसमा नै मानिसहरुले शङ्का गरेका थिए रे कि यत्ति महसुर योद्धा त पाण्डवमात्र थिए भनेर । ब्राह्मणले राजकुमारीको स्वयंवरमा जानु हुने कि नहुने ? यो पनि एउटा महत्वपूर्ण प्रश्न थियो रे । अझ अर्को समस्या त के पनि भयो रे भने जुन समस्या महाराज द्रुपदले र महाराजकुमार धृष्टद्युम्नले राखेका थिए द्रौपदी प्राप्तिका लागि, त्यसमा कसले त्यो अचुक बाण तल पानीमा हेर्दै घुमिरहेको माछालाई निशाना साधेर, ठ्याक्कै माछाको आँखामा वाण हानेर गिराउनु जरुरी थियो रे । सायद त्यसमा जात, उमेर र वर्णको कुनै कुरा पनि थिएन रे । भन्न त पछि के भनियो भने यो सबै अर्जुनको क्षमतालाई ध्यानमा राखेर घोषणा गरिएको थियो तर अर्जुनको पो कतै पत्तो थिएन । अचानक कृष्ण कसरी त्यहाँ आइपुगे जबकि कृष्णले त्यो प्रतिस्पर्धामा भाग लिने कुनै जानकारी पनि पाञ्चाल राज्यमा थिएन रे ।

जुन दिन गुरु द्रोणाचार्यले महाराज द्रुपदलाई जितेकोले आधा राज्य दिनु परेको थियो अथवा पहिलेको रिसइबी साध्नका लागि मुख्य पात्र अर्जुन नै भएको थियो, त्यसै दिनदेखि द्रुपद महाराजको आँखामा अर्जुन परेको थियो । चाहे त्यो अपमानबोधको नबिर्सिने घाउको खाटाका कारणले होस् या दु्रपदजस्तो महारथीलाई जितेर गुरुको पाउमा घिसार्दै लैजाने युवा रथी अर्जुनलाई ज्वाईँ बनाउने लालसाले होस् । मागेको त द्रुपद महाराजले द्रोणाचार्यलाई पराजित गर्ने छोरो हो यज्ञबाट तर छोरो याज्ञसेन धृष्टद्युम्नसँगै याज्ञसेनी द्रौपदी कृष्णा पनि फेला परेकी थिइन् । दुवै कौरव वंशलाई नष्ट गर्नका लागि प्रत्यक्षतः थिएनन् तर प्रकारान्तरमा विश्वयुद्धको कारक बनिन् द्रौपदी अनि विश्वजीत द्रोणाचार्यलाई मार्ने क्षमता लिएर आए धृष्टद्युम्न । अटेरी धृष्ट । तर राजकुमार धृष्टद्युम्न यति नरम र अनुशासित थिए रे कि स्वयं द्रोणाचार्यले पढाउनु भएको हो हाम्रै दरबारमा स्थापित गुरुकुलमा भनौँ या विद्यालयमा ।

गुरु द्रोणाचार्यको पुत्र द्रोणी अर्थात् अश्वत्थामा अष्ट चिरन्जीवीमध्येका हुन्, लामो समयसम्म बाँच्न पाउने एकप्रकारले अमरत्व प्राप्त । अनि छोराको मृत्युको शोकले मात्र गुरुको अन्त्य सम्भव थियो । एउटा जटिलतम समस्या । गुरुको मन जति अर्जुनप्रतिको मायाले गाँजिएको थियो तर उहाँ हुुनुहुन्थ्यो हाम्रो संस्थापन पक्ष अर्थात् जेठाजुको राज्यप्रति बफादार गुरु, सेना नायक, एक असल रजौटा हस्तिनापुरको चक्रवर्तित्वभित्र किनभने पाञ्चालको आधाराज्य जो द्रोणका पाउमा अर्जुनले ल्याएको थियो । एउटा स्वतन्त्र राज्य पाञ्चालको आधा भागको राजा गुरु द्रोण । हाम्रो मुख्य दरबार अर्थात् कुरुवंशको राज्य सञ्चालन गर्ने दरबार जो हस्तिनापुरमा थियो, त्यहीँ सुन्थेँ म—ब्राह्मणले धनु साधेर शत्रु मित्रुको पक्ष भनेर लड्न पाइँदैन थियो रे । गुरुको काम त सिकाउनेमात्र हो पात्रत्वमा । तर किन द्रोणाचार्य र कृपाचार्यलाई लड्न बाध्य पारियो, अश्वत्थामालाई किन बाध्य पारियो रे भने एउटा छिमेकी राज्यले ठूलो राज्यलाई सघाउनु जरुरी हुन्थ्यो रे । हाम्रा छोराहरुको विवादमा कोही पनि स्वतन्त्र वा निष्पक्ष रहन सकेनन् । वातावरण नै यस्तो थियो, कि त पाण्डवतिर लागेर लड्नु पर्ने कि त दुर्योधन अर्थात् धृतराष्ट्रतिर लागेर लडुनु पर्ने । त्यही माखेसाङ्लोमा मेरा माइती पनि त परे । अनि कृष्णले भनेको रहेछ—दुर्योधन र अर्जुन सहयोग माग्न औपचारिकरुपमा गएका रहेछन् द्वारका । वृष्णीहरुको अत्यन्त कुशल सेना नारायणी सेना कि एक्लो कृष्ण रोज्न भनेको रहेछ । दुर्योधनले सेना रोजेछ अनि अर्जुनले निहत्था कृष्ण रोजेछ । कृष्णको शर्त रहेछ— म हतियार उठाउँदिन र लड्दा पनि लड्दिन ।

मन कता गयो कता । एउटा कुरा मनमा आउँछ, सम्झन कोसिस गर्न थाल्छु अनि तुरुन्तै अन्ततिर मोडिन्छ मन । किन होला ? सायद त्यही भएर युधिष्ठिरले यक्षरुपी धर्मराजसँग भनेको थियो होला —सबैभन्दा चञ्चल त मन नै हो ।

तर परिस्थिति कस्तो थियो भने पाण्डवको अस्तित्व त्यसबेलासम्म थिएन जुनबेलामा द्रौपदीको स्वयंवर हुँदै थियो । हामी ब्राह्मण परिवारको रुपमा विचरण गर्दै थियौँ । मलाई त केही पनि थाहा थिएन । जे शिकार गरेर ल्याए पनि, मागेर ल्याए पनि, खोजेर ल्याए पनि एउटी आमाको भूमिकामा मैले पाँचैभाइलाई बराबरी दिनैपर्थ्यो । भीमलाई अलिबढी नै खान दिनु मेरो ममताभित्रको समानताभित्र पर्थ्यो । वारणावर्तबाट जब हामी लाक्षागृहमा आगो लगाएर सुरुङ् मार्ग हुँदै भूमिगत भएका थियौँ, हाम्रो भित्री लक्ष्य नै शक्ति सञ्चय गर्नु थियो र सञ्चित शक्तिलाई राज्य फर्काउने स्तरसम्मको वृद्धि जरुरी थियो । त्यो हुँदैथियो शान्त तर तपस्याको स्वरुपमा । हाम्रो सम्पूर्ण ध्याउन्नचाहिँ शक्ति सञ्चयमा थियो तर त्यो शक्तिको श्रोत भने वैधानिक र भोलिका लागि बखेडा नहोस् भन्नेमा हामी सतर्क थियौँ । त्यसैले पनि ब्राह्मणको स्वरुपबाट हाम्रो परिवार परिवर्तन हुन चाहेका थिएनौँ । वास्तवमा मेरा र युधिष्ठिरका बीचमा मात्र ती गोप्य योजनाहरु हुन्थे, हामीलाई अरुको किन पनि चिन्ता थिएन भने ती आज्ञाकारी र अनुशासित थिए र दुःखलाई नजिकबाटै चिनेका थिए । ती चारभाइहरु दाजुको आज्ञाको पर्खाइमा मात्र हुन्थे । जस्तो कुरा पनि आज्ञा भयो भने त्यसलाई अकाट्य आदेश जस्तै मान्थे जस्तो कि महाकालका अनुचरहरुलाई दिएको आदेश जस्ताको तस्तै अविराम मान्ने गर्छन् । कोहीभन्दा कोही कम थिएनन् । यदि युधिष्ठिरले द्युतक्रीडामा हराइएको हो, हामी हारेको होइनौ भाइ हो, अब लडाई यहीँ अहिल्यै गरौँ भनेको भए सायद त्यो महाभारतको युद्ध त्यहीँ सभागृहमा नै हुन्थ्यो र राज्य हातमा लिएरमात्र पाँच भाइ बाहिर आउँथे । जनता पनि पाण्डवका पक्षमा नै थिए रे । तर युधिष्ठिरलाई सायद नियतिका वारेमा केही जानकारी थियो किनभने मैले हाम्रो परिवारमा घटित सबै क्रिया, प्रक्रिया र प्रतिक्रियाहरु ग्णितका सूत्र जस्तै लाग्ने गर्छन् । यदि यो नभएको भए... भन्दा अर्को घटना तत्कालै यसरी आउँछ कि त्यो घटना हुनै पर्थ्यो , नत्र अर्को परिणाम आउँदैन थियो । जस्तो कि मेरी सासूहरुकी ठूली दिदीलाई नफर्काएको भए शिखण्डीको जन्म हुँदैनथ्यो । त्यो परिणामसँग अम्बामातालाई फर्काइएको देखिन्छ किनभने पितामहलाई थाहा थियो शिखण्डीको सत्यकथा र उहाँले सत्यापन पनि गर्नुभएको थियो कि त्यो राजकुमार भनिए पनि यथार्थमा स्त्री नै हुन् भन्नेकुरा । नत्र निर्णायक रणभूमिमा स्त्रीसँग कहिल्यै नलड्ने आफ्नू ब्रत पालना कसरी गर्नसक्नुहुन्थ्यो र ?

मलाई युधिष्ठिरको आदेशप्रति कहिल्यै पनि शङ्का रहेन किनभने ऊ अधर्म, अनीति र अग्राह्य कुरामा चित्त नै लगाउँदैनथ्यो । तर किन जुवा खेल्ने कुरामा भने लहसियो ? हुन त त्यो हुनु थियो र भयो । र पनि त्यो कुरा अहिले सम्झँदा र दिदी जेठाजुसँग एउटै कुटीमा बस्नुपर्दा लाग्छ, एउटा पीडा उहाँहरुमा कतै थिचिएर बसेको छ । वास्तवमा बदलाको भावनाबाट अझै दिदी तथा जेठाजुहरु माथि उठ्न सक्नु भएको छैन भन्ने म अनुभूत गरिरहेकी छु । क्रमशः

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework