लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मदन पुरस्कार’ कँडेल र ‘जगदम्बाश्री’ वात्स्यायनलाई प्रदान

शुक्रबार, ६ असोज, २०७४ मा प्रकाशित,

काठमाडौँ, असोज ६ । मदन पुरस्कार गुठीले विसं २०७३ को ‘मदन पुरस्कार’ ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेल र ‘जगदम्बाश्री’ पुरस्कार व्यंग्यचित्रकार दुर्गा बराल ‘वात्सायन’लाई प्रदान गरेको छ ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले उनीहरुलाई शुक्रबार जनही रु दुई लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरे ।

गुठीले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास, विस्तार र प्रवद्र्धन गर्ने व्यक्तिलाई प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

मदन पुरस्कार विजेता कँडेलले मदन पुरस्कार जस्तो स्वच्छ, निष्पक्ष र गरिमायुक्त पुरस्कारद्वारा छन्दका कविता लेख्नेलाई दिएको सम्मानप्रति आफू निकै हर्षित भएको बताए । धादिङ जिल्लाको मलेखुमा जन्मिएका कवि कँडेलले वनारसबाट संस्कृतमा शास्त्री तथा नेपाली र अंग्रेजीमा स्नातकोत्तरसम्म शिक्षा प्राप्त गर्नाका साथै त्रिविमा नेपाली केन्द्रीय विभागका प्रमुखसमेत भइसकेका छन् ।

वनारसमा बस्दा उनले ‘उदय’, ‘आमा’, ‘छात्रप्रभा’ र ‘नयाँ पाइला’जस्ता साहित्यिक पत्रिकामा कविता लेख्न सुरु गरेका थिए । कवि कँडेलका ‘पच्चीस वर्षका खण्डकाव्य’, ‘देवयानी’, विश्वामित्र जस्ता कृति प्रकाशित छन् । ‘धृतराष्ट्र’मा अपांगता भएका र समाजमा हेलित भएकाहरुको पक्षमा आवाज उठाइएको छ ।

त्यसैगरी, नेपाली व्यंग्यचित्र विधा क्षेत्रका नक्षत्र वात्स्यायनले इतिहासमा पहिलोपटक ‘कार्टुनिष्ट’ले पुरस्कार पाउँदा ‘कार्टुन’ विधाका सबैलाई सम्मान गरिएको महसुस भएको बताए । नदीपुर पोखरामा जन्मिएका बराललाई सानैदेखि चित्रप्रति निकै शोख थियो ।

पन्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनःबहाली गर्न तथा उत्पीडन, शोषण, अन्याय, अत्याचार, विकृति र विसंगतिप्रति उनको कार्टुन निकै प्रखर मानिन्छ । ‘पाँच दशकभन्दा लामो कार्टुनकलाको यात्रामा यो पुरस्कार प्राप्त गर्दा मलाई ठूलो ऊर्जा र जिम्मेवारी थपिएको छ, यो यात्रालाई निरन्तर अगाडि बढाउने हौसला पाएको छु ’, उनले भने ।

गुठीका अध्यक्ष दीक्षितले वात्सायनले कार्टुन विधाबाट र कँडेलले खण्डकाव्यका माध्यमबाट नेपाली साहित्यमा पुर्‍याएको योगदान अतुलनीय रहेकोे बताए । गुठीले प्रदान गरेको यो मदन पुरस्कार ६१औँ हो । विसं २०१३ मा पुरस्कार स्थापना गरिएको हो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework