लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

रनभुल्ल जनता, भुङ्ग्रामा नेता र दलदलमा देश

शुक्रबार, २७ असोज, २०७४ मा प्रकाशित,

पेशल आचार्य/ हिजो पञ्चायतविरुद्ध लडेर प्रजातन्त्र ल्याउन त्याग÷तपस्या भाकेर विचार र सिद्धान्त पचाएका, जेल, नेल, प्रवास र सर्वस्वहरण सबै भोगेका तथा पुरानो राज्य सत्ताको कोपभाजनमा परेका कुनै नेतालाई २५ वर्षे युवा नेपालीले प्रश्न सोधेछ– ‘नेताज्यू, तपाईंको कल्पनाको नेपाल कस्तो छ ? अबका २५ वर्षपछि या मेरो उमेर पचास वर्षको हुँदा तपाईं हामीलाई कस्तो नेपाल सुम्पनु हुन्छ ? कुन सिष्टमले नेपाल एसियाको सबै दृष्टिमा टप देश बन्न सक्छ ?’

यी र यस्ता प्रश्न सुनेपछि भाउन्निएका ती नेता एकाएक नाजवाफ भएछन् किनकि तिनको दिल र दिमागमा नेपालको भावी अढाई दशकको कुनै छवि नै खिचिएको थिएन । उनी प्लान, प्रोसेस र प्रोडक्टमा अभ्यस्त थिएनन् । उनी पोलेसी मेकर र कुसल व्यवस्थापक समेत थिएनन् । जमानाले अब नेतामा व्यवस्थापकको योग्यता माग गरेको छ, जसबाट उनी कोसौं बेखबर र दूर थिए । उनी कांग्रेस थिए भने बीपीको विचार रटानमात्र गर्दथे, व्यवहारमा त्यसलाई कसरी इम्लिमेन्टेसन गर्ने थाहा थिएन । उनी कम्युनिष्ट थिए भने पुष्पलालका क्लासिकल सिद्धान्तलाई फेहरिस्त बनाएर पुराण सुनाउँथे । उनलाई थाहा थिएन कि देश कोरा सिद्धान्तले मात्र बन्दैन । देश बनाउन त एउटा हठी, तुमुल इच्छाकांक्षा भएको, स्वप्नदर्शी, विकासप्रेमी, जनसेवी, लयालु र इमान्दार राजनेता हुनु पर्छ । जोसँग साम, दाम, दण्ड र भेदजस्ता नीतिहरू अख्तियार गर्नसक्ने पामर होस् । आग्रह, विग्रह, पूर्वाग्रह र संग्रहका लोभानीपापानीमा नडुब्ने वृत्ति र प्रवृत्तिको ‘रानु’ हुनुपर्छ जस्तैः अफ्रिकी मण्डेला, सिङ्गापुरे लि क्वेन, मलेसियाली महाथिर र क्युबाली क्याष्ट्रोजस्ता । न कि महमा पल्किएको माखो !

‘नेता’ संस्कृत तत्मम शब्द हो, जसको शाब्दिक अर्थ हुन्छ– डोर्‍याउनु वा अघि लैजानु । युरोप, अमेरिका र ओसेनिया (अस्टे«लिया) का धेरैजसो देशहरू प्रतिकूल प्रकृतिले नदिएका तर राजनेताले बनाएकै सिष्टमबाट बने । हाम्राँ चाहिँ प्रकृतिले सुन्दर उपहारका रुपमा दिएको भूगोललाई नेताबाटै सिष्टम अवलम्बन गर्न नसक्दा र जानी, नजानी, विदेशीका चंगुलमा फँसे फँसाइएका नेताकै कारण देश झन्झन् बर्बादीको दलदलमा फस्दैछ ।

‘जब तक चलेगा तब तक चलेगा’ शैलीमा राजनीतिलाई अघि बढाइरहेका नेताहरूले विद्रोहको राजनीति जानेका तर व्यवस्थापनको राजनीति जानेका रहेनछन् भन्ने माथिको दृष्टांशबाट स्पष्ट हुन्छ ।

हरेक मानिसका जीवन्त सपना भएझैँ देशको पनि अर्ध दशक, दशक, शताब्दी र सहस्राब्दीका स्पाति लक्ष्यहरू हुन्छन् । तिनै लक्ष्य स्थापित गर्नकै लागि खुला र प्रजातान्त्रिक संस्कारका जीवनशैली स्थापित भएका राष्ट्रमा प्रजातन्त्र जनजीवनको आधार भएको हुन्छ । राणाशासन अन्त्यका लागि थालेको संघर्ष र २००७ सालमा प्राप्त प्रजातन्त्रपछि अनेक मोड, घुम्ती, कुइनेटा, आरोह, अवरोह र संघर्षबाट देशले यो स्थितिमा आफूलाई ल्याइपु¥याउँदा भिजन, मिसन र गोल भएका एकाध बाहेक वर्तमानमा नेता पाउन नसकिएको खम्भीर सत्य हो । ‘सत्तासुन्दरी’ भोगका खातिर र आफ्ना आसेपासेलाई उच्च निर्णायक पदमा पु¥याउनकै लागि विचारको गुन्द्रुक साँधेर विविध आयामका पार्टीरुपी पसल खोलेर गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षाका लागि भौंतारिरहेका जनताका भावनामा खेल्ने काम नेताहरूले गरे । यस मानेमा कोही पानी माथिका ओभाना छैनन् ।

देश दुनियाँ बद्लिएर कहाँ पुगिसके । जनताको चेतना, भावना र समवेदना क्षणपलमा फेरिएर नेटो काटिसक्यो । त्यसको हेक्का नराखी केवल सत्ता नै केन्द्रविन्दुमा राखेर गरिने सिण्डीकेटवादी राजनीतिले कांग्रेस, एमाले, माओवादी केन्द्रजस्ता भोट र संगठनमा ठूला भएका पार्टीहरूलाई मात्र सत्ता लोलुपताका लागि जहिले, जहाँ पनि र जोसँग जेसुकै सम्झौता गर्ने अवस्थामा पु¥यायो । यो लाजलाग्दो दृश्य हो । गिभ एण्ड टेकको पोलिटिक्समा वैचारिक द्वन्द्वका कुरा स्यालको सिङ्ग हराएझैँ हराए । यसका लागि इतिहासको चिहान खोस्रनै पर्दैन । हालै सम्पन्न स्थानीय तहका तीन चरणका चुनावमा पार्टीहरूले आफ्नो भोट, लाज र शाख बचाउँन अवैचारिक र अशोभनीय पाराका चुनावी तालमेलबाटै स्पष्ट हुन सकिन्छ । छि यो त राजनीतिका नाममा लाजनीति भएन र !

यी पङ्क्तिहरू लेखिरहँदा पुरानो आहानको सम्झना भैरहेछ– ‘दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले ।’ मङ्गलेका भूमिकामा ठूला पार्टीका नेताहरू छन् जो विगत् तीन दशकदेखि प्राप्त प्रजातन्त्रमा अनेक भूमिकासाथ देशीय गन्तव्य र नयाँ पुस्ताको भविष्यमाथि खेलबाड गर्दै, आलोपालो सत्तारोहण शैलीमा बजेट मात्र दाइँ गरिरहेका छन् ।

चर्चित कार्टुनिष्ट रविन सायमीले आफ्नो फेसबुक वालमा पोष्ट गरेका छन्– ‘लिच्छवीकाल, मल्लकाल, शाहकाल, राणाकाल र प्रजातन्त्रकाल : स्वाहा काल ।’ २०४६ पछि मुलुकका परिचय बोकेका र राष्ट्रिय अर्थतन्त्रमा दह्रो टेवा दिने उद्योगहरू चौपट गरेर मुलुकलाई ढङ्ग र ढाँचाको खुला अर्थतन्त्र र निजीकरणमा लगियो । निजी उद्योगहरूले आफूलाई मालामाल गर्न पाए । सरकार प्रवर्द्धित र संरक्षित उद्योगहरू मटियामेट भए । फलतः देश युवा निर्यात गर्ने मुलुकका रुपमा चिनियो । देशभित्र भित्रिएको रेमिट्यान्स पनि यहाँका शासकहरूले चाहिँदो विकासे काममा प्रयोग गरेनन् । जसको उल्टो असरबाट देश द्रूतत्तर गतिले रसातलमा भासिने क्रममा छ ।

‘प्रजातन्त्र हुने खानेको देखाईखाने भाँडो’ मा सीमित बनाइएपछि युवाहरू काम र माम नपाएर विदेश बत्तिएका हुन् । साठी लाख युवाहरू विदेशिनु सामान्य अवस्था होइन । ५० को दशकमा थालिएको माओवादी विद्रोहले मुलुकलाई एकातिरबाट अस्थिरता दिँदै थियो भने त्यसलाई व्यवस्थापन गरिनसक्दै फेरि संविधान सभा निर्वाचनका भुङ्ग्रोमा देश पस्यो । संविधान बनेपछिका केही महिना सकसमा नेपाली राजनीति भँगालिँदै थियो भने अहिले आएर स्थानीय तहको निर्वाचनपछि एकाएक वाम एकता र चुनावी गठबन्धनका प्रयासले मुलुकलाई दुई ध्रूवीय ध्रूवीकरणतर्फ लैजाँदै गरेको देखिन्छ ।

अदालतबाट भ्रष्टाचारका मुद्दामा सजाय पाएका व्यक्तिहरू प्रदेश र संघका चुनावमा टिकट बाँड्ने भान्से बने । अर्कातिर अपराधीहरूलाई ससम्मान रातो कार्पेट बिच्छाएर चुनावी टिकट दिइँदै छ । एकातिर वाम गठबन्धनको राप र तापको माहौल सिर्जना भएको छ भने अर्कातिर बचेखुचेका ससाना भुरेटाकुरे दललाई मिलाएर कांग्रेस आफ्नो क्रमशः क्षयीकरण हुँदै गरेको शक्तिलाई अघि लैजानका लागि रणनीति निर्माणमा जुटेको छ । आफ्ना विभागीय समितिहरू समेत बनाउन नसकेर एकअनेक गुटको सामना गरिरहेको कांग्रेसका सामुन्ने अहिले चुनावी महासुनामी वाम एकताको प्रयास बनेर उभिएको छ । हेर्दै जानु छ, यो समस्या उसले कसरी पर्गेल्ने छ ?

‘टु पार्टी सिष्टम’ मा देश जानु भनेको जनताका लागि खुसीको राजनीतिक बोनस हो । ढिलो चाँडो कम्युनिष्टहरूसँगको सहकार्य कांग्रेसले छाड्नै पर्दथ्यो । चुनावका मुखमा आएर माओवादीले एमालेसँगको प्रीति जुन शैलीमा गाँस्ने प्रयत्न गरिरहेको छ, त्यो टिकट व्यवस्थापनमा सहजताका साथ गर्न सक्यो भने र आफूले आँकेजति सिट प्रदेश र केन्द्रीय संसदमा ल्यायो भने पाँच वर्ष नेपाली कांग्रेसलाई उसको संगठन निर्माणका लागि थप बोनस हुनेछ । उसो त कांग्रेसलाई चुनावमा हराउने कांग्रेसीहरू नै हुन् ।

चुनावी तालमेल र वाम एकता प्रयासका अघिपछि पनि देशी विदेशी शक्तिको चलखेल छैन भनिहाल्न मिल्दैन । स्थानीय तह निर्वाचनमा खासगरी काँग्रेस माओवादी तालमेलले एमालेलाई दिएको झट्का, प्रचण्ड र देउवाको लगनगाँठो छुटाएर ओली आउँदो पाँच वर्षसम्म प्रतिपक्ष दलको नेता भएर बस्न नसक्ने मानसिकतामा रहेकै हुन् जसका परिणाम एमाले र माओवादी चुनावी एकताको कसरत भयो । विदेशी दवाव थेग्नु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै जुट्न र फुट्न बेरै नलाग्ने कम्युनिष्टहरू चुनावपछि कत्तिको टिकिरहन्छन् त्यो हेर्न बाँकी छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार एनजिओको चङ्गुलमा फँसेको एमाले र इसाई मिसनरीका मिसनबाट निर्देशित राजनीतिक फण्डामा रमाउने अस्थिर शैलीको माओवादी एकता प्रयासका लागि छिमेकी भारतको पुरानो शक्तिले मोदीलाई ‘गैरहिन्दू चक्मा’ दिनकै लागि भरमग्दुर प्रयास गरेका हुन् । जसमा प्रकारान्तरले भारत ओलीलाई सत्ताबाट विमुख गराउन यो वा त्यो षडयन्त्रमा घुसेको छ । वर्तमान ‘नाटक’ मञ्चन समेत त्यसैको द्योतन हो ।

जनतालाई भने असिम चिन्ता छ– अब हुने दुई प्रकारका चुनावपछि क्रोनिक राजनीतिक संक्रमणको छिटै अन्त्य हुनेछ । उल्टो परिदृश्यले त्यसो गर्न दिइरहेको छैन । वृहत् वाम एकताका नाममा फेरि नेपालमा दुई ध्रूवीय शक्ति सन्तुलनलाई हौस्याएर नेपाली राजनीतिक स्थिरतातिरको यात्रालाई धूमिल बनाउने यो नूतन भारतीय चालबाजी हो । भूराजनीतिक अवस्थाले हेर्दा नेपालमा साम्यवादीहरूको उदय सम्भव छैन । विदेशीएका युवाहरूले देशदेशावर विचरण गरेका छन् । तिनीहरू सफ्ट डेमोक्रेसीका मूल्य मान्यतासँग चिरपरिचित छन् । यो दशकमा देशले पूर्वाधार विकासमा पउल लगानी गरेर प्रतिफल आसा गरेको थियो । राजनीतिक अस्थिरताका लागि नेताहरू नै घुमाइफिराई विदेशीका चङ्गुलमा फस्नु भनेको अझ अस्थिरतालाई फेरि वेलकम गर्नु हो । जुन जनतालाई ग्राह्य नभएको अवस्था हो ।

सच्चा कम्युनिष्टको डेष्टिनेसन साम्यवाद नै हो, यसमा दुईमत छैन तर वर्तमान नेपालमा कम्युनिष्ट छैनन् । समाज विकासका चरणले अहिलेको समाजलाई सफ्टवेयर युगमा ल्याइपु¥याएको छ । कम्युनिष्टका ज्याकेट लगाएकाहरू कि त प्रकारान्तरले पेटी बुर्जुवामा रुपान्तरित भैरहेका छन्, कि विदेशी इशारामा ‘राजनीतिक हनिमुन मनाउन मस्त र व्यस्त’ छन् । दुःखपूर्ण भावमा भन्दा ‘राजनीतिक लम्बा रेसका घोडा’ हुने पहिचान र चरित्र बोक्न नसक्नु नेपाली कम्युनिष्टहरूको आधारभूत चिनारी नै हो । यो विगत् पञ्चायतमा उनीहरूको जनपक्षीय परिचयले समेत दिइसकेको थियो ।

खुलापनमा विश्वास राख्ने बौद्धिकहरूका अभिमतमा ‘अर्थतन्त्रको मोडेल, विकासे ढाँचा, जातीयताका अनुगुञ्जन र समावेशी प्रजातन्त्रको चाहनाजस्ता कुराले पनि नेपाललाई साम्यवादी युगमा जान सजिलोसँग दिँदैन ।’ खानपान, जीवनशैली, बोलीवचन, सन्तानमोह, सम्पत्ति र राजनीतिक बजारवादका मसिहाका रुपमा चर्चित तथा अस्थिर राजनीतिक माहौलका खेलाडी प्रचण्डले स्वीकारेझैँ उनी भत्काउनका लागि त जण्ड नेता होलान् । आज आफ्नो पार्टी भत्काउँदा खुसी छन् । भोली समग्र कम्युनिष्ट पार्टी नै भताभुङ्ग पार्दासमेत खुसी नहोलान् भन्न सकिन्नँ । भत्काउने लत उनमा त्यसरी नबसोस् कि एकदिन देशै भत्काउने अहम् निर्णयमा उनको दस्तखत देख्न सकियोस् ! द्रूतत्तर गतिमा गिर्दो छविलाई बँचाइराख्न र आफ्नो हैसियतअनुसार सेन्टर राजनीतिको इर्दगिर्दमा रहिरहन उनले अहिले जुन अस्त्र ओलीलाई प्रयोग गरी वाम एकताको रटान लगाउँदै छन् । भोलि चुनावी परिणाम प्रतिकूल आएमा एकताको क्याम्प नभत्काउलान् भनेर भन्न सकिन्नँ । उनका धेरैजसो रणनीति र कार्यनीतिहरू यो डेढ दसकमा ‘वुमर्‍याङ्’ भएरै प्रमाणित भएका छन् । जसले उनलाई उत्साहका बद्ला हतासा मात्र दिलाएका छन् । फलतः सोही हतासालाई सान्त्वना दिनकै लागि उनी व्यग्रतापूर्वक एमाले छातामा ओत लाग्न गएका हुन् । पुरानिएको एमाले छाताले उनको मनोतापलाई भने केही शितलता प्रदान गर्ला तर वातावरणीय सूर्यको तेजले भने उनलाई अझ राप दिनेछ । चुनावी सिट बाँडफाँड मै त्यसको छनक देखिन थालेको छ ।
‘भागता भूतका लगौंटा हि सही’ भनेझैँ ओली–वामदेवद्वय समेत प्रचण्डलाई उपयोग गर्नमा रमे रमाएका छन् तर त्यो कत्तिको स्थिर र चीरस्थायी हुन्छ आगे भविष्यले देखाउने कुरा हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework