लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

एमाले र माओवादी केन्द्रबीचको बैठक निष्कर्षविहीन, वैशाख ९ मा पार्टी एकता नहुने संकेत

मंगलबार, ४ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, वैशाख ४ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक निष्कर्षविहीन भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई पार्टी एकीकरणका लागि अहिलेसम्म नमिलेका विषय टुंग्याउन छलफल भएपनि सहमति बन्न नसकेको हो ।

तत्काललाई अब वैशाख ९ गते दुई पार्टीबीच एकता घोषणा नहुने भएको नेताहरुले बताएका छन् ।

एमाले र माओवादी केन्द्रबीच मुख्यतः भागबन्डालगायतका विषयमा विवाद भएको छ । माओवादी केन्द्रले आधा भाग आफूले पाउनुपर्ने अडान राखेको थियो ।

नमिलेका विषयमा नेताहरुबीच झन्डै चार घन्टा छलफल भयो । दुई पार्टीबीच नमिलेका विवादित विषयमा सहमति गर्ने जिम्मा दुवै पार्टीका अध्यक्षलाई दिइएको छ भने दुवै अध्यक्षले परिर्माजनसहितको अन्तिम प्रतिवेदन एकता संयोजन समितिमा राख्नेछन् ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेता वामदेव गौतम तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी थिए ।

एकताका लागि अधिकांश विषय कार्यदलले टुंग्याएपनि केही विषयमा भने अझै सहमति बन्न नसकेको हो ।

चुनाव चिह्न, जनयुद्ध शब्द र केन्द्रीय समितिको संख्यामा हिस्सेदारी विषयमा कुरा मिलेको छैन ।

कार्यदलले सहमति गर्न नसकेपछि एकता संयोजन समितिबाटै टुंगो लगाउन नेताहरुले बैठक गरेका हुन् ।

एमालेले एकीकृत पार्टीको चुनाव चिह्न सूर्य राख्नुपर्ने अडान राखेको छ भने माओवादी केन्द्रले त्यसलाई स्वीकारेको छैन ।

त्यस्तै, एकीकृत पार्टीको बन्ने २९९ सदस्यीय कार्यसमितिमा माओवादी केन्द्रले बराबरीको हिस्सेदारी खोजेको छ ।

कार्यदलले २९९ सदस्यीय कार्यसमिति बनाउने सहमति गरे पनि कुन दलको कतिजना रहने टुंग्याएको छैन ।

त्यसैगरी, एकीकृत पार्टीको विधान र राजनीतिक दस्तावेजमा जनयुद्ध शब्द व्याख्यासहित राख्नुपर्ने अडान माओवादी केन्द्रले राख्दै आएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework