लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

प्रदेशप्रमुख र प्रदेशका राजधानी खोइ ? प्रदेशसभा कहाँ ? (भिडियो)

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

हिमाल पौडेल/नवीन स्थापित (इमेज): काठमाडौं, कात्तिक २८ । आगामी मंसिर १० र २१ गते संघीय निर्वाचन हुँदैछ ।

यसनिर्वाचनले पहिलोपटक ७ ओटा प्रदेशका लागि प्रदेशसभा सदस्य पनि चुन्दैछ ।

प्रदेशसभा सदस्य चुनिने दिन नजिकिँदै गर्दा पनि प्रदेशप्रमुख र प्रदेशका अस्थायी राजधानीको टुंगो लाग्न सकेको छैन ।

प्रदेशसभाको निर्वाचन भएको ३० दिनभित्र प्रदेशसभा बस्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, प्रदेशसभा कहाँ राख्ने भन्ने अन्योल यथावत् छ ।

प्रदेशसभा सदस्य निर्वाचनबाट ३३० जना सांसद प्रत्यक्ष निर्वाचित हुँदैछन् भने २२० जना समानुपातिकबाट छानिनेछन् ।

निर्वाचन घर्किंदै जाँदासम्म न त प्रदेशप्रमुख नियुक्त हुन सकेका छन् न त प्रदेशसभाका लागि उपयुक्त स्थानको पहिचान नै ।

प्रत्येक प्रदेशमा नेपाल सरकारका प्रतिनिधिकारुपमा रहने प्रदेशप्रमुखलाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

मन्त्रिपरिषदको बैठकले सिफारिस गर्ने प्रचलन भएपनि मन्त्रीहरु चुनावमा व्यस्त भएको र राजनीतिक दलबीच सहमति नजुटिसकेकाले यस विषयले प्राथमिकता पाएको छैन ।

यद्यपि, मन्त्रिपरिषदको बैठकमा औपचारिक प्रस्ताव नगएपनि प्रदेशप्रमुख नियुक्तिका विषयमा अनौपचारिक छलफल भने भएको बताइन्छ ।

मंसिर २१ गते निर्वाचन सम्पन्न भएलगत्तै प्रदेशप्रमुख सिफारिस हुने स्रोतको दाबी छ । निर्वाचनअगावै नियुक्तिको सम्भावना न्यून देखिन्छ ।

यता, प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालयले प्रदेशप्रमुख नियुक्त गरेको केही दिनभित्रै प्रदेशसभाका लागि वैकल्पिक स्थान छनोट गर्नसक्ने गरी काम भइरहेको दाबी गरेको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले सहरी विकास मन्त्रालयसँगको समन्वयमा प्रदेशसभा गर्न तत्कालका लागि वैकल्पिक व्यवस्था गरिने बताए ।

प्रदेशप्रमुख सँगसँगै ७ ओटै प्रदेशको राजधानी चयन गर्नुपर्नेछ । प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा राजनीतिक दलबीच सहमति भएको छैन ।

प्रदेशको प्रतिनिधित्व गर्ने दलका नेताहरुले आ–आफ्नो जिल्लालाई नै राजधानी बनाउनुपर्ने भन्दै ‘लबिङ’ गरिरहेका छन् ।

राजधानी राख्नका लागि निम्न स्थान चर्चामा रहेका छन् । प्रदेश नम्बर–१ को इटहरी, धरान वा विराटनगरमध्ये एक, प्रदेश नम्बर–२ को जनकपुर वा वीरगन्जमध्ये एक हुनसक्ने देखिन्छ । तर, दलहरुबीच विवाद जारी छ ।

प्रदेश नम्बर–३ को राजधानी कहाँ हुने भन्नेमा धेरैको चासो छ । काठमाडौं, चितवन वा हेटौंडामात्र होइन, चुनावी माहोल आफ्नो पक्षमा पार्न नुवाकोट र काभ्रेका उम्मेदवारले पनि प्रदेशको राजधानी ल्याउने भन्दै मत मागिरहेका छन् ।

यद्यपि, काठमाडौं केन्द्रीय राजधानी भएकाले चितवन, हेटौंडा वा अरु कुनै स्थानमा प्रदेशको राजधानी बन्न सक्नेछ ।

प्रदेश नम्बर–४ मा भने हालसम्म प्रदेश राजधानीका लागि कुनै विमति देखिन्न । त्यहाँ सम्भवतः पर्यटकीय नगरी पोखरा नै राजधानी रहनेछ ।

प्रदेश–५ र प्रदेश–६ को राजधानी कहाँ राख्ने भन्ने विषयमा पनि विवाद कायमै छ । प्रदेश नम्बर–५ को राजधानीका लागि दाङ, बुटवल र नेपालगन्ज चर्चामा छ भने प्रदेश नम्बर–६ को राजधानीका लागि सुर्खेत र जुम्ला चर्चामा छ ।

प्रदेश नम्बर–७ को राजधानी डोटीको दिपायल वा महेन्द्रनगर कहाँ भन्ने चर्चामा छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework