लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

एमाले–माओवादी पार्टी एकता अन्तिम चरणमा

मंगलबार, १ फागुन, २०७४ मा प्रकाशित,

अक्कल कुँवर/दिलिप पोखरेल/रक्षा बज्राचार्य (इमेज): काठमाडौं, फागुन १ । चार महिनाअघि पार्टी एकता गर्ने घोषणासहित वामपन्थी गठबन्धन बनाएर मुलुकका दुई ठूला वाम दल नेकपा एमाले र माओवादी केन्द्र प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सहभागी भएका थिए ।

पार्टी एकता नै गर्ने सन्देश दिँदै चुनावी मैदानमा गएका दुई दलले झन्डै दुई तिहाइ सिट जिते ।

तर, एकीकृत पार्टीको नेतृत्व कसरी गर्ने भन्नेमा समझदारी नबन्दा चुनाव सकिएको दुई महिनासम्म एकता प्रक्रिया अवरुद्ध भएको थियो । यसबीचमा पार्टी एकीकरणबारे विभिन्न टीकाटिप्पणी पनि भए ।

यतिसम्म कि दुई पार्टीबीच एकता प्रक्रिया जटिल बन्दै गएको स्वयं दुई पार्टीकै जिम्मेवार नेताहरुले धारणा राख्ने गरेका थिए ।

तर, सोमबार दुई पार्टीका अध्यक्षबीच भएको एक्ला–एक्लै वार्ताले पार्टी एकतामा नयाँ मोड लिएको छ ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको वार्तामा दुवै पक्ष एकार्काले राख्दै आएको अडान छाड्दै अघि बढ्न तयार भएपछि एकताको गाँठो फुकेको हो ।

दुई पार्टीका अध्यक्षबीच पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्तरूपमा गर्नेगरी पार्टी एकताको समझदारी बनेको सार्वजनिक भएको छ ।

दुई पार्टीका अध्यक्षबीच भएको सहमतिले औपचारिक रुप लिए एकीकृत पार्टीको अध्यक्षमा ओली र दाहाल रहनेछन् ।

एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने र पाँच वर्षको अवधिमा सरकारको नेतृत्व दुवै दलका अध्यक्षले आलोपालो गर्ने सहमति भएको सार्वजनिक भएको छ ।

यस्तै, दुई पार्टीका अध्यक्षबीच दुवै पार्टीबीच नमिलेका वैचारिक विषयलाई छलफल चलाउने र महाधिवेशनबाट टुंगो लगाउने समझदारी छ ।

दुई पार्टी एकताका लागि भएको सहमतिलाई पुष्टि गर्दै एमाले उपाध्यक्ष भीम रावलले पार्टी एकता प्रक्रिया सकारात्मक दिशातिर गइरहेको बताए ।

दुई अध्यक्षबीच केन्द्रीय नेतृत्वको विषय टुंगोमा पुगेको भनिएपनि पार्टी एकताका लागि अझै धेरै काम बाँकी छन् ।

माओवादी केन्द्रका नेता रामनारायण बिडारीले दुई पार्टीबीच लामो समयदेखि छलफल जारी रहेकाले समय लागेपनि एकता भएरै छाड्ने दाबी गरे ।

फागुन पहिलो साताभित्र नयाँ सरकार बन्ने भएकाले त्यसअघि नै एकताको खाका टुंग्याउने दुवै दलका अध्यक्षले सहमति गरेका छन् ।

दुवै दलका नेताले पार्टी एकतामा ‘ब्रेक थ्रु’ भएको दाबी गरेकोमात्र नभइ पार्टी एकताका लागि भएको सहमतिलाई लिपिबद्ध गर्नमात्र बाँकी रहेको दावी गरेका छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework