लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन

बिहीबार, ३ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ ३ । एकता गर्ने सहमतिपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन आयोगमा पुगेर ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन बुझाएका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले आयोगमा पुगेर आफूहरुले पार्टी एकता गरेको र दल दर्ताका लागि निवेदन दिन आएको बताए ।

सोक्रममा प्रधानमन्त्री ओलीले भने–‘दुई पार्टीको फरक अस्तित्व समाप्त भयो, यो कानुनी हिसाबले पनि दर्ता हुनु जरुरी छ । अब हामी दुवै पार्टी विधिवतरुपमा एउटै भएका छौं ।’

उनले दुवै पार्टीबाट संयुक्तरुपमा केन्द्रीय कमिटी गठन गरेर दर्ताको निवेदन आयोगमा लिएर आएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिका लागि पार्टी एकताबद्ध भएको उल्लेख गर्दै भने–‘पार्टी एकता भएपछि दर्ता हुनुपर्छ, निर्वाचन प्रक्रियाका लागि पनि त्यो जरुरी छ, यो दलले राष्ट्रिय मान्यता पाउनेछ भन्ने विश्वास छ ।’

अध्यक्ष ओलीले निर्वाचनमा समयमा आफूहरुले जनताप्रति पार्टी एकता गर्ने र मुलुकको विकास गर्ने भनी गरेको प्रतिबद्धता पूरा गर्न पार्टी एकता गरेको बताए ।

सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकता गर्ने सहमति भएपछि लोकतान्त्रिक प्रक्रियाअनुसार अगाडि बढ्नका लागि दल दर्ता गर्न आएको बताए ।

नेता दाहालले भने–‘नयाँ पार्टीको हैसियतले दल दर्ता गर्ने प्रयोजनका निम्ति आएको छौं, आम जनताको विकास र समृद्धिको चाहना र जनताप्रति पार्टी एकता गर्ने प्रतिबद्धता इमान्दारपूर्वक पूरा गरेका छौं ।’

अध्यक्षद्वय दुवैले आफूहरुले पार्टी एकता गर्ने निर्णय गरेको कागजात एमालेका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङमार्फत् बुझाएर आवश्यक हस्ताक्षर भएपछि ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्षद्वयले लोकतन्त्रलाई संस्थागत गर्न र जनतासामु गरिएको प्रतिबद्धता पूरा गर्नका लागि पार्टी एकता गरेको उल्लेख गर्दै सुशासन, स्थिरता र विकासको काम जनताको अपेक्षनुरुपमा अघि बढाउने विश्वास दिलाए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले लोकतन्त्र सफल पार्न धेरै दल हुनुभन्दा दलबीच पार्टी एकता हुनु मुलुकका लागि ठूलो उपलब्धि भएको उल्लेख गर्दै आयोगका तर्फबाट बधाइ दिए ।

सो अवसरमा एमालेका नेता माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, प्रवक्ता पम्फा भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगरलगायत दुवै पार्टीका नेताको उल्लेख्य उपस्थिति थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework