लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘टेम्पो चलाउने होइन, जेटमा पनि दुईजना पाइलट हुन्छन्’, ओली–दाहालले जे भने... (भिडियो)

बिहीबार, ३ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ ३ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिको बाटोमा अघि बढाउन महाअभियान चलाउने आवश्यकताले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गराएको बताएका छन् ।

पार्टी एकताको औपचारिक घोषणका लागि बिहीबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा उनले ‘स्थानीय तहदेखि संघीय सरकारसम्म अब कम्युनिष्ट पार्टीको एकल बहुमतको सरकार रहेकाले देश विकास र समृद्धिका काम अघि बढाउन अरुलाई दोष दिने ठाउँ छैन’–भने ।

एमाले र माओवादी केन्द्रबीच ‘एकतामात्रै नभइ अन्तरघुलन’ नै भएको भन्दै ओलीले ‘नदीहरु हिन्द महासागरमा मिसिएपछि अब को–कताबाट आएको भन्ने थाहा हुँदैन’–भने ।

एकीकृत पार्टीमा दुईजना अध्यक्ष रहेको प्रसंग जोड्दै उनले ‘टेम्पो चलाउने होइन, जेटमा पनि दुईजना पाइलट हुन्छन्’–भने ।

आफूहरुको एकताबाट नेपाली कांग्रेस अलि बढी अत्तालिएको भन्दै उनले एकता कसैकाविरुद्ध नभएको स्पस्ट पारे ।

कांग्रेसले एउटा चुनाव हार्दैमा नअत्तालिइकन देश निर्माणमा वैधानिक प्रतिपक्षकोरुपमा रहेर सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको आग्रह थियो ।

कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहालले देशले अब थप अराजकता सहन सक्दैन भन्ने महसुस भएरै आफूहरु एकीकृत पार्टी बनाउने अभियानमा आइपुगेको बताए ।

आफूले गल्ती गर्दा देश र जनताले फेरि पनि दुःख पाउँछन् भन्ने अनुभूति : दाहाल
आफूले गल्ती गर्दा देश र जनताले फेरि पनि दुःख पाउँछन् भन्ने अनुभूति भएको भन्दै दाहालले ‘जनयुद्धमा मर्न पाइनँ भनेर झगडा गर्नेहरु अहिले सांसद र मन्त्री बन्न पाइनँ भनेर झगडा गर्ने अवस्था आइपुगेको’ बताए ।

हाइड्रोजन र अक्सिजनको मिश्रणबाट पानी बनेझैं दुई पार्टीको एकता अघि बढ्ने भन्दै उनले मिश्रणपछि हाइड्रोजन र अक्सिजन छुट्याउने अवस्था नरहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पार्टी एकताको ६ बुँदे घोषणापत्र वाचन गर्नेक्रममा नवगठित पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालले देश र जनताको हीतका निमित्त निकै कस्टपूर्ण अवस्था छिचोल्दै एकता प्रक्रिया टुंगोमा पुर्‍याएको उल्लेख गरे ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework