लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

यस्तो छ फोटोग्राफीको इतिहास

बिहीबार, ३१ चैत, २०७३ मा प्रकाशित, 10028 पटक हेरिएको

काठमाडौं, चैत ३१ । पहिला–पहिला मानिसहरु कुनै व्यक्तिको तस्वीर उतार्नुपर्‍यो भने हातैले उसको आकृति कागज वा कपडामा उतार्थे ।

यसमा जुन व्यक्तिको चित्र तयार पार्नुपर्ने हो त्यो व्यक्ति कलाकारको अगाडि घन्टौंसम्म पनि एउटै मुद्रामा बसिरहनुपथ्र्यो । उक्त कार्य कठिनमात्र नभएर झर्कोलाग्दो पनि हुन्थ्यो ।

यसरी बनाइएको आकृतिमा लियोनार्दो द भिन्सीले बनाएको मोनालिसाको तस्वीर विश्वप्रख्यात छ । तर, जब समय बित्दै गयो, मानिसहरुले प्रकृतिमा घटेका सूक्ष्म घटनालाई पनि गहन अध्ययन गर्दै त्यसको विश्लेषण गर्न थाले ।

एघारौं शताब्दीताका मानिसले यदि कुनै अँध्यारो कोठामा एउटा सानो छिद्रबाटमात्र प्रकाशलाई भित्र छिर्न दिइयो भने त्यो प्रकाश परेको अर्को भित्तामा बाहिरको हल्का दृश्य देखिन्छ भन्ने कुरा थाहा पाए । त्यस्तो कोठाजस्तो उपकरणलाई क्यामेरा ‘अब्सक्युरा’ भनिन्थ्यो ।

त्यसपछिका वर्षहरुमा त्यसमा पोख्त व्यक्तिहरुले एउटामात्र प्वाल भएको बक्स क्यामेरा ‘अब्सक्युरा’को ढाँचामा निर्माण गरे ।

उनीहरुले खाली प्वालको साटो लेन्स प्रयोग गरे, जसले गर्दा चित्र स्पस्ट देखिन्थ्यो । तर, यस उपकरणको सहायताले तयार पारिएको आकृतिलाई पछिसम्म राख्न सकिँदैनथ्यो ।

सन् १७२७ मा प्रख्यात वैज्ञानिक जोहान हेलरिक स्कुल्जले एउटा नौलो तथ्य पत्ता लगाए । परीक्षणमा उनले चक, चाँदी र नाइट्रिक एसिड मिसाएर राखेको सिसीको मिश्रण प्रकाशको सम्पर्कमा आउँदा कालो भएको पाए ।

त्यस्तै, सन् १८२६ मा अर्का वैज्ञानिक जोसेफ नाइसफोर निप्सेले एउटा कागजलाई प्रकाश संवेदनशील रसायनमा डुबाएर क्यामेरा अब्सक्युरा अर्थात् अँध्यारो बक्सभित्र राखेर उक्त उपकरणलाई झ्यालमा राखे ।

त्यसको परिणामस्वरुप उनले उक्त कागजमा झ्यालबाहिरको दृश्यको हल्का आकृति उत्रिएको पाए । त्यो आकृति सम्भवत विश्वकै पहिलो सुरक्षित फोटोग्राफिक आकृति थियो ।

निप्सेले गरेको महान् उपलब्धिको एउटा नराम्रो पक्ष भनेको उनको फोटो नेगेटिभ हुनु हो । अर्थात् आकृतिमा भएको सबै सेतो कालो तथा सबै कालो सेतो हुने गथ्र्यो ।

त्यसपछि लुइस ड्यागुइरेले निप्सेको फोटोको कालो भाग सेतो र सेतो भाग कालो अर्थात् पोजेटिभ आकृति बनाउन सफल भए । तर, जब उनले त्यो फोटो प्रकाशमा ल्याएर हेर्थे, एकछिनपछि उक्त आकृति कालो हुँदै जान्थ्यो ।

लगातार परीक्षण गर्दै जाँदा सन् १८३७ मा उक्त बनेको आकृतिलाई बिग्रन नदिन ‘पिक्सर’ भन्ने रासायनिक संयन्त्र पत्ता लगाए । त्यो प्रविधिबाट बनेको फोटो आकृतिलाई ‘ग्यागुइरियो टाइप’ भनिन्थ्यो ।

१९औं शताब्दीको आगमनसँगै फोटोग्राफीमा नौला–नौला प्रयोग–परीक्षणहरु भए । यसको सुरुताका सिसाको पातलो पत्तामा प्रकाश संवेदनशील रसायनको लेप लाएर सफा, स्पस्ट, र पोजेटिभ आकृति बनाइन्थ्यो ।

यसैक्रममा सन् १८७० मा जर्ज इस्टम्यानले कागजमा रसायनको लेप लगाएर बेर्दै तस्वीर लिन मिल्ने फिल्म तयार गरेर सिसाको पत्तामा आकृति बनाउने पद्धतिलाई पछि धकेलिदिए ।

त्यसपछि सन् १८८८ मा इस्टम्यानले पहिलो आधुनिक, हल्का र सजिलै बोकेर हिँड्न मिल्ने ‘कोडाक’ क्यामेरा बनाए ।

२०औं शताब्दीमा आएर क्यामेराको ठूलो विकास र प्राविधिक उन्नति भयो । २०औं शताब्दीमा रंगीन फोटोको निर्माणको लागि फोटोग्राफिक फिल्ममा रसायनहरुको विभिन्न तह राखिएका थिए ।

जुन छुट्टाछुट्टैरुपमा रातो हरियो र नीलो रङप्रति संवेदनशील हुन्छन् । त्यसले गर्दा सबै रङका तस्वीरहरु बन्न सक्छन् ।

तर, हिजोआज जतिपनि फोटोसम्बन्धी प्रविधिहरु छन्, ती सबैको सैद्धान्तिक आधार एउटै छ, त्यो हो निप्सेले बनाएको पहिलो फोटोग्राफिक आकृति ।

फोटोग्राफी भन्नाले कुनै वस्तुको आकृति क्यामेराको सहायताले फिल्म वा त्यस्तै मिल्दो वस्तुमा उतार्नु बुझिन्छ । फिल्मलाई प्रकाश संवेदनशील रसायनद्वारा लेपन गरिएको हुन्छ । जुन विशेषगरी चाँदीको लवण हुन्छ । जस्तैः सिल्भर ब्रोमाइड ।

क्यामेराको लेन्सबाट भित्र पसेको प्रकाशले फिल्ममा भएको सिल्भर ब्रोमाइडको सूक्ष्मदानामा उत्तेजना पैदा गर्दछ ।

जसको मात्रा त्यसमा परेको प्रकाशमा निर्भर गर्दछ । डेभलपिङ गर्दा उत्तेजित दानाहरु कालो रङमा परिणत हुन्छन् । त्यसैले प्रकाश बढी परेको भाग कालो देखिन्छ ।

सिल्भर ब्रोमाइड प्रकाशतिर संवेदनशील भएकाले बाँकी उत्तेजित नभएका सूक्ष्मदानाहरुलार्ई हटाउनुपर्छ नभए पुरै फिल्म नेगेटिभ कालो हुन जान्छ ।

त्यसैले यी दानाहरुलाई अझ बिग्रन नदिन सोडियम थायोसल्फेटको कडा घोलमा फिल्मलाई धोइन्छ । यस प्रक्रियालाई फिक्सिङ भनिन्छ । जसको फलस्वरुप नेगेटिभ बन्दछ ।

यसबाट पोजेटिभ आकृति बनाउनका लागि नेगेटिभलाई प्रकाश संवेदनशील कागजको माथि राखि प्रकाशको कडा पुञ्ज पारिन्छ र नेगेटिभ जसरी नै प्रोसेसिङ गरिन्छ । (एजेन्सी)

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.