१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


‘म्याच फिक्सिङ’मा मुछिएका पूर्वराष्ट्रिय फुटबल खेलाडी सागर थापासहितले पाए सफाइ


78
Shares

काठमाडौं, असार २ । ‘म्याच फिक्सिङ’को आरोप लागेका पूर्वराष्ट्रिय फुटबल खेलाडी सागर थापाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।

उनीसहित चार फुटबल खेलाडी, पूर्वप्रशिक्षक तथा एक फिजियोथेरापिष्ट गरी छजनालाई मंगलबार सर्वोच्च अदालतले सफाइ दिएको हो ।

यसअघि, २०७५ साल जेठ २४ गते उनीसहितको टिमलाई विशेष अदालतले प्रमाण नपुगेको भन्दै सफाइ दिएपनि सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन दिएपछि दुई वर्षदेखि उक्त मुद्दा सर्वोच्चले हेरिरहेको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा म्याच फिक्सिङ गरेको आरोपमा २०७२ साल असोज २७ गते उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । तर, कात्तिक २४ गते नै उनीहरु धरौटीमा रिहा भएका थिए ।

न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले मंगलबार सागरसहित, सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा, प्रशिक्षक तथा पूर्वखेलाडी अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई सफाइ दिएको हो ।

सर्वोच्चबाट सफाइ पाएपछि हामीसित कुरा गर्दै सागरले ढिलै भएपनि न्याय पाइएको भन्दै खुसी व्यक्त गरे ।

सागरको टिमले सुरुदेखि नै कुनै म्याच फिक्सिङ नगरेको बताउँदै आएको थियो ।