लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

तिहारलगायत प्रमुख चाडपर्वको यस्तो छ महत्व

बिहीबार, २ कार्तिक, २०७४ मा प्रकाशित,

आदित्यमान श्रेष्ठ/ नेपाली संस्कृतिको आखिर सन्देश के हो ? नेपालीहरु आ—आफ्नो चाडपर्व मनाउन तत्पर रहन्छन् तर त्यसको मुख्य सन्देश के हो भनेर थाहा पाउँछन् ? संस्कृतविद्हरु यो सन्देश के हो भनेर विभिन्न प्रकारले बुझ्ने प्रयत्न गर्दछन् । तर के नेपालको समग्र संस्कृतिको एकिकृत सन्देशमा सहमत छन् ? संस्कृतविद् हरिराम जोशी (नेपालका चाडपर्व) अनुसार मोक्ष प्राप्ति गर्नु नै नेपाली संस्कृतिको मुख्य लक्ष्य रहेको छ तर केही चाडहरुको सन्देश भित्र हुने गर्दछन् । यो मोक्ष मानिसले आफ्नो जीवनमा तीनवटा ऋण तिरेर प्राप्त हुन्छ भत्रे विश्वासमा आधारित छ । ती हुन्— पितृऋण, ऋषि ऋण र देव ऋण । यसको अलावा अरु तीन ऋण पनि छन्— अतिथि ऋण, आत्म ऋण र भृत्य ऋण । यिनलाई गौण मानिन्छ । तर हाम्रो संस्कृतिले त्यसबाट पनि उऋण हुने कोशिश गरेको छ । यिनै लक्ष्य हासिल गर्न हाम्रा चाडपर्वहरु मनाइँदै आइरहेका छन् ।

सबैभन्दा पहिले मातापिताप्रति श्रद्धा र आदर । यस भावनालाई मनुस्मृतिको एउटा सूक्तिले प्रष्ट्याएको छ । यं मातापितरौ क्लेशं सहेते सम्भवे नृणाम् । न तस्य निष्कृतिः शक्या कर्तुं वर्षशतैरपि ।। मानिसको पालन पोषणको लागि बाबुआमाले जुन कष्ट उठाउँछन्, त्यसको बदला सय वर्षमा पनि चुकाउन सकिंदैन । यसै भावनाको अभिव्यक्ति वैशाख कृष्ण पक्ष औंसीको दिनमा आमाको मुख हेर्ने र भाद्र कृष्णपक्ष औंसीको दिनमा बाबुको मुख हेर्ने प्रचलन चलेको हो । यसको साथै दिवंगत आमाबाबुकोनाउँमा श्राद्ध गरी श्रद्धाञ्जली दिने पनि गरिन्छ ।

हरिरामजीको भनाईमा ऋषि ऋण र गुरु ऋण भन्नु एउटै हो । हाम्रो सभ्यतामा ऋषि मुनीहरुबाट नै शिक्षा प्राप्त गर्ने प्रथा कायम रहेकोले उनीहरु गुरु मानिएका हुन् । उनीहरुबाट प्राप्त शिक्षादीक्षाको लागि उनीहरु बन्दनीय भएका हुन् । उनीहरुप्रति आदर सत्कार जनाउन नेपाली समाजमा गुरु पूर्णिमा मनाइन्छ । सो दिन विद्यार्थीहरुले आफ्नो गुरुहरुलाई मान गर्ने चलन रहेको छ । श्रीपञ्चमीको दिन विद्याका देवी सरस्वतीको दिन मानिन्छ र यसैकारण केटाकेटीलाई यसै दिनदेखि पढाउन थाल्ने प्रचलन छ । देव ऋण चुकाउने अनेक दिनहरु छन् । राम नवमी, कृष्ण जन्माष्टमी, बुद्ध जयन्ती, कात्तिकेको जन्म दिन कुमार षष्ठी, रामसीताको विवाह पञ्चमी आदि चाडपर्वहरु छन् । ती महान आत्माहरुको जन्म, विवाह आदिको सम्झनालाई ताजा राख्न यी उत्सवहरु मनाइन्छ ।

अतिथि देवो भवः भत्रे पनि हाम्रो संस्कृतिले मानेको छ । अतिथि सत्कारलाई नेपाली समाजले उच्च मान्यता दिएको छ । नेपाली गाउँघरमा अतिथिको स्वागत र सत्कार गरिने परम्परा सर्वविदित छ । यसको ज्वलन्त उदाहरण पाहाँचःहे« पर्वलाई लिन सकिन्छ । त्यस दिन साँझको बेला भगवान् शिव सबैको आंगनमा लिङ्ग स्वरुप प्रकट भएको र त्यसलाई अतिथि सम्झेर सबै प्रकारका खाद्यवस्तु चढाई आतिथ्य सत्कार गरेको मानिन्छ । त्यसैगरी आत्म ऋण तिर्ने सिलसिलामा पठन पाठन, मनन, चिन्तन आदि गर्नु पर्ने कार्यलाई मानिन्छ । साथै पशुपंक्षी आदि जीवहरुको रक्षा गर्नेलाई पनि आवश्यक ठानिन्छ । बिहान बेलुकाको खाना तैयार गरेपछि सर्वप्रथम काग, कुकुर आदि पशुपंक्षीहरुलाई भाग पन्छाउनुलाई आत्म ऋण चुकाउनेको रुपमा लिइन्छ । छैठौ ऋण हो भृत्य ऋण । आफ्ना स्वजनहरुको कल्याण कामना गर्नु, उनीहरुलाई आवश्यक सहयोग गर्नु र दान दातव्य गर्नु भृत्य ऋण चुक्ता गरेको मानिन्छ । यसैबाट प्रेरित भएका कार्यहरु हुन्— ईन्द्रजात्रामा भोज खानु अगाडि खाद्यवस्तु बाँड्नु, अक्षय तृतियाको दिन सक्खर पानी खुवाउनु र यःमह«ी पूर्णिमाको दिन अरुलाई बाँडेपछि मात्र आफुले खानु ।

नेपालीहरुले मनाउने एउटा महत्वपूर्ण चाड दीपावली हो । हरिराम जोशीजीको भनाईमा यो चाड पनि मोक्षको आकांक्षा र उद्देश्यबाट प्रेरित छ । दीपावलीलाई तिहार र यम पञ्चक पनि भनिन्छ । पहिलो दिन कागपूजा गरिन्छ । कागलाई एक प्रकारले दुष्टको रुपमा लिइन्छ र त्यसको दुष्परिणामबाट बच्नकोलागि यो पूजा गरिन्छ । हुन त कागबाट प्राप्त शिक्षाबारे चाणक्यले भनेका छन्— गूढमैथुनधाष्ट्ये च काले चालय संग्रहम् । अप्रमादमनालस्यं पञ्च शिक्षेत वायसात् ।। कागबाट सिक्ने पाँच कुरा छन्— संभोग गोप्य गर्नु, बोलक्कड हुनु, समयमा गुँड बनाउनु, घमण्ड नगर्नु र आलस्य नगर्नु । यी दोष गुणको लागि कागको पूजा गरिने विश्वास गरिएको छ ।

दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई मानिसको मित्र मानिन्छ । कुकुर पाल्नु पनि सभ्यताको एउटा भाग भइसकेको छ । चाणक्यले यो पशुको उपयोगिता बताएका छन् । बह्वाशी स्वल्पसन्तुष्टः सुनिद्रो लघुचेतनः । स्वामीभक्तश्च शुरश्च षडेते श्वानतो गुणाः ।। कुकुरबाट ६ गुण .सिक्नू— ठूलो आशा नलिने, थोरैले खुशी हुने, थोरै निदाउने, झट्ट ब्युँझने, मालिकको भक्त हुने र शुर्‍याईं ।

तेस्रो दिन लक्ष्मी पूजा गरिन्छ र यस उपलक्षमा दीपावली गरिन्छ । यसबाट दुईवटा सन्देश जाने गरेको छ । एउटा हो तमसोमा ज्योतिर्गमयः याने अन्धकारबाट उज्यालोतिर लागोस् । जीवनमा व्याप्त निराशा, अशिक्षा, दुःख र अज्ञानलाई हटाउने र यसलाई उज्यालोतिर लैजाने लक्ष्य पनि रहेको छ । दोश्रो हो लक्ष्मीको आराधना गर्नु र जीवनमा चाहिने धन सम्पतिको लागि प्रार्थना गर्नु ।

चौथो दिन नेवार समूदायले म्हपूजा गर्ने चलन चलेको छ । हरिरामजी अनुसार सो चाड आत्मपूजाको रुपमा लिइने र ब्रह्म पूजातिर इङ्गित भएको छ । किनभने वैदिक साहित्यमा आत्मा र ब्रह्म एउटै भएको कुरा दर्शाइएको छ । उपनिषद्मा भनिएको छ— अयं आत्मा ब्रह्म ।

पाँचौ दिनमा भ्रातृपूजा मनाइन्छ । यो भाई बहिनीबीचको पवित्र सम्बन्ध कायम राख्नकोलागि मनाइन्छ । वास्तवमा दाजुभाई र दिदीबहिनी बीच आपसी मेललाई सुदृढ बनाइराख्ने उद्देश्यले अभिप्रेरित छ । प्राचीन कालमा यो पर्व वर्षको चार पटक मनाइने गरिने परम्परा रहेको हरिरामजी बताउनु हुन्छ । श्रावण शुक्ल द्वितीया, भाद्रशुक्ल द्वितीया, आश्विन द्वितीया र कात्र्तिकशुक्ल द्वितीयाका दिन मामाकी छोरी, काकाकी छोरी, फुफुकी छोरी र आफ्नै दिदी बहिनीले क्रमैले भ्रातृपूजा गर्ने प्रचलन थियो । तर ती सबै कायम रहन सकेन ।

नेपालमा जति चाडपर्वहरु विकसित भएका छन् ती सबै कुनै न कुनै पवित्र उद्देश्यबाट प्रेरित भएको पाइन्छ । जस्तो दशैंको चाड । यो उत्सव दानवी प्रवृतिमाथि मानवी या दैवी शक्तिको विजय अर्थात अन्धकारमाथि प्रकाशको प्रभुत्व स्थापित भएको अवसरको स्मृतिको प्रतिक स्वरुप भएको हरिरामजीको भनाई छ । आदिमकालमा यो चाड पनि वर्षमा चार पटक मनाइने उहाँले खुलासा गर्नु भएको छ । तर आजकल यो दुई पटक मनाइने गरिन्छ । आश्विनको दशै भव्यरुपमा र चैतको दशै सामान्यरुपले मनाइने गरिन्छ ।

कतिपय चाडहरु प्रतिकात्मक रुपमा मनाइन्छ । फागु पर्व यसको उदाहरण हो । आगो नछुने होलिका आगोमा जल्ने तर प्रह्लाद आगोबाट बच्ने पौराणिक कथालाई होलीको दिनमा सम्झिन्छ । चितवनका थारुहरुले फगुवा पर्वमा यसै कथाको प्रतिकात्मक रुपमा पराले छाप्रो बनाई त्यसभित्र एउटा कुखुराको भालेलाई पूजा गरी राखिन्छ । छाप्रोमा आगो लगाउँछन् र भाले बाहिर निस्कन्छ । होलिकाको प्रतिक छाप्रो र प्रह्लादको प्रतिक भालेलाई प्रस्तुत गरिन्छ । आजकल भ्यालेन्टाइन डे जताततै मनाइरहेको देखिन्छ । होलीको दिवस पनि पे्रमको प्रतिकको दिन हो भत्रे पनि उहाँको भनाई छ ।

भोटो जात्रा नेपालको न्याय व्यवस्थाको प्रतिक हो । मणी जडित भोटो कसको हो भत्रे विवाद सुल्झाउन मत्स्येन्द्रनाथको अगाडि सप्रमाण शपथ लिन आह्वान गरिन्छ । तर आजसम्म यस्तो हुन नसकेकोले प्रत्येक वर्ष सो भोटो देखाइन्छ । न्याय दिलाउने उद्देश्यले यो गरिएको भत्रे उहाँको बिचार छ । कुमारषष्ठी चाडका दिन युवायुवतीहरुबीचमा मिथ्या लडाई गर्ने चलन छ । मध्यकाल नेपालमा स्थाई सेनाको व्यवस्था नभएकोले संकटकालको लागि युवायुवतीहरुलाई सैनिक तालिम दिइएको प्रतिकको रुपमा मनाइन्छ । यसको अलावा अरु चाड पर्वहरु पनि केही मानवीय गुणहरुलाई प्रोत्साहित गराउन मनाइने गरिन्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework