२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


१५० ओटा क्याम्पसहरुको सम्बन्धन खारेज गर्ने तयारी


0
Shares

प्रज्ञा तिमल्सिना र नवीन स्थापित (इमेज)

काठमाडौं, माघ १३ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक कार्यक्रम नवीकरण नगरेका करिब १५० ओटा क्याम्पसहरुको सम्बन्धन खारेज गर्ने तयारी गरेको छ ।

लामो समयदेखि शैक्षिक कार्यक्रम नवीकरण नगरेका क्याम्पसहरुको सम्बन्धन खारेज गर्ने तयारी भएको जनाइएको हो ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत् सम्बन्धनप्राप्त देशभर एक हजार ६२ क्याम्पसहरु रहेका छन् ।

तीमध्ये धेरै क्याम्पसहरुमा कुन विषय पढाइ हुन्छ ? कुन क्याम्पस कहाँबाट सन्चालन भइरहेको छ ? वा क्याम्पस सुचारु छ कि छैन ? भन्नेसम्मको तथ्यांक त्रिविसँगै छैन ।

२०७३ सालमा त्रिभुवन विश्वविद्यालय सम्बन्धनसम्बन्धी विनियम बनाइएको थियो ।

विनियमले त्रिविअन्तर्गत् रहेका क्याम्पसहरुले दुई/दुई वर्षमा शैक्षिक कार्यक्रम नवीकरण गराउनुपर्ने प्रावधान राखेको छ ।

विनियममा नवीकरण नगराएका क्याम्पसहरुको सो तह खारेज हुनेसम्मको प्रावधान राखिएको छ ।

त्रिविले सम्बन्धनप्राप्त क्याम्पसहरुको नवीकरण गराउन आग्रह गरेको थियो ।

तर, अहिलेसम्म १५० भन्दा बढी क्याम्पसहरु भने नवीकरण गराउने प्रक्रियामा नै सामेल नभएको त्रिभुवन विश्वविद्यालयअन्तर्गत्को योजना निर्देशनालय प्रमुख क्रदिशकुमार पोखरेलले जानकारी दिए ।

हाल त्रिविअन्तर्गत् व्यवस्थापन पढाउने ७०० कलेजहरु छन् भने शिक्षा संकायतर्फ ६००, मानविकीमा ३००, विज्ञान प्रविधिसम्बन्धी ९० ओटा, चिकित्सा शिक्षामा १५ ओटा, इन्जिनियरिङमा १०, कृषिमा तीन र कानुनमा दुईओटा क्याम्पस सन्चालनमा छन् ।

तर, योजना निर्देशनालयका कार्यकारी निर्देशक पोखरेलले शैक्षिक कार्यक्रम नवीकरण नगरेका धेरै क्याम्पसहरु रहेकाले अब त्रिविले केही दिनमा नै सूचनासमेत प्रकाशन गर्ने तयारी गरेको बताए ।

क्याम्पस सन्चालन भए/नभएको जानकारी नभएपछि अब सूचना निकाल्न बाध्य भएको उनले जानकारी दिए ।

शैक्षिक कार्यक्रम नवीकरण गर्नका लागि त्रिविले विषयअन्तर्गत्को शुल्क लिने गरेको छ ।

भिडियो हेर्नुहोस्