लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

भ्यालेन्टाइन स्पेशल : प्रेमका अनेकौं कथा, अनेकौं विकृती

बुधबार, २ फागुन, २०७४ मा प्रकाशित,

युवराज गौतम-

–धर्मशास्त्रमा उल्लेख गरिएको छ– भगवान शिवको प्यारमा समर्पित भएकी सतिदेवी आफ्नो प्रेमी नपाएको अवस्थामा दनदनी बलेको आगोमा आत्मदाह गर्न पुग्छिन् । यो कुरा शिवलाई थाहा हुन्छ । आफ्नी प्रेमिकाको त्यस्तो हालत देखेर आफूलाई सम्हाल्न सक्दैनन् र सतिदेवीको नश्वर शरीर बोकेर हिमाल–पहाड जताततै भौंतारिन्छन् । उनी प्रेममा यतिसम्म अचेत हुन्छन्, सतिदेवीको नश्वर शरीरका सम्पूर्ण अंग जताततै खसिसक्छन् । उनको हातमा एउटा अस्तुमात्र बाँकी रहन्छ । कस्तो पागल बनाउँछ प्रेमले !

उता, भगवान कृष्णकी भक्तिनी मीरा कृष्णप्रतिको प्रेममा भुतुक्क हुन्छिन् । हरेक समय उनी कृष्णलाई नै सम्झन्छिन् । मिराको कृष्णप्रतिको भक्तिबाट छुटाउन उनका परिवारले बारम्बार अवरोध सृजना गर्छन् तर केही लाग्दैन । अन्ततः मिरालाई विष मिलाएर मार्ने निर्णयमा पुग्छ उनको परिवार । र, एकदिन मिरालाई विष खुवाइन्छ । मिरा हाँसीहाँसी विष पिइदिन्छिन् र प्रेमको अघि विषले कुनै कामै गर्दैन, विष हार्छ र प्रेमले जित्छ ।

–एकदिन विश्व विजयी नेपोलियन बोनापार्ट बन्दीगृहको निरीक्षणमा गएछन् । उनका सामु एक बन्दीलाई पेस गरियो र भनियो– ‘यो बेलायती सैनिकलाई भाग्न लाग्दा समातेका हौं ।’ यसलाई मारी दिऊँ ?’

नेपोलियनले बन्दीलाई सोधे– ‘यहाँबाट भाग्न असम्भव छ र पक्राउ पर्दा मारिन सक्छु भन्ने जान्दा जान्दै किन भाग्न खोज्छौ ?’

बेलायती सैनिकले भनेछ– ‘पछिल्लो पटक बन्दी बनेर आएका मेरा सहकर्मीले मेरी आमा अन्तिम अवस्थामा हुनुभएको र मलाई हेरेरमात्र मर्छु भनिरहेको खबर ल्यायो । त्यही भएर आमाको अन्तिम इच्छा पूरा गर्न सक्छु की भनेर भाग्न खोजेको हुँ ।’

यो सुनिसकेर नेपोलियनले आदेश दिए– ‘आमाको मायाका अगाडी यसलाई एउटा त के, हजारवटा नेपोलियनले पनि रोक्न सक्दैन, त्यसैले यसलाई रिहा गर ।’

मातृप्रेमको शक्तिलाई युद्धउन्मादीमा डुबेका हजार नेपोलियनले पनि जित्न सक्दैन । भयानक अपराध र घृणाभित्रपनि प्रेम उम्रेरै छाड्छ । त्यसैले प्रेमले हाम्रो ध्यान हत्यारा छोरातिर खिच्दैन, प्रेमिकाको समर्पणतिर खिच्छ ।

–मुस्किलैले १९–२० टेकेकी एउटी बैशालु केटीलाई उस्तै २०–२२ को जवानीमा उक्लदै गरेको एउटा केटाले पिछा गर्दै गएर आखिरीमा मनमा दह्रो साहस बोकेर भन्यो– ‘प्रियंका आइ लभ यु ।’

प्रत्युत्तरमा प्रियंकाले लजाइ–लजाइ भनी, ‘आइ लभ यु टु राकेश’ ।

अनि शुरु भयो उनीहरु प्रेम जिन्दगी र आयो फेब्रुअरी १४ अर्थात प्रणय दिवस । बल्ल आफ्नो बगैंचामा फुल्न खोजेको प्रेमको बाली उठाउन ती दुवै आतुर थिए र प्रेमको चिनो स्वरुप आपसमा केही साटे र एकान्तको अनभिज्ञतामा केही बेर खासखुस गरे ।

त्यो एकान्त र सुनसानले दुवैलाई केही घण्टा अँगालोमा बाँधिदियो अनि उनीहरुको प्रणय दिवस त्यस दिनलाई समाप्त भयो । भोलिपल्ट राकेश अर्कै प्रियंकासँग मस्त थियो वास्तविक प्रियंका चाँही सबै गुमाएर रुँदै भनिरहेकी थिइ– ‘राकेश तिमीलाई मेरो प्रेमले श्राप दिनेछ र तिमीले जीवनभर कसैको साँचो माया पाउने छैनौं ।’

तर प्रेम फेर्न पल्किएको राकेश अर्की प्रियंकामा मस्त थियो किनभने वास्तविक प्रियंकाभन्दा पछिल्ली प्रियंकाले उसलाई बढी आनन्द दिइरहेकी थिइ । आजको राकेश र अनि दुई प्रियंका के गर्दैछन कसैलाई थाहा छैन ।

–एउटा केटो एउटी केटीको प्यारमा फँसेछ, एकदिन केटीले आफ्नो प्रेमीलाई आफ्नै आमाको मुटु उपहार ल्याइदिन आग्रह गरिछ । प्रेममा पागल प्रेमीले पनि प्रेमिकाको आग्रहलाई नकार्न सकेनछ र उपहार ल्याइदिने बाचा गरेछ । ऊ सरासर उपहारका लागि आफ्नो घर गएछ । उसैका लागि खाना बनाउँदै गरेकी आमालाई काटकुट पारेर मुटु झिकेर पे्रमिकालाई उपहार दिन आएछ । बाटोमा आउँदै गर्दा ऊ ठेस लागेर लडेछ । आफ्नै खल्तीमा बोकिराखेको आमाको मुटु पर पुग्ने गरी उछिट्टिएछ । उछिट्टिएको मुटुले पनि भनिरहेको थियो रे ! ‘बाबु तिमीलाई चोट त लागेन ?’

–एउटा निदर्यी प्रेमीले आफ्नी प्रेमिकालाई शंकाको दृष्टिले हेर्न थाल्यो र एकदिन प्रेमिकाको घाँटी अँठ्यायो । प्रेमिकाले अलिकति पनि प्रतिरोध गरिनन् । प्राणै जान लाग्दा पे्रमिकाले सकीनसकी प्रेमीको हात समातेर आफ्नो औंलाको औंठी फुकालेर प्रेमीको हातमा लगाइ दिइछन् । आक्रोशले पागल भएको प्रेमीले आफ्नी पे्रमिकाको मृत्यु र आफ्नो औंलामा औंठी एकसाथ देख्न पुगेछ । अनि प्रेमको वास्तविकता पत्ता लगाएछ ।

वास्तवमा प्रेम कति महान् र कति स्वार्थी हुन्छ भन्ने कुरा माथि उल्लेखित कथाका किस्साहरुले पुष्टि गर्छन् । यस्ता कथा अनगिन्ती छन्, जसले प्रेमको महानता र विकृती उसैगरी प्रष्ट्याउँछन् । यस दिवसको इतिहास जति रोचक र भावुक छ, त्यक्ति नै आलोचित बन्दै गइरहेको छ । इतिहास महान हुँदाहुँदै पनि वर्तमान आधुनिकताको नाममा छाडापन संस्कृतिको पछि लागेको छ । विश्वका थुप्रै आदर्श प्रेमका उदाहरणहरुलाई छायाँमा राखेर वर्तमान पुस्ताले प्रेमलाई गलत प्रयोग गरिरहेका छन् ।

प्रेमवादी लेखक जीवन शर्माकै शब्दमा भन्ने हो भने ‘हाम्रो समाजले प्रेमलाई केटा–केटीबीचको प्रेमलाई मात्र प्रेम ठान्यो र भ्यालेन्टाइन डेलाई त्यही रुपमा स्विकार्दै आएको छ, यो विल्कुलै गलत छ । आमाबाबु र छोराछोरी बीचको प्रेम, श्रीमान र श्रीमतिबीचको प्रेम, साथी साथीबीचको प्रेमी र प्रेमिकाबीचको प्रेम पनि प्रेम नै हो जहाँ आत्मीयता, घनिष्टता र निस्वार्थता रहन्छ त्यहाँ प्रेमले बास लिन्छ र त्यही प्रेम महान बन्छ ।’

प्रेमले श्रद्धा जगाउँछ र विश्वासको वातावरण बनाउँछ । त्यसैले संसारको सर्वोत्तम बस्तु नै प्रेम हो । तर यति हुँदाहुँदै प्रेम दिवसले समाजको नियम तोड्दै जान थालेको छ ।

समाजको आँखा छल्दै छाडा संस्कृतिको विकास दिनदिनै हुन थालेको छ । प्रणय दिवसलाई वंैशले उन्माद भएका कतिपय युवायुवतीहरुले आफ्नो अभिष्ट पूरा गर्ने दिनमा चित्रण गर्दै आएका छन् । यस्तो गर्नु सरासर गलत हो ।

रोमियो जुलियट, ममताज र शाहजहाँ, लैला मैजुनको प्रेम र नेपाली समाजका मुना र मदनका बीचको प्रेम आदर्श प्रेम हो । तर समाजले केटा र केटीबीच हुने प्रेमलाई मात्र प्रेम भन्दै आइरहनु कति पनि उचित होइन । प्रेमीप्रेमिका बाहेक अरुप्रति गरिएको प्रेम ओझेलमा राखिएको छ । मुना र मदनका बीचको प्रेममा जति त्याग र बलिदान थियो, त्यत्ति नै त्याग भोटेको प्रेममा पनि पाइन्छ । तर समय क्रमले मुना र मदनको प्रेमलाई मात्र प्रेम ठान्यो र भोटेले मदनप्रति गरेको प्रेमलाई महत्व दिएन । कतिपयले प्रेमलाई गलत रुपमा व्याख्या गरेर पवित्र प्रेम दिवसलाई अपवित्र बनाउन खोजेको आरोप लगाइरहेका छन् ।

प्रेमस्वरुप कसैले कसैलाई उपहार दिन्छन् । उपहार सबैले सबैलाई दिन मिल्छ । प्रेमपूर्वक श्रद्धाभावले दिने उपहार सबैका लागि उत्तम ठहरिन्छ । प्रेम दिवसमा प्रेमी प्रेमिकाबीच गुलाफको फूल आदानप्रदानको संकोचित मान्यतामात्र राख्दैन । भ्रम यसमा छ– भ्यालेन्टाइन केटा र केटीका बीचको दिवस हो जहाँ प्रेमी र प्रेमीकाले मात्र प्रश्रय पाउँछन् । त्यसैले यस्तो संस्कार विकास हुँदै गएकोमा नेपालका कतिपय व्यक्तिहरु सन्तुष्ट छैनन् । प्रेम दिवस केटा–केटीबीचको माया र प्रेम साट्ने माध्यममात्र ठान्नु गलत हो । कसैले माया प्रेम र श्रद्धाले कसैलाई उपहार टक्र्याउँछ भने त्यो उसको समाजप्रतिको इमान्दारिता र मानवताप्रतिको सद्भाव नै हो भन्ने बुझाइ छ । त्यसैले प्रणय दिवसलाई आपसी भाइचारा र मानवीय भावनाको विकासका लागि पनि मनाइनुपर्छ । मान्छेले मान्छेलाई गरिने व्यवहार र सद्भावलाई प्रेममय बनाउन सक्नु प्रेम दिवसको सान्दर्भिकता मान्न सकिन्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework