लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

दक्षिण कोरियाले पठायो उत्तरलाई वार्ताको प्रस्ताव

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 8375 पटक हेरिएको

सोल, साउन २ । दक्षिण कोरियाले उत्तरसँग वार्ता प्रस्ताव गरेको खबर छ । प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको छ ।

रेडक्रसले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेको दुई दिनपछि दक्षिणले उत्तर कोरियासँग यो शान्ति वार्ताको प्रस्ताव गरेको हो ।

सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय–समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार रेडक्रसले सो समय माग गरेको हो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि प्रस्ताव गरेको हो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाँउमा आगामी शुक्रबार नै वार्ता गर्न प्रस्ताव राखेको छ ।

तर, रेडक्रसले भने सो वार्ता आगामी अगष्ट १ का लागि प्रस्ताव गरेको जनाइएको छ । यस विषयमा उत्तर कोरियाका तर्फबाट कुनै जवाफ आएको छैन । उसको जवाफ बमोजिम नै वार्ता कहिले गर्ने भन्ने विषयमा थाहा हुने बताइएको छ ।

पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने उद्देश्यले सो वार्ताको प्रस्ताव गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यदि यो प्रस्ताव उत्तर कोरियाले मान्यो भने सन् २०१५ को अक्टोबरपछि पहिलो पटक दुवै देशका तर्फबाट परिवारहरुको पुनर्मिलन हुनेछ । ती परिवारमध्ये सबैजनालाई नभएर छानिएका व्यक्तिलाई मात्र एक वा दुई दिनसम्म आफन्तसँग बस्न दिइने छ ।

कोरिया यद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यस लगत्तै जो जता परे त्यतै बस्नुपर्ने नियम बनेका कारण यी दुवै देशका ६० हजार भन्दा बढीको संख्याका नागरिक अलग भएका थिए ।

उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै, दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरु उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लंघन गरेको प्रतिक्रिया दक्षिण कोरियाको छ ।

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले केही महिना अघि दिएको सार्वजनिक अभिव्यक्तिमा उत्तर कोरियाको कदम कोरियाली प्रायद्वीपका लागि मात्र नभएर विश्वकै लागि पनि शान्ति भंग गर्ने खतरा हो भनेका थिए ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गरेको बताएका थिए ।

उनको यही प्रयासपछि पछिल्लो समयमा दक्षिण कोरिया उत्तर कोरियासँग नरम भएको अनुमान कतिपयले गरेका छन् । तर, निरन्तर रुपमा उत्तरले गरेको आणविक परीक्षणका कारण भने कोरियाली प्रायद्वीपमा अशान्ति कायमै छ ।

उनले गतमहिना अमेरिकाको भ्रमण गरेका थिए । कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी परामर्श एवम् वार्ता गरेको र वार्ताले आपसी हितका अतिरिक्त कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि वातावरण निर्माणमा सहयोग पुग्नेगरी आधार तय गरेको उनको धारणा थियो ।

विश्व समुदाय र संयुक्त राष्ट्रसंघले समेत हतियारको होडबाजीका रुपमा आणविक परीक्षणजस्ता क्रियाकलापहरु गरेर परिस्थितिलाई उत्तेजक बनाउने काम नगर्न गरिएका बारम्बारका अनुरोधहरुका बाबजुद पनि उत्तर कोरियाले भने आणविक परीक्षणलाई निरन्तरता दिँदै आएको छ । रासस/एएफपी

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework