लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

लन्डन शृंखलाबद्ध आतंकवादी आक्रमणले आक्रान्त, अतिवादीहरुको चर्को निशानामा

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 4333 पटक हेरिएको

किशोरजंग थापा (इमेज): काठमाडौं, असार ५ । इस्लामिक अतिवादी समूह ‘आईएस’को आतंकले मध्यपूर्वका विभिन्न मुलुक थिलोथिलो बन्दै जाँदा यसको संक्रमण युरोपेली मुलुकहरुमा हुन थालेको छ ।

कुनै समय विश्वभर आफ्नो प्रभुत्व जमाएर तहल्का मच्चाएको ब्रिटेन अहिले भने शृंखलाबद्ध आक्रमणबाट तर्सिएको अवस्थामा छ ।

ब्रिटेनको लन्डनस्थित वेस्टमिन्स्टर ब्रिजनजिक गरिएको चक्कु आक्रमणमा पाँचजनाको मृत्यु भयो, मार्चमा ।

यसको एक महिनापछि म्यानचेस्टर सहरमा एउटा सांगीतिक कन्सर्टमा गराइएको बम विस्फोटमा १९ जनाको मृत्यु भयो । घटनालगत्तै ब्रिटिस प्रधानमन्त्री थेरेसा मेले भनिन्–‘डरलाग्दो आतंकवादी आक्रमण’ ।

जुनमा मध्य लन्डनस्थित लन्डन ब्रिजमा रहेका पैदलयात्रीमाथि एउटा भ्यान लगेर ठोक्काइ नजिकैको बरो मार्केटको पव र रेस्टुराँमा जम्मा भएकाहरुमाथि अन्धाधुन्द छुरा प्रहार गर्दा सातजनाको हत्या भयो । प्रधानमन्त्री मेको प्रतिक्रिया आयो–‘अब त अति भयो’ ।

आतंकको गति अति हुँदै जाँदा जुन १९ मा आएर लन्डनमा एउटा भ्यानले स्थानीय मस्जिदमा प्रार्थना गरेर फर्केका मुस्लिम समुदायका मानिसहरुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भयो ।

न्युयोर्क र वासिङटनभन्दा लन्डन अतिवादीहरुको बढी नै निशानामा परेको अध्ययनको निश्कर्षलाई सही सावित गरिदिएको छ, केही महिनायताको यस प्रकारका आक्रमणको शृंखला हेर्दामात्र पनि ।

ब्रिटेनकी प्रधानमन्त्री मेलाई यस्ता आक्रमण चुनौती बनिरहे एकपछि अर्को आक्रमण भोग्दै गर्दा ।

पश्चिमी युरोपेली राजधानी सहर आतंककारीको निशानामा बढी पर्ने गरेका छन् । जर्मनी, टर्की र इटालीमा गराइएका आक्रमण यसका उदाहरण बनेका छन् । युरोपभरि नै शान्त सहरकारुपमा मानिँदै आएको लन्डन यसको अपवाद बन्न सकेन ।

विज्ञहरुले इराक युद्धमा तात्कालीन प्रधानमन्त्री टोनी ब्लेयरको समर्थन र ब्रिटेनमा ठूलो मुस्लिम जनसंख्या रहेको कारण पनि त्यहाँ साना प्रविधियुक्त तर विनाशकारी आत्मघाती आक्रमणको खतरा रहेको औंल्याउँदै आएका थिए ।

गत वर्षमात्र मुस्लिम विश्वको नजरमा अमेरिकाको बलियो सहयोगीकारुपमा ब्रिटेनले आफूलाई पुनः प्रस्ट्याइसकेकाले पनि आतंककारी समूहको ध्यान त्यहाँ परेको विश्वास गर्न थालिएको छ ।

आफ्नो उपस्थिति बलियो देखाउन राजधानीमा नै आक्रमणमा उत्रनु उनीहरुका लागि महत्वपूर्ण हुनसक्छ । यस्तै, घरेलु पृथकतावादी चरमपन्थीको सक्रियताले पनि ब्रिटेनमा आतंक फैलाउन मद्दत पुगेको बताइन्छ । र, उनीहरुको निशानामा ब्रिटेनी मुस्लिमहरु पर्ने गरेका छन् ।

लन्डनमा भएका पछिल्ला आक्रमण रोक्न अत्यन्त गाह्रो मानिन्छ । किनकि, यस्ता आक्रमण अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा गरिएकोजस्तो लामो योजना, सूचना आदान–प्रदान र आर्थिक चलखेलपछि गरिएका आक्रमण थिएनन् ।

भीडमा पसेर चक्कु हान्ने, पेस्तोल प्रहार गर्ने र बटुवामाथि सवारी–साधन गुडाउनेजस्ता आक्रमणका सूचना पाउन र नियन्त्रण गर्न सुरक्षा निकाय र गुप्तचरी संयन्त्र त्यति सफल देखिएका छैनन् ।

ब्रिटेनमा बढेको आतंकवादी आक्रमणपछि महारानी एलिजावेथले राष्ट्रव्यापीरुपमा छाएको उदासी छल्न मुस्किल भएको बताइन् ।

आफ्नो ९१औं जन्मदिनको औपचारिक विज्ञप्तिमा उनले दुखान्त परिस्थितिहरुमा आफू चुपचाप रहन नसक्ने निर्णय गरिन् । संवैधानिक संस्थाबाट यस किमिमको कडा अभिव्यक्ति आउनुको कारण मुलुकमा बढेको आतंकलाई ठानियो । जसको अर्थ खोज्नेक्रम सुरु भइसकेको छ ।

हालैमात्र ब्रिटेन र अमेरिकाले संवेदशनील गुप्तचरी जानकारी आदान–प्रदान गर्न बन्द गरेका छन् । यसको असर आतंककारी गतिविधि नियन्त्रणमा पर्ने देखिन्छ ।

तरपनि आतंककारी आक्रमणको बढ्दो शृंखला तोड्न ब्रिटेन कसरी सफल होला भन्ने प्रश्न भने यक्ष बनेर उभिएको छ । –एजेन्सीको सहयोगमा

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework