१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


खोकनामा प्रहरी र स्थानीयबीच झडप, तीनजना प्रहरी घाइते, २० सेल अश्रुग्यास प्रहार


13
Shares

काठमाडौं, असार २० । ललितपुरको खोकनामा शनिबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

प्रस्तावित द्रुतमार्ग पर्ने क्षेत्रको जमिनमा स्थानीयले खेत रोप्न थालेपछि झडप भएको हो ।

खोकनाको सभ्यता जोगाउनुपर्ने, विकासको नाममा उर्वर भूमि विनास गर्न नहुनेलगायतका माग गर्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

आफ्नो जमिनमा जोतभोग गर्न पाउनुपर्ने भन्दै स्थानीयले धान रोप्न थालेपछि प्रहरीले अवरोध गरेको थियो । प्रहरीले लाठीचार्जसमेत गर्‍यो । त्यसपछि स्थानीयको तर्फबाट ढुंगामुढा भएको प्रहरीले जनाएको छ ।

स्थानीयले प्रहार गरेको ढुंगा लागेर प्रहरी निरीक्षक किसन बस्नेतसहित तीनजना प्रहरी घाइते भएका महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता सन्तोष तामाङले इमेजखबरलाई जानकारी दिनुभयो ।

स्थानीयतर्फ कसैलाई केही नभएको उहाँले बताउनुभयो ।

स्थानीयको ढुंगामुढापछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

‘स्थिति नियन्त्रणमा लिन २० सेल अश्रुग्यास प्रहार गरिएको हो’–सहप्रवक्ता तामाङले भन्नुभयो ।

सो क्षेत्रमा शनिबार बिहानैदेखि सशस्त्र प्रहरीसहित ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो ।

शनिबार दिउँसो करिब १ बजेतिर प्रहरीको अवरोधपछि स्थानीयले ढुंगामुढा गरेको जनाइएको छ ।

अहिले स्थिति नियन्त्रणमा आइसकेको र अवस्था सामान्य रहेको सहप्रवक्ता तामाङले बताउनुभयो ।

बाहिरी चक्रपथ, काठमाडौं–तराई–मधेस द्रुतमार्ग र मातातीर्थ–भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका छन् ।