१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


म्याग्दीमा पहिरोमा पुरिएर ७ जना बेपत्ता


0
Shares

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा पहिरोमा पुरिएर ७ जना वेपत्ता भएका छन् ।

घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता पारेको बताईएको छ । स्थानिय भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ ।

पहिरो जाँदा भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीले बताएका छन् ।

माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् । घण्टीवाङ मुनीको रिखामा ६ घरको बसोबास थियो ।

दुई घर पहिरोमा पुरिंदा बाँकी ४ घर परिवार विस्थापित भएका छन् । यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ ।

बाढीले वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको हो । भागेर ज्यान बचाउनेक्रममा एक जना घाइते भएका छन् ।

यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिज बगाएको छ ।

सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ ।

बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्कबाट विच्छेद भएको छ ।