१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जो पहिरोमा परेरपनि बाँचे… (भिडियो)


65
Shares

sankhuwasabha

ईन्द्र गिरी र शंकर खनाल (इमेज)

संखुवासभा, काठमाडौं, असार ३१ । संखुवासभामा पहिरोमा परी बेपत्ता भएका ११ जना अझै हराइरहेका छन् ।

बाँच्नेहरुले बेपत्ताहरु पत्ता लगाउन र भोको पेट भर्नका लागि सबैसँग हारगुहार गरिरहेका छन् ।

बाँच्नेहरुलाई विभिन्न समस्याले गाँज्दै गएको छ ।

गोवानसिंह राईको जीवनमा त्यो दुःखद् रात आयो र गयो पनि । त्यही रातको नियति अहिले गोवानसिंहले भोगिरहेका छन् ।

मुसलधारे वर्षा बर्सिएको कालो रातको सम्झनाले अझैपनि उनलाई झस्काइरहेको छ ।

संखुवासभाको सिलिचोङ गाउँपालिकामा आएको पहिरोले उनको घर बगायो । तर, रातभर पहिरोमै पुरिएर घिटीघिटीको अवस्थापछि उनको उद्धार भएको छ ।

घटना सम्झँदा उनको आङ जिरिङमात्र भएको छैन, गला पनि अवरुद्ध भएको छ ।

कहालीलाग्दो रातमा माथिबाट आएको ज्यानमारा पहिरोले त्यस गाउँका नौ घरमात्र बगाएन, परिवारसँगै बसेका ११ जनालाई आफन्तबाट थुतेर लग्यो । न त सास छ न त लास नै । उनीहरु ११ जना अझै बेपत्ता छन् ।

४८ घन्टासम्म मुसलधारे पानी दर्कंदा त्यस क्षेत्रको वरिपरिको पहाडमा पहिरोमात्र गएन, स्थानीय बासिन्दाको घर र मनभित्र नै विशाल भेल पस्यो । सयौं मुरी फल्ने खेत, अलैंचीबारी त बगाएर बगरमा परिणत भएको छ नै, कन्दमूल, गिठ्ठा, भ्यागुरमा रात बिताउनुपर्ने बाध्यता छ, उनीहरुलाई ।

पहिरोको डरले ७९ परिवारका ३४९ जना थातथलो छाडेर चित्रे भन्ने शेर्पा गाउँमा आश्रय लिएर बसिरहेका छन् ।

पहिरो गएको चार दिनसम्म पनि सरकारी निकाय राहत लिएर नपुग्दा पहिरोपीडितहरु आहत भएका छन् ।

चार दिनसम्म सरकारी टोली नपुग्दा काठमाडौंबाट पूर्वराज्यमन्त्री दीपक खड्का र समाजसेवी मिङ्मा शेर्पासहित गएको टोलीले उनीहरुलाई राहतमात्र बाँडेन, हेलिकोप्टरबाटै घाइतेलाई अस्पताल लैजाने गरेको छ ।

घरमा खाने अन्न, लत्ताकपडा र खानेपानी नहुँदाको विलापमा रहेका उनीहरुलाई केही भएपनि राहत मिलेको छ ।

खानेपानीको लागि पाइप, खाद्यान्न, लत्ताकपडा लिएर पुगेको हेलिकोप्टर देख्दा उनीहरुलाई केही आश पलाएको छ ।

यता, खराब मौसमको कारण राहत लिएर गएको नेपाली सेनाको हेलिकोप्टर भने पहिरोपीडित स्थानमा पुग्न नसकेपछि सिसुवाकै बुधबारेमा राहत सामग्री खसालेर फर्किएको छ ।

प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई, सांसद राजेन्द्र गौतमसहितको टोली घटनास्थलसम्म पुग्न सकेन । वर्षा नरोकिएका कारण खोजीकार्यमा कठिनाइ भइरहेको छ ।

खोजीकार्यमा सदरमुकाम खाँदबारीबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजीकार्य जारी राखेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो ।

त्यसैले अबपनि पहिरोपीडित क्षेत्रमा राहत र उद्धारको लागि अझै विलम्ब गरिनुहुँदैन ।

भिडियो हेर्नुहोस्