१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


महिलालाई कपाल काटेर गाउँ घुमाउने चारजना समातिए


0
Shares

crime

नीरज पिठाकोटे (इमेज)

पर्सा, साउन १ । पर्सामा एकल महिलालाई दुर्व्यवहार गर्ने चारजना पक्राउ परेका छन् ।

छिपहरमाई गाउँपालिका वडा नम्बर–३, छोटकी जयमंगलापुरमा एकजना एकल महिलालाई दुर्व्यवहार गर्नेहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा स्थानीय ५५ वर्षीय मुनीलाल साह कानु, ४० वर्षीय राजदेव ठाकुर, ३५ वर्षीया इन्दुदेवी र ३२ वर्षीया सन्ध्यादेवी छन् ।

बुधबार बिहान स्थानीय एकल महिलालाई कपाल काटेर गाउँ घुमाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो ।

पीडित महिलाको पतिको दुई वर्षअगाडि मृत्यु भएको थियो । उहाँका पाँच छोरी र एक छोरा छन् । उहाँले अरुको घरमा काम गरेर सन्तान पाल्ने र आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको छ ।

पीडितले भारतीय नागरिकसँग अनैतिक सम्बन्ध राखेको आशंका गर्दै कपाल काटेर गाउँ परिक्रमा गराएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीहरुलाई नियन्त्रणमा लिएको हो ।

घटनामा गाउँपालिकाका एकजना सदस्य पनि संलग्न रहेको आरोप छ । उनीलगायतका केही व्यक्तिहरु फरार रहेको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई आफन्तको जिम्मा लगाएर पठाएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।