
काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु–बाइपास सडक विस्तारको विरोधमा स्थानीयहरुले शनिबारबाट रिले अनशन सुरु गरेका छन् ।
सर्वोच्च अदालतको आदेशविपरीत सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त सडकमा रहेका घरहरु भत्काउँदै विस्तार कार्य अघि बढाएपछि रुष्ट भएका स्थानीयले अनशन सुरु गरेका हुन् ।
२०७३ साल चैत ८ गते सर्वोच्च अदालतले छलफलमार्फत् टुंगो नलागेसम्म सो क्षेत्रमा घर–आँगनमा प्रवेश गर्ने, अनाधिकृत कब्जा गर्ने, भत्काउने काम नगर्न आदेश जारी गरेको थियो ।
तर, गत मंगलबार गाईजात्राका दिन केही घर भत्काएपछि पीडित भनिएका स्थानीयले सो क्षेत्रमा प्रदर्शन गर्दै बालाजु चौकीमा धर्नासमेत दिएका थिए ।
उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमीले जनप्रतिनिधिले शक्तिकै आडमा जबर्जस्ती घर भत्काएको भन्दै विस्थापित भएका पीडितलाई पुनर्बासको व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ ।
यस्तै, सो क्षेत्रमा बिनानम्बरप्लेटका डोजरहरु परिचालित भेटिएपछि ट्राफिक प्रहरीले नम्बरप्लेट नभएको डोजरलाई कारबाही गर्ने र सम्बन्धित डोजरधनीलाई ध्यानकर्षण गराउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्