
काठमाडौं, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टी फुटका पक्षमा लाग्नेहरुलाई चेतावनी दिनुभएको छ ।
स्थायी कमिटी सदस्य एवं पूर्व उपप्रधानमन्त्री रावलले पार्टीभित्र देखिएका सबै समस्याको समाधान बैठकबाट खोजिनुपर्ने माग पनि गर्नुभएको छ ।
नेता रावलले फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा नलाग्न सचेत पनि गराउनु भएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेख्नुभएको छ, ‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो । बैठकबाट समस्याको समाधान खोज्नुपर्छ । फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं ।’
नेकपामा पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सत्ताका लागि लामो समयदेखि झिनाझप्टी चलिरहेको छ भने एकले अर्कालाई तथानाम गाली गर्दै आरोप पत्रको दोहोरी नै चलाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्