१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


प्रधानमन्त्री ओली राजावादीसँग मिलेको आरोप, देउवा भन्छन्–‘भ्रम नहोस् राजा आउनेवाला छैन’


0
Shares

congress sherbahadur deuba

हेटौंडा, मंसिर २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली राजावादीहरुसँग मिलेको आक्षेप लगाउनुभएको छ ।

सरकारविरुद्ध हेटौंडामा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको भन्दै प्रधानमन्त्री ओली नै राजावादीसँग मिलेको त होइन ? भन्नुभयो ।

‘ओली नै तत्कालिन राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?’ आफ्नै शैलीमा देउवाले भन्नुभयो, ‘कसैलाई भ्रम नहोस्, राजा आउनेवाला छैन ।’

राजाले प्रजातन्त्र नसहेकै कारण कांग्रेस गणतन्त्रमा जानु परेको प्रष्टीकरण दिँदै सभापति देउवाले प्रजातन्त्रविरुद्ध नजाऔंभन्दा तत्कालिन राजाले आफूलाई थुनेको दाबी पनि गर्नुभयो ।

वर्तमान नेकपाको सरकारले एकदलीय सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै देउवाले कम्युनिष्टले चुनाव जिते भने हाँस्न र रुन पनि पाउने छैन भनेर आफूले भनेको मिल्न थालेको बताउनुभयो ।

ओली सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै देउवाले कोरोना जस्तो महामारीमासमेत सरकारले लाजमर्दो भ्रष्टाचार गरेको बताउनुभयो ।

देशभर बलात्कारका घटना बढ्दा पनि सरकार संवेदनशील बन्न नसकेको भन्दै उहाँले निर्मला पन्त हत्या प्रकरणमा नेकपाकै मान्छे त संलग्न छैन भन्ने आशंका गर्नुभयो ।

कोरोनाका समयमा बाध्य भएर सडक प्रदर्शन गर्नुपरेकामा उहाँले जनतासँग माफी पनि माग्नुभयो ।