१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


१० सिट जितेर देखाउन दाहाल–नेपाल समूहलाई ओलीको चुनौती


0
Shares

कैलाली । प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई मध्यावधि निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिनुभएको छ । कैलालीको धनगढीमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभरबाट १० सिट जितेर देखाउन चुनौती दिनुभयो ।

दाहाल र नेपालले पार्टी विभाजन गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले उहाँहरूलाई भगौडाको संज्ञा दिनुभयो । पार्टी छाडेर गएका भगौडाहरुको कुरा नसुन्न उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन असंवैधानिक भन्नेहरूलाई संविधान पढ्न सुझाव पनि दिनुभयो । आफू ६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री रहेको ओलीको जिकिर थियो । देशका लागि काम गर्न नदिएपछि ताजा जनादेशमा जान आफुले विघटनको सिफारिस गरेको भन्दै उहाँले संसदमा आफ्नो विकल्प नभएको जिकिर गर्नुभयो ।

कतिपयले केपी ओलीले चुनाव गर्दैन भनेको भन्दै उहाँले चुनाव वैशाख १७ र २७ गते नै ठोकुवा गर्नुभयो । चुनावको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले खराब तत्वहरूलाई गाउँमै ठेगान नलगाए माथि गएर हैरान पार्ने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशलाई अब कसैले पछाडि पार्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले माघ १ गते परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भारत भ्रमणमा गएर गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउन प्रस्ताव गर्ने जानकारी दिनुभयो ।

संबोधनका क्रममा प्रधानमन्त्री ओलीले पश्चिमसेती जलविद्युत आयोजना बनाउने, कैलाश मानसरोवर जोड्ने बाटो बनाउने लगायत विकासका आश्वासन पनि दिनुभयो । प्रधानमन्त्री ओलीले विकासका लागि संघीय सरकारले बजेटको कमी हुन नदिने भन्दै प्रदेश सरकार प्रभावकारी भए विकासले गति लिने बताउनुभयो ।