
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलो पटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको हो ।
देशमा भ्रष्टाचार समाप्त पार्नेगरी कुनै प्रभावकारी कदम नदेखिएको उहाँको भनाइ छ । सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरे पनि घोषणा अनुसारको व्यवहारमा नदेखिएको उहाँले बताउनुभयो । भ्रष्टाचार अन्त्यको निम्ति विभिन्न कानुन, नियमावली बनेको भए पनि लागू हुन नसकेको उहाँको भनाइ छ ।
‘प्रकृतिमा रहेका सबै प्राणिहरूको अन्तर्निहित सम्बन्ध नबिगारीकन विकास गर्नुपर्छ,’ उहाँले भनुभयो, ‘त्यसो नगरिए वातावरणमा प्रतिकुल असर परी मानिसको आयु घट्दै जान्छ ।’
राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभाको मानमर्यादा र काम कारबाहीमा विभेद भएको भन्दै विभेद अन्त्यको निम्ति आफ्नो योगदान रहने बताउनुभयो । एक सदनलाई बढी अधिकार र अर्को सदनलाई कम अधिकार दिने अवस्थाको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्