
प्रज्ञा तिमल्सिना
काठमाडौं । सरकारले खरिद गर्ने निर्णय गरेको ५० लाख डोज खोपको मूल्य केही बढ्ने देखिएको छ । यसअघि भारतको सेरम इन्स्टिच्युटबाट २० लाख डोज खोप किन्दा प्रति डोज ४ डलर तिरिएको थियाे । तर, दोब्बर भन्दा बढी परिमाणकाे खाेप खरिद गर्दा भने मूल्य बढ्ने भएको हो ।
स्वास्थ्य मन्त्रालयका खोप विज्ञ डा. श्यामराज उप्रेतीले पहिले कम्पनीबाट सिधै खरिद गर्दा सस्तो परेको भन्दै अब त्यस्तो ‘डिल’ गर्न कठिनाइ हुने दाबी गर्नुभयो । एजेन्ट मार्फत खोप खरिद गर्नुपर्ने भएकाले केही महंगो मूल्य तिर्नुपर्ने उहाँले बताउनुभयो । यद्यपि खरिद मूल्य कति बढ्ने अहिले नै भन्न नसकिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउनुहुन्छ ।
सरकारलाई पुनः ५० लाख डोज खोप खरिद गर्न भने सजिलो छैन । सेरम इन्स्टिच्युटले अग्रिम भुक्तानी नगरी खोप नदिने भएकाले खोप खरिद गर्न केही कानुनी वाधा आउन सक्ने देखिएको छ । २० लाख डोज खोप खरिद गर्दा पनि सेरम इन्स्टिच्युटले अग्रिम भुक्तानी गर्नुपर्ने प्रावधान राखेपछि सरकारले सार्वजनिक खरिद ऐनको विपरित गएर २० लाख डोज खोप खरिद गरेको थियो ।
खरिद ऐन अनुसार कुनै पनि सामान खरिद गर्नुअघि अग्रिम भुक्तानी गर्न मिल्दैन । तर, मन्त्रिपरिषद्बाट निर्णय गराएर अग्रिम भुक्तानी दिइएको मन्त्रालयले जनाएको छ । अहिले पनि अग्रिम भुक्तानी पठाएर ५० लाख डोज खोप खरिद गर्ने मन्त्रालयको तयारी छ ।
५० लाख डोज खोप मध्ये १० लाख डोज पहिलो चरणमा र ४० लाख डोज दोस्रो चरणमा ल्याउने जनाइएको छ । कोरोना संक्रमणकाे राेकथामका लागि छिटो खोप खरिद गरेकाे सरकारले सरकारले खरिदमा पारदर्शिता कायम गर्न नसके स्वास्थ्य सामग्री खरिदमा झैँ विवादमा तानिने पक्का छ । त्यसतर्फ बेलैमा ध्यान दिइ पहिलाकाे भन्दा कम वा साेही मूल्यमा खाेप खरिद गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्