
काठमाडौं । चितवनमा त्रिशूली नदीमाथि पुल बनाउने क्रममा खसेर एक जना मजदुरको मृत्यु भएको छ । अरु दुई जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलमा ट्रस राख्ने क्रममा खस्दा एक जनाको ज्यान गएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्रिशूलीमा खसेका अरु दुई जना बेपत्ता भएका छन् भने ८ जना मजदुर घाइते भएका छन् ।
घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बिहान ९ बजेतिर पुलमा ट्रस राख्ने क्रममा ट्रससहित उनीहरु नदीमा खसेका लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार हराइरहेका दुई जनाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरीसहित उद्दार टोली खटिएका छन् ।
यसअघि निर्माणाधीन यो पुलको पूर्वी भाग भत्किएको थियो । अहिले भने पश्चिमपट्टीको भागमा ट्रस राख्ने क्रममा मजदुर खसेका हुन् ।
प्रतिक्रिया दिनुहोस्