
चितवन । चितवन जिल्लामा सक्रिय संक्रमितमध्ये ९४ प्रतिशत होम आइसोलेसनमा रहेका छन् ।
पहिलो चरणको कोभिड–१९ संक्रमण तीव्र हुँदा स्थानीय तहहरूले निर्माण गरेको क्वारेन्टिन र आइसोलेसनमा रहने गरेको भए पनि स्थानीय तहले अझैसम्म आइसोलेसन नबनाउँदा अहिले अधिकांश संक्रमित होम आइसोलेसनमा रहन बाध्य भएका छन् ।
अक्सिजन सहितको आइसोलेसन निर्माण गर्ने छलफल चले पनि व्यवहारमा लागू हुन सकेको छैन । होम आइसोलेसनमा संक्रमित थपिदै जाँदा त्यसले संक्रमण थप बढाउने चिकित्सकहरूले बताएका छन् । घरका अधिकांश परिवार संक्रमित हुँदा उनीहरूको दैनिकी नै प्रभावित बनिरहेको छ । संक्रमितको हेरचाह, आहारविहार तथा फलफूल खरिदका लागि अर्को सदस्य बाहिर जाँदा अन्यसँग सम्पर्कमा रहने गरेका छन् ।
कतिपयले आफ्नो रिर्पोट पोजेटिभ आए पनि झुट बोलेर मर्निङ वाक, इभिनिङ वाकसमेत जाने गरेको पाइएको भरतपुर अस्पतालका कोभिड फोकल पर्सन डा. प्रमोद पौडेलले जानकारी दिनुभयो । लक्षण नभएका र साधारण लक्षण भएकाहरूलाई होम आइसोलेसन अति उत्तम हुने भए पनि मापदण्ड पालना नगर्दा संक्रमणको जोखिम थप बढाएको उहाँको भनाइ छ । नागरिक स्वयं सचेत र जिम्मेवार हुनुपर्ने डा. पौडेलको सुझाव छ ।
होम आइसोलेसन बस्दा स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गर्नुपर्ने र त्यसको प्रभावकारी अनुगमन स्थानीय तहबाट हुनुपर्नेमा डा. पौडेलको जोड छ । अन्यथा संक्रमण नियन्त्रणमा समस्या हुने चिकित्सकहरू बताउँछन् । पहिलो चरणको कोभिड–१९ को समय सक्रमितलाई सिधै अस्पताल वा संस्थागत आइसोलेसनमा लैजादा सम्पर्क चेन छुटेकाले पनि चाँडै संख्या घट्दै गएको थियो । तर, अहिले चितवनमा निषेधाज्ञा जारी रहँदा स्वाव परीक्षणबाट आउने पोजेटिभ संख्या पनि दिनप्रतिदिन बढिरहेको छ ।
सक्रिय संक्रमितमध्ये ८३ प्रतिशत भरतपुर महानगरमै भए पनि महानगरले अझैसम्म आइसोलेसन तयार पारेको छैन । स्थानीय तहसँगको बैठकमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलेले सबै स्थानीय तहहरूलाई वडा समिति, टोल समिति, स्वास्थ्यका सवै युनिटलाई सक्रिय बनाएर होम आइसोलेसनमा रहनेहरुको अनुगमन निरीक्षण गर्न सुझाव दिनुभएको थियो ।
आफूले १५ दिन अघिनै करिव दुई सय वेडको आइसोलेसन निर्माण गर्न महानगरलाई भने पनि निर्माण नगरिएको उहाँको भनाइ छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले अक्सिजन सहितको आइसोलेसन बनाउनुपर्ने भएकाले केही समय लागेको बताउनुभयो । तर, चिकित्सकहरूले भने अक्सिजन दोस्रो प्राथमिकता भएकाले सामान्य आइसोलेसन बनाउन सुझाव दिएका छन् ।
मंगलबार २ सय ३३ जना संक्रमित थपिएसँगै चितवनमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ४ पुगेको छ । त्यसमध्ये १ हजार ३१५ जना होम आइसोलेसनमा र बाँकी ८९ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । जिल्लामा आज सम्म १२१ जनाको मृत्यु भएको छ । कुल संक्रमित ८ हजार ४ सय ४५ पुगेको जिल्लाका ६ हजार ९ सय २० जना निको भई घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्