
काठमाडौं, असार ८ । अमेरिकाले नेपाललाई कोरोना भाइरसविरुद्धको थप खोप दिने घोषणा फेरि गरेको छ । यो खोप नेपालसहित १८ एशियाली मुलुकलाई कोभ्याक्समार्फत् पठाइने छ ।
अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनका अनुसार खोपको संख्या १ करोड ६० लाख डोज रहेको छ ।
जुन महिनाको अन्तसम्ममा विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई ८ करोड खोप वितरण गर्ने अमेरिकी घोषणाअनुसार दुई करोड ५० लाख खोप वितरणको जानकारी यसअघि नै दिइसकिएको थियो ।
सोमबार थप ५ करोड ५० लाख खोप वितरणको विवरण सार्वजनिक गर्दै बाइडन प्रशासनले एशियाका १८ मुलुकले कोभ्याक्समार्फत् १ करोड ६० लाख खोप पाउने जनाएको हो । जुन ३ को घोषणामा भने एशियाली मुलुकहरुले ७० लाख खोप पाउने भनिएको थियो ।

पहिलो चरणको घोषणा अनुरुपको खोप जुन महिनाभित्र विभिन्न मुलुकमा पुग्ने पनि ह्वाइट हाउसले जनाएको छ ।
यसरी खोप पाउने एशियाली मुलुकमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, मलेसिया, लाओस, पपुवा न्यूगिनी, ताइवान, कम्बोडिया र प्यासिफिक आइल्याण्ड रहेका छन् ।
नेपालले ठ्याक्कै कति मात्रा खोप पाउने छ भन्नेचाहिँ अझै खुलाइएको छैन । अमेरिकाले दिने ८ करोड खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् र २५ प्रतिशत भने सिधै वितरण गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्