
काठमाडौं । अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको छ ।
अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई आजदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाले जानकारी दिएको छ ।
नेपालमा ५ वर्षमुनिको बालबालिकालाई मात्र पोलियो खोप लगाइने गरेकामा अफगानिस्तान पोलियोको जोखिम रहेको देश हुनाले त्यहाँबाट उद्धार गरिने सबै नागरिकलाई पोलियो खोप लगाउन लागिएको हो ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा हाल अफगानिस्तान र पाकिस्तानमा प्रत्येक वर्ष पोलियोका बिरामी फेला पर्ने गरेका छन् । यो वर्ष दुई जनामा पोलियो फेला परेकोमा एकजना पाकिस्तानी र अर्को अफगानिस्तानी नागरिक हुन् ।
तालिवानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि नेपाललगायत विभिन्न मुलुकका नागरिकहरु अहिले स्वदेश फर्किरहेका छन् । गृहमन्त्रालयका अनुसार गत भदौ १ गते यता ५ सय भन्दा बढी नेपाली अफगानिस्तानबाट नेपाल फर्किएका छन् ।
यसअघि अफगानिस्तानबाट फर्किएकाहरुलाई भने उनीहरुलाई पायक पर्ने स्वास्थ्य संस्थामा पोलियो खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्