
काठमाडौं । भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायी मारमा परेका छन् ।
काठमाडौंको न्यूरोड क्षेत्रमा देखिएको फूल व्यापारमा अधिकांश भारतीय फूल देखिएको छ । भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म बिक्री हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको व्यापारीले गुनासो गरेका छन् ।
काठमाडौंमा लक्ष्मी पूजा र गोवर्द्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलको बिक्री धेरै हुने गर्छ । कात्तिक पहिलो साता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बालीसँगै फूल खेतीमा क्षति गरेको थियो ।
काठमाडौं उपत्यका वरिपरिका साथै तराईका विभिन्न क्षेत्रमा व्यावसायिक रुपमा फूलखेती हुने गरेको छ । फूल बेच्न नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोकबाट किसान तथा व्यापारी आउने गर्छन् ।
यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो । तर, बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूलबारीमै नष्ट भएपछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ ।
कोरोना संक्रमणको जोखिम कम भएको र मानिसहरूले उल्लासमय तरिकाले तिहार मनाउने हुँदा माग बढ्ने अनुमान गरिएको थियो । गत वर्षको तुलनामा ५ लाख बढी मालाको माग बजारमा आउने अनुमान गरिएको छ ।
नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको विभिन्न अध्ययनले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्