१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


आदिवासीको पहिचान झल्किने गरी जनगणना गर्न माग


0
Shares

काठमाडौं, कात्तिक २५ । नेपाल आदिवासी जनजाति महासंघले १२ औं राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष बरामले १२ औं राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न माग गर्नुभएको हो । उहाँले विगतका जनगणनामा सरकारले सूचीकृत गरेका आदिवासी जनजातिको गणना नगरिएको भन्दै यस वर्ष सम्पूर्णको गणना गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष बरामले कतिपय आदिवासी जनजातिको गणना भएपनि जातजाति भित्रको उपथरको स्पष्ट रुपमा पहिचान हुन नसकेको बताउनुभयो । उहाँले यसपटक सरकारले जनजातिहरुको उपथरलाई पहिचान गरी त्यसको संख्या जनजातिको संख्या भित्रै आउनेगरी गणना गर्न माग गर्नुभयो ।

अध्यक्ष बरामले नेपालमा बहुभाषी मानिसहरु भएपनि कम मात्रामा बोलिने भाषाको जनगणना नै नहुने गरेकाले कुनै भाषा बोल्ने एकजना मात्रै छ भनेपनि उसको गणना गरेर सार्वजनिक गर्नु पर्नेमा जोड दिनुभयो ।

अध्यक्ष बरामले आदिवासी जनजातिहरु विभिन्न धर्ममा आवद्ध रहेको भन्दै उनीहरुको जनसंख्या धेरै रहेको भएपनि जनगणनामा जबरजस्ती हिन्दु धर्मावलम्वीहरुको संख्या बढाउने गरिएको बताउनुभयो । यस पटकको जनगणनामा आदिवासी जनजातिहरुले मान्ने धर्महरुको सम्बन्धमा यथार्थ रुपले गणना गरी सही तथ्यांक समेटिनुपर्ने उहाँले बताउनुभयो ।