
काठमाडौं, मंसिर १५ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई आग्रह गर्नु भएको छ ।
उहाँले बढ्दो आयातलाई निरुत्साहित गरी नेपालमा उत्पादनका लागि सरकारले सहजीकरण गर्ने बताउनु भयो । नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सभामा मन्त्री शर्माले विभिन्न देशबाट अवैध रुपमा आयात हुने मोबाइल फोन रोक्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस तत्काल लागु गरी अवैध आयात रोक्ने समेत बताउनु भएको छ ।
विभिन्न देशबाट २५ देखि ३० प्रतिशत मोबाइल फोन अबैध रुपमा आयात भइरहेकोले यसलाई व्यवस्थित गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई व्यस्थित र औपचारिक रुपमा अघि बढाउनका लागि मोबाइलको अबैध आयात रोक्नैपर्ने बताउनुभयो ।
यस्तै नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले मोबाइल फोन बिलासिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताउनुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले संस्थाको कानूनी अधिकारभित्र रहेर यही महिनाभित्र एमडिएमएस लागु गरी मोबाइल बजार व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनु भयो । व्यवसायी दीपक मल्होत्राले मोबाइल व्यवसायलाई व्यवस्थित गर्न एमडिएमएसे अनिवार्य सर्त भएको बताउनुभयो ।
कार्यक्रममा ससस्त्र प्रहरी सुरक्षा बलका डिआइजी सिपी गजुरेलले पनि सीमा क्षेत्रमा हुने अबेध निकासी पैठारीलाई रोक्न संगठन तयार रहेको बताउनु भयो । नेपालमा वार्षिक २४ अर्ब ९० करोड बरावरको कारोबार हुने तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्