
काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित निकालेको छ ।
बंगलादेशको ढाकामा शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । साविक विजेता समेत रहेको नेपालले माल्दिभ्समाथि २५–११, २५–९ र २५–५ सेटमा जित निकालेको हो ।
लगातार दुई खेलमा जित निकालेसँगै नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो ।
महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । अब नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै पुरुष टोलीले शुक्रबारै उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो ५ः४५ बजे सुरु हुनेछ । नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सेटमा पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्