१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


नारायणहिटी र बतास प्रकरण : रेस्टुरेन्ट ठेक्का सम्झौता मिलेमतोमा भएको छानबिन समितिको निष्कर्ष


286
Shares

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट सञ्चालनबारे अध्ययन गर्न गठित छानबिन समितिले ठेक्का सम्झौतामा मिलेमतो भएको निष्कर्ष निकालेको छ ।

सहसचिव होमप्रसाद लुइटेलको संयोजकत्वमा गठित छानबिन समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई २१ पेज लामो प्रतिवेदन बुझाउँदै सम्झौतामा मिलेमतो रहेको निष्कर्ष निकालेको हो ।

ठेक्का दिँदा बजार मूल्य भन्दा कम मूल्यमा दिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणगन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले रेष्टुरेन्ट सञ्चालनका लागि क्षेत्रफल र स्थानको सीमांकन नगरी बतास समूहलाई जग्गा ओगट्न दिएको समितिले जनाएको छ ।

नारायणहिटी दरबार संग्रहालय प्रवेश गर्ने दक्षिणपट्टिको प्रवेशद्वार नजिक समितिको स्वामित्वमा रहेको जग्गामा समितिसँग पूर्व स्वीकृति र समन्वय नगरी नयाँ संरचनाहरु निर्माण भइरहँदा विकास समितिका कार्यकारी निर्देशकबाट विकास समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र संबर्द्धनका लागि अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने जिम्मेवारी पूरा नगरेको देखिएको पनि समितिको निष्कर्ष छ ।

सम्झौताबाहेकको १४ रोपनी जग्गा बतास समूहले ओगटेर संरचना निर्माण गरेको पाइएको समितिले जनाएको छ । अनुमति पाएको भन्दा बढी क्षेत्रफलको जग्गामा स्वीकृति नलिइ नयाँ संरचनाहरु निर्माण गरेको देखिएकोले निर्माण कार्य तत्काल रोकी सम्बन्धित निकायबाट बी म्यानेजमेन्टलाई आवश्यक कारबाही गर्नुपर्ने पनि समितिले सुझाव दिएको छ ।